काठमाडौं । बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका विविध सम्भावना प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति सशक्त बनाएको छ ।
नोभेम्बर ३ देखि ५ सम्म लन्डनस्थित एक्सेल प्रदर्शनी केन्द्रमा आयोजित मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित ३२ वटा पर्यटनसम्बद्ध निजी कम्पनीले सहभागिता जनाएका थिए ।
यस व्यापार मेलामार्फत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, ट्राभल बायर, सञ्चारमाध्यमका प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालासँग व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन उत्पादन र सेवाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको हो ।
नेपालको सहभागिताले विशेषगरी सन् २०२७ मा मनाउन लागिएको ‘नेपाल वेलनेस पर्यटन वर्ष’ लाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने, योग, ध्यान, आध्यात्मिक पुनर्ताजगी तथा समग्र स्वास्थ्यसँग जोडिएका पर्यटन अनुभवको प्रवर्द्धन गर्ने र हिमाली साहसिक पर्यटनभन्दा बाहिरका विविध गन्तव्य तथा अनुभवलाई विश्वसामु प्रस्तुत गर्ने विषयलाई प्राथमिकता दिएको थियो ।
मेलामा नेपालले हिमाल आरोहण तथा पदयात्रासँगै उच्च हिमाली म्याराथन, माउन्टेन बाइकिङ, र्याफ्टिङ, वन्यजन्तु अवलोकन, सांस्कृतिक सम्पदा, सामुदायिक पर्यटन र आध्यात्मिक पर्यटनका सम्भावना प्रस्तुत गरेको थियो । प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र स्थानीय समुदायसँगको अन्तरक्रियालाई समेटेर नेपाललाई विविध अनुभव प्रदान गर्ने जिम्मेवार तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो ।

नेपालको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा अर्थ मन्त्रालयका सह–सचिव शंकरबहादुर केसी पनि सहभागी थिए । नेपाल पेभिलियनको उद्घाटन मन्त्री पौडेलले प्रतिनिधिसभा सदस्य मनीष झाको उपस्थितिमा गरेका थिए । डब्ल्यूटीएमको अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत, भारतीय राज्यसभाका सदस्य तथा प्रख्यात लेखक एवं समाजसेवी सुधा मूर्ति, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्ला बिन तौक अल मारी र श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा. रुवान रणतुङ्गासँग उच्चस्तरीय भेटवार्ता तथा अन्तरक्रिया गरेका थिए ।
भेटवार्तामा द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा लगानीका सम्भावना खोज्ने तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी पर्यटनमन्त्री पौडेलले डब्ल्यूटीएमसँगै विश्व पर्यटन तथा भ्रमण परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन निकाय (यूएन टुरिजम) को संयुक्त आयोजनामा सम्पन्न २०औँ मन्त्रीस्तरीय सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।

‘उत्थानशील र पुनरुत्थानमुखी भविष्यका लागि पर्यटन सुदृढीकरण’ विषयमा आयोजित सम्मेलनमा विश्वका पर्यटन नेतृत्वकर्ताहरूले पर्यटन क्षेत्रको उत्थानशीलता, दिगो लगानी र सरकार तथा निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाली गन्तव्यहरूमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।
उनले हालैको भोटेकोसीमा आएको आकस्मिक बाढीले मानवीय क्षति हुनुका साथै पर्यटन पूर्वाधार र सम्पत्तिमा पुर्याएको क्षतिको उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा निम्त्याइरहेको चुनौतीबारे चर्चा गरेका थिए । पर्यटन क्षेत्रलाई सम्भावित विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न स्थानीय समुदाय, सरकार र बलिया संस्थागत संरचनाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । दिगो तथा उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी नीति र संस्थागत सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिए ।
नेपालले मेलामा वन्यजन्तु संरक्षणमा हासिल गरेका उपलब्धिलाई पनि प्रमुखताका साथ प्रस्तुत गरेको थियो । स्थानीय समुदाय, संरक्षण साझेदार संस्था र राष्ट्रिय निकुञ्जबीचको सहकार्यबाट जैविक विविधता संरक्षणमा प्राप्त सफलता अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरिएको थियो ।

गैँडाको चोरीसिकार शून्यमा पुर्याउने अभियान र बाघको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धिलाई नेपालको संरक्षण प्रयासका सफल उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो। यसले वन्यजन्तु संरक्षणसँगै जिम्मेवार प्रकृति तथा वन्यजन्तु पर्यटनको प्रवर्द्धनमा नेपालले गरेको प्रतिबद्धता उजागर गरेको छ ।
वेलनेस पर्यटन र नेपाल वेलनेस पर्यटन वर्ष २०२७ को प्रवर्द्धन
नेपालले सन् २०२७ लाई ‘नेपाल वेलनेस पर्यटन वर्ष’का रूपमा प्रवर्द्धन गर्ने तयारीलाई पनि डब्ल्यूटीएमको महत्त्वपूर्ण एजेन्डा बनाएको थियो । नेपालको प्राचीन योग, ध्यान, आध्यात्मिक परम्परा, शान्त प्राकृतिक वातावरण र समृद्ध सांस्कृतिक सम्पदालाई समेटेर समग्र स्वास्थ्य तथा मानसिक र आध्यात्मिक पुनर्ताजगी खोज्ने पर्यटकका लागि नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो ।
लुम्बिनी, गौतम बुद्धको जन्मस्थल, काठमाडौं उपत्यकाका प्राचीन मन्दिर, स्मारक तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई वेलनेस पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने अवधारणा प्रस्तुत गरिएको थियो । यसबाट योग, ध्यान र आध्यात्मिक अनुभवसँगै सांस्कृतिक अन्वेषण तथा स्थानीय जीवनशैलीको अनुभव लिन चाहने पर्यटकलाई आकर्षित गर्ने नेपालको लक्ष्य रहेको छ ।
लन्डनमा ‘नेपाल इभिनिङ’मा ७० अन्तर्राष्ट्रिय पाहुनाको सहभागिता, मन्त्रीद्वारा नेपाल भ्रमणको आग्रह
डब्ल्यूटीएममा नेपालको सहभागिताको अर्को महत्त्वपूर्ण कार्यक्रम नोभेम्बर ४ मा लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न ‘नेपाल इभिनिङ’ थियो । कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले योग, ध्यान र आध्यात्मिक पर्यटनसहित वेलनेस पर्यटनमा नेपालको सम्भावनाबारे प्रकाश पार्दै अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनीष झाले नेपाली पर्यटन उद्यमीहरूलाई नेपालको वास्तविक अन्तर्राष्ट्रिय राजदूतका रूपमा चित्रण गर्दै नेपालको पर्यटन पुनरुत्थान र अन्तर्राष्ट्रिय छवि निर्माणमा उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध उल्लेख गर्दै पर्यटन सहकार्य र लगानी विस्तारका अवसरबारे चर्चा गरेका थिए । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले नेपालको विशिष्ट पर्यटन अनुभव, नयाँ सम्भावना र भावी प्रवर्द्धनात्मक कार्यक्रमबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी भिडियो प्रदर्शन, नेपाली मौलिक परिकारसहितको रात्रिभोज तथा विभिन्न पर्यटन उत्पादन र गन्तव्यसम्बन्धी प्रचार सामग्री वितरण गरिएको थियो । यसले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका सरोकारवालासँग सम्बन्ध विस्तार र नेपालको पर्यटन पहिचान प्रवर्द्धनमा सहयोग पुर्याएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तको नेतृत्वमा बोर्डका अधिकारीहरू सुशीला कुमारी बराल, सिर्जना नेपाली, सिद्धार्थ विश्वकर्मा र जयशक्ति सर्राफसहितको टोलीले मेलामा सहभागिता जनाएको थियो ।
नेपालको प्रतिनिधिमण्डलमा पदयात्रा तथा पर्वतारोहण कम्पनी, होटल तथा रिसोर्ट, ट्राभल एजेन्सी, टुर अपरेटर र हवाई सेवा प्रदायक गरी ३२ वटा निजी कम्पनी सहभागी थिए । यसले नेपालको पर्यटन क्षेत्रको सार्वजनिक–निजी साझेदारीलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।