पोखरा आफैंमा मनमोहक सहर । हिमाल, तालतलैया, गुफा, मन्दिर, गुम्बा र मनकारी मान्छेको सहर । त्यसैले बर्सेनी लाखौं पर्यटक पोखरामा घुम्छन् । पोखराबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण सर्किट, धौलागिरी बेसक्याम्प, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, मर्दि हिमाल, खुमैडाँडा आदिमा । पछिल्लो समयको एउटा चर्चित पदमार्ग हो, खुमैडाँडा (३,२४५ मिटर) ।
गुरुङ भाषाको शब्द ‘खुमै’को अर्थ हुन्छ, ‘आउनुहोस् ।’
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ र ३ मा पर्ने खुमैमा पुगेर तल हेर्दा बादलमाथि उभिएको आभास हुन्छ । यहाँबाट आँखै सामुन्ने माछापुच्छ्रे, मर्दि र अन्नपूर्ण हिमाल टलक्क टल्किन्छन् । साथै उत्तरमा धौलागिरीदेखि पूर्वतिरका धेरै हिमाल देखिन्छन् । त्यस्तै दक्षिणमा घाचोक, लाहाचोक, पोखरा उपत्यका, हेम्जा र सेती नदीले बनाएका बेसिनहरू स्पस्ट देखिन्छ ।
-1755460261.jpg)
सूर्योदय र सूर्यास्तका लागि पनि आकर्षक गन्तव्य हो, खुमैडाँडा । यहाँको शितल अनि शान्त वातावरणमा स्फूर्ति बढ्छ । त्यसैले आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ ८ ओटा होटल छन् । होटलका बेड र टेन्टमा एकै पटक करिब १ हजार जना बास बस्न सक्छन् । यहाँका होटलले दुई हजार रुपैयाँको प्याकेज बेच्छन् । यसमा बेड, ननभेज डिनर र ब्रेकफास्ट सुबिधा हुन्छ ।
-1755460258.jpg)
खुमैबाट २ घण्टा उकालो चढे कोर्चुङ (३,७०० मिटर) पुगिन्छ । कोर्चुङबाट झन् मनमोहक दृश्य देखिन्छ । यहाँ पनि ३ ओटा होटल छन् ।
पोखराको नजिकै रोमाञ्चक गन्तव्य भएकाले खुमैडाँडा दिनदिनै लोकप्रिय बन्दै गएको छ । यहाँको पर्यटन इतिहास केलाउने हो भने, करिब २० वर्ष पहिले ‘ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान) पोखराले ‘माछापुच्छ्रे मोडल टे«क’ ब्रान्डिङ गरेको थियो । यसका परिकल्पनाकार एवम् अभियन्ता बसन्त दवाडी हुन् । यही पदमार्गको एउटा आकर्षक हिलस्टेसन हो, खुमैडाँडा ।
-1755460261.jpg)
खुमैडाँडा दुईतिरबाट उकालिन सकिन्छ । एकातिरको अन्तिम गाउँ सरिपाखा हो भने अर्कोतिरको टुसे ।
खुमै डाँडाको रुटमा २६ वटा होटल छन् । त्यस्तै घाचोक, सरिपाखा वा टुसेमा दर्जनौ होमस्टे सञ्चालनमा छन् । पोखराबाट हतारिएर यात्रा गर्नेहरूले दुई दिनमा खुमै यात्रा पुरा गर्ने गर्छन् । खासमा तीन दिन छुट्टयाएमा धपेडी हुँदैन ।
तपाई पनि आउनुस् है खुमैडाँडा ?
-1755460258.jpg)
कसरी पुग्ने ?
पोखराबाट कार, बस वा मोटरबाइकमा हेम्जा, घाचोक हुँदै सरिपाखा, टुसे वा घामतारासम्म जान सकिन्छ । घामतारामा सशुल्क पार्किङ सुबिधा छ । घामताराबाट पदयात्रा सुरु हुन्छ । त्यहाँबाट हिलेखर्क, चिचिम्ले, देउराली, रेस्ट क्याम्प हुँदै खुमैडाँडा पुगिन्छ । पोखराबाट दुई घण्टा सवारी साधनमा सरीपाखामा पुगेर त्यहाँबाट ६ घण्टा पदयात्रा गरेर खुमैडाँडा पुग्न सकिन्छ । ठाउँठाउँमा होटल भएकाले पहिलो दिन तलै बास बसेर भोलिपल्ट बिहानै खुमै चढेमा सजिलो हुन्छ ।
शर्मिला गुरुङ
सञ्चालक, होटल फिस्टेल कटेज
खुमैडाँडा पर्यटन गन्तव्य बनेकामा हामी खुसी छौं । यहाँ एक रात बस्ने गरी पाहुना आउँछन् । विशेषतः बिदाका दिनमा आउँछन् । हाम्रा मुख्य पाहुना नेपाली नै हुन् । विदेशी भने कमै आउँछन् ।
बसञ्त दवाडी
अभियन्ता, माछापुच्छ्रे मोडल ट्रेक
हामीले सन् २००७ मा ‘माछापुच्छ्रे मोडल ट्रेक’ पहिचान गरेका थियौं । आफ्नै गाउँठाउँमा पर्यटनको फूल फूलाउन त्यतिबेला हामीले नयाँ पदमार्ग पहिचान गरेका हौं । खुमैडाँडा, कोर्चुङ लगायतमा पर्यटकीय चहलपहल बढ्दै जाँदा खुसी लागेको छ ।
थप तस्बिरहरु: -1755460255.jpg)
-1755460254.jpg)
-1755460252.jpg)
-1755460251.jpg)
-1755460245.jpg)
-1755460246.jpg)
-1755460248.jpg)
-1755460248.jpg)
-1755460242.jpg)
-1755460241.jpg)