लन्डन।
विश्व पर्यटन उद्योगको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्लुटिएमत्ः) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलामा नेपालको पनि सहभागिता रहेको छ।
-1793806748.jpeg)
यस वर्ष ‘उत्थानशीलता, पुनरुत्थान र पुनराविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ मेला आयोजना भइरहेको छ। बदलिँदो विश्व परिवेश र चुनौतीबीच पर्यटन क्षेत्रलाई थप सुदृढ तथा दिगो बनाउने, यसको पुनरुत्थानलाई गति दिने र नवीन सोच, प्रविधि तथा सिर्जनशीलतामार्फत् विश्व पर्यटनको भविष्यलाई नयाँ दिशा प्रदान गर्ने अवधारणालाई यस नाराले समेटेको छ।

विश्व पर्यटनको ‘महाकुम्भ’का रूपमा परिचित यस मेलामा विश्वका विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल तथा आतिथ्य सेवा प्रदायक, अन्तर्राष्ट्रिय एयरलाइन्स, ट्राभल कम्पनी, टुर अपरेटर तथा पर्यटन प्रविधिसँग सम्बन्धित प्रतिष्ठित संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ।
यस वर्ष ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन् भने १८० भन्दा बढी देशबाट ४६ हजार ५०० भन्दा बढी पर्यटन विज्ञ, व्यवसायी तथा खरिदकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ।

मेलामा नेपाल
विश्व पर्यटन बजारमा नेपालको पहिचान र उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ ओटा नेपाली कम्पनीले मेलामा सहभागिता जनाएका छन्। नेपाली पर्यटन व्यवसायीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विविध पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने अवसरका रूपमा मेलालाई उपयोग गरिरहेका छन्।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले पनि मेलामा सक्रिय सहभागी छन्। उनको सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको पर्यटन प्रवद्र्धन, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारका विषयमा संवाद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रमुख आकर्षण
मेलाको पहिलो दिन सार्वजनिक गरिने विशेष विश्वव्यापी पर्यटन प्रतिवेदन यस वर्षको प्रमुख आकर्षणमध्ये एक हो। प्रतिवेदनले अन्तर्राष्ट्रिय पर्यटन बजारमा विकसित भइरहेका नयाँ प्रवृत्ति, पर्यटकहरूको बदलिँदो रुचि, यात्रा व्यवहार तथा भविष्यमा देखिन सक्ने व्यावसायिक सम्भावनाबारे विश्लेषण प्रस्तुत गर्नेछ।
मेलाको अर्को महत्वपूर्ण पक्ष विश्वका विभिन्न देशका पर्यटन मन्त्रीहरूको सहभागितामा आयोजना हुने मन्त्रीस्तरीय शिखर सम्मेलन हो। सम्मेलनमा विश्व पर्यटनको दिगो विकास, नीतिगत सहकार्य, जलवायु परिवर्तनको प्रभाव, पर्यटन क्षेत्रको उत्थानशीलता तथा समावेशी पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल हुनेछ।

विश्वभर अन्तर्राष्ट्रिय पर्यटक आगमन सन् २०२६ मा २ प्रतिशतले वृद्धि भई १ अर्ब ५७ करोड पुग्ने प्रक्षेपण गरिएको छ। लन्डनमा सार्वजनिक ग्लोबल ट्राभल रिपोर्ट २०२६ अनुसार, युरोपमा पर्यटक आगमन ५ प्रतिशतले बढ्ने अनुमान छ।

प्रतिवेदनअनुसार, विश्वव्यापी पर्यटन खर्च ९ प्रतिशतले वृद्धि भई ७.८ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। बढ्दो हवाई भाडा, महँगी र अन्तर्राष्ट्रिय द्वन्द्वका बाबजुद पर्यटनप्रतिको माग बलियो रहेको प्रतिवेदनले देखाएको छ।

डब्ल्युटिएम लन्डन विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा सेवा प्रदायकहरूबीच व्यावसायिक सम्बन्ध स्थापित गर्ने, नयाँ साझेदारी र व्यापारिक सम्झौता गर्ने तथा पर्यटन बजारका नवीनतम अवसर र चुनौतीबारे छलफल गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। यसले विश्व पर्यटन उद्योगको वर्तमान अवस्था, बदलिँदो बजार प्रवृत्ति र भविष्यका सम्भावनालाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्दै आएको छ।
यस वर्षको मेलाले विश्व पर्यटनको पुनरुत्थान, नवप्रवर्तन र दिगो विकासका लागि नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ। विशेषगरी नेपालका सन्दर्भमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली गन्तव्यहरूको पहिचान विस्तार, विदेशी पर्यटक आगमन वृद्धि, पर्यटन लगानी आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग व्यावसायिक साझेदारी विस्तार गर्न मेला अवसर बन्न सक्ने देखिन्छ।
-1793806940.jpeg)
-1793806962.jpeg)

-1793807020.jpeg)
-1793807072.jpeg)
