काठमाडौं
सोलखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रमा पहिचान गरिएको नयाँ पदमार्ग ‘अपर मुन्दुम हुँगा भ्याली मेरा एभरेस्ट टे«ल’ शुभारम्भ गरिएको छ। पर्यटकीय बजारमा यो नयाँ पदमार्ग पदयात्रीलाई आकर्षक उपहार बन्ने विज्ञहरूले विश्वास व्यक्त गरेका छन्।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यमा प्रतिनिधि सभा सदस्यहरू रीना उप्रेती र गीता गुरुङ, कोशी प्रदेश सभा सदस्य बुद्धीकुमार राजभण्डारीका साथै महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ, उपाध्यक्ष विपना कुलुङसहितले पदमार्गको नक्सा, बुकलेट लगायत सार्बजनिक गरेसँगै पदमार्ग शुभारम्भ भएको घोषणा गरिएको हो।

कार्यक्रममा उनीहरूका साथै टानका अध्यक्ष सागर पाण्डे र पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा लगायतले यो पदमार्गको भविष्य उज्यालो रहेको टिप्पणी गरेका थिए।
हेर्नुहोस् भिडियो
‘पहाडी विकास तथा संरक्षण समूह नेपाल’ले वि.सं. २०६७ मा यो पदमार्ग पहिचान गरेको थियो। संस्थाका अध्यक्ष भलाकाजी कुलुङ भन्छन्, ‘सबैतिर होटल सुविधा नभएकाले यस पदमार्गमा क्याम्पिङ सुविधासहित मात्र पदयात्रा गर्नु पर्छ।’

महाकुलुङ गाउँपालिका–३ को छेस्कामसम्म सडक पुुगेको छ। त्यहाँसम्म होटल सुविधा छ। छेस्कामभन्दा माथि कुनै बस्ती छैन।
‘एकै पटक खोङ्मादिङमा पुुगेपछि बस्ती छ’, उनले भने, ‘त्यहाँ सामान्य टि हाउस सुविधा छ।’
छेस्कामबाट ४ दिन पदयात्रामा त्यहाँ पुगिन्छ।

‘यो पदमार्ग मेरा पिक, बरुन्चे हिमाल, चाम्लाङ हिमाल आरोहण गर्न छोटो र कम खर्चिलो रुट पनि हो’, अध्यक्ष कुलुङ भन्छन्, ‘लुक्लाबाट महालंगुर काटेर शेर्पिनी कोल, मकालु बेस क्याम्प वा आम्फूलाप्चा पदयात्रामा निस्केका पदयात्रीहरू भारी हिमपातका कारण अलपत्र पर्नुपथ्र्यो। त्यस्तो अबस्थामा अब उनीहरूले यसलाई वैकल्पिक पदमार्गका रुपमा समेत प्रयोग गर्न सक्छन्।’
हुँगा भ्यालीमा पर्ने महाकुलुङ गाउँपालिकाको बुुङ÷छेस्कामबाट पदयात्रा सुरु भएर मुद्धिखर्क, वेइखो, वातेल्मा हुँदै खोङ्मादिङ भ्याली पुग्छ। त्यहाँबाट सगरमाथा आधारशिविरतिर जान चाहनेहरू सेतीपोखरी, आम्फुुलाप्चा भन्ज्याङ हुँदै छुकुङ पुगेर उकालिन्छन्। उता नजानेहरू भने खोङ्मादिङबाट मेरा भन्ज्याङ, खारे, थाङनाक, कोठे, पाँचपोखरी, चोलेम हुँदै बुङ पुग्छन्।

यसरी पदयात्रा गर्न बुङबाट छुकुङ पुग्न १२ दिन लाग्छ। त्यहाँबाट तीन दिनमा सगरमाथा आधारशिविर पुग्न सकिन्छ। दोस्रो रुटमा पदयात्रा गर्न भने १२ दिन लाग्छ। यसैगरी मुन्दुम पदमार्ग कुलुपोङ्खोबाट पनि महाकुलुङ पुगेर पदयात्रा अघि बढाउन सकिन्छ।
कुलुङ समुुदायको संस्कृतिले भरिएको यो सांस्कृतिक पदमार्ग पनि हो। कुलुङहरूको पूजापाठमा समेत यो पदमार्गका ठाउँहरूलाई पुर्काने गरिन्छ किनकी यी ठाउँ पवित्र मानिन्छन्।

छोटो समयमा सजिलोसँग सगरमाथा देखिने, जातीय संस्कृतिको अध्ययन गर्न पाइने र जैविक विविधतामा रमाउन सकिने पदयात्रा रोमाञ्चक बन्छ। आन्तरिक पर्यटकका लागि समेत हुँगा पदमार्ग आकर्षक बन्ने देखिन्छ।
यस पदमार्गमा प्राकृतिक सौन्दर्यका साथै कुलुङ र शेर्पा समुदायको संस्कृति र जीवनशैलीको सुवास पाइन्छ। छाराखरदेखि उकालो लाग्दा हुर्हुरेबाट नुम्बुर, कोङ्दे, चोयुलगायत हिमालको दर्शन मिल्छ। त्यस्तै पदयात्रामा पहाडी भुगोल, वन, झरना, जडीबुटी, पाँचपोखरी आदिको अध्ययन गर्न पाइन्छ।

मकालु–बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ महाकुलुङ। पदयात्राको चौंथो दिन छाराखरबाट हुर्हुरे पुगेपछि निकुञ्ज क्षेत्र सुरु हुन्छ। मुद्धिखर्कसम्मै निकुञ्ज पर्छ।
तस्बिरहरू










