काठमाडौं ।
नेपाली कविताको श्रीवृध्दिमा समर्पित हुने उद्देश्यले गठित ‘काव्य कम्पनी’ नामक संस्थाले काभ्रेपलाञ्चोक जिल्लाको नाला क्षेत्रमा रहेको पिर्के ढुङ्गामा शनिबार कविता उत्सव मनाएको छ।
कविहरू प्रोल्लास सिन्धुलीय, रञ्जु दाहाल र विश्व सिग्देलको नेतृत्वमा स्थापित यस संस्थाले कविताको उत्थानमा फरक सोचका साथ काम गर्ने जनाएको छ।
नालामा आयोजित पहिलो कार्यक्रममा कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, नवराज उत्साहीले केही गजलका शेर, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशव ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’, शिव आर्यले ‘दोरदोर’, जुमन किरणले केही मुक्तक, प्रकाश दाहालले अभिनयसहित कविता, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ कविता सुनाएका थिए।

कुनै बन्द कोठा तथा सभा हलमा नभई प्रकृतिको सुन्दर काखमा गरिएको उक्त कार्यक्रमका लागि कविहरू शेराबाट करिब एक घण्टा ठाडो उकालो हिँडेका थिए। उनीहरूले पिर्के ढुङ्गामाथि बसेर कविता सुनाइरहँदा कहिले चर्को घाम लाग्ने, कहिले पानी दर्कने क्रम चलिरहेको थियो।
कार्यक्रमपछि पिर्केढुङ्गा तलको तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा प्रारम्भिक स्वरूप बनाइँदै गरेको ‘स्वयम्भू वेदान्त विद्यापिठ’ले सहभागीहरूलाई खाजा खुवाएर विदाइ गरेको थियो।
कविता सुन्ने–सुनाउनेभन्दा पनि ओझेलमा परेका कविहरूको खोजी आफ्नो संस्थाको मूल ध्येय रहेको कम्पनीका अगुवा सिग्देलले बताए।

शुक्रबार त्यहाँ पुगेका कविहरूले साँझ काव्यसन्ध्या गर्दै मध्यरात्रिमा ब्रह्मदेव पार्कसम्म निशाचर पदयात्रा समेत गरेका थिए।