ललितपुर। ललितपुरको हिल स्टेसन ‘दलचोकी’ (२,२०० मिटर) स्वास्थ्य पर्यटनधामका रुपमा चम्किँदै गएको छ। डाँडामा प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम निर्माण गरेसँगै दलचोकीले नयाँ चिनारी बनाएको हो।
इतिहासमा ‘न्याय नपाए गोरखा जानू’ भन्ने भनाई प्रचलित थियो। आज ‘निरोग आनन्दित रहने व्यबहारिक ज्ञान लिन दलचोकी जानू’ भन्न सकिन्छ। कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ मा अवस्थित दलचोकीमा उचित आहार, विहार र विचारको व्यबहारिक अभ्यास गर्न समूहले ‘निरोग आनन्दधाम’ बनाएको छ। यहाँ आवासिय रुपमा निरोगी र आनन्दित रहने ज्ञान बाँडिन्छ।
निरोगधामकै कारण दलचोकी चिनिएको छ’, गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिेरेले शनिबार समूहको २२ औं साधारण सभामा भने, ‘प्राकृतिक स्वास्थ्यका पक्षमा यसले गरेको काम प्रशंसनीय छ।’
समूहले सदस्यहरूको सहयोग जुटाएर निरोग आनन्दधाम निर्माण गरेको हो। शारीरिक र मानसिक समस्याबाट मुक्त भएर निरोग आनन्दित हुन निरोग आनन्दधाममा व्यवहारिक अभ्यास गराइने छ। यहाँ एकै पटक १२० जना बसेर जीवन जिउने साँचो कला सिक्न पाउँछन्। यो स्वाध्याय, स्वअभ्यास गर्ने थलो हो।
हाल विश्वमा देखिएका अधिकाँश स्वास्थ्य समस्या मानिसले गर्ने आहार, विहार र विचार नमिलेर आउँछ। यही तीन चिज मिलाएमा स्वास्थ्य समस्याबाट मुक्त हुन सकिन्छ। यसका लागि प्रकृतिमै रहेको सरल नियम ‘उचित आहार, विहार र विचार’ को अभ्यासले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिने व्यवहारिक ज्ञान आनन्दधाममा सिकाइन्छ।
त्यसो त दलचोकी डाँडा प्राकृतिक रुपमा निकै सुन्दर छ। यहाँबाट तलतल भुइँकुहिरोको तलाउ देखिन्छ भने परपर हिमालको लामो लर्कन। यहाँबाट मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पादेखि गौरीशंकर हिमालको लामो सृङ्खला देखिन्छ।
कुहिरोमा लुकामारी खेलिहन्छिन् दलचोकी। त्यो घुम्टो छिनमा उघ्रिन्छ, छिनमा बन्द हुन्छ अनि छिनमै फाटेर मुस्कुराउँछिन्।
प्राकृतिक सुन्दरतामात्र होइन, ऐतिहासिक र धार्मिक हिसाबले समेत महत्व बोकेको छ यसले। त्यहाँ अबस्थित दलचोकी माई र मनकामना माईका मन्दिर पवित्र तिर्थ हुन्।
प्रकृतिप्रेमी समूहले दलचोकीमा निरोग आनन्दधाम निर्माण गरेसँगै यहाँ जीवन जिउने साँचो कला सिकाउन थालिएको छ। त्यसैले शारिरीक र मानसिक तनावबाट मुक्त भएर बाँच्न चाहनेका लागि निरोग आनन्दधाम व्यबहारिक विश्वविद्यालय बनेको छ।
दलचोकी नामाकरणबारे रोचक किँवदन्ती छ। जस अनुसार राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गर्न चारैतिरका नाका प्रयोग गरे। उनले दक्षिणी नाका दलचोकीबाट काठमाडौं आक्रमण गरेका थिए। तिनताका दलचोकीमा जंगल थियो। जंगली जनाबरको डर हुन्थ्यो। जनाबर आक्रमणको डरले फौज तितरवितर थिए। त्यसैले यहाँ फौजलाई एकै ठाउँमा राखियो र भगवतीको पूजा गरी सैनिक चौकी स्थापना गरियो। तिनले देवीको पूजा गरेको ठाउँ भएकाले यसको नाउँ दलचौकी भनियो। समयक्रममा अपभ्रंस हुँदै दलचोकी भन्न थालियो।
दलचोकीलाई स्थानीयले इष्ट देवता मानेर पूज्छन्। हाल दलचोकी मन्दिर गोठ भञ्ज्याङ उच्च मावि परिसरमा सारिएको छ। पृथ्वीनारायणले स्थापना गरेको दलचोकीको मन्दिर तीनपाने भञ्ज्याङ माथि डाँडामा छ। दलचोकीबाट करिब ४ किमि टाढा करिब २३०० मिटर उचाईमा दक्षिणमा पर्छ। त्यहाँ भगवतीको मन्दिर छ।
शाहले स्थापना गरेको मनकामना मन्दिर पनि दलचोकीको मनकामना चौरमा छ। मन्दिरबाट करिब १५ मिनेट उकालो चढे पुगिन्छ दलचोकी भ्यु टावर (२,३००मिटर) जहाँबाट हिमालको लश्कर, उपत्यकाको दृष्य र दक्षिणमा महाभारत श्रृखलाका साथै तराईका फाँट समेत देखिन्छ।
खाना र बासका लागि दलचोकीमा होमस्टेको सुबिधा पनि छ । काठमाडौंबाट २१ किलोमिटर दुरीमा पदर्छ, दलचोकी। दलचोकीसम्मै पक्की सडक छ। हाइकिङ, बाइकिङ र साइक्लिङ सबैका लागि दलचोकी उपयुक्त छ।
प्रकृतिप्रेमी समूहको २२ औं साधारण सभा
प्राकृतिक स्वास्थ्यको पक्षमा पैरवी गर्दै आएको नेपालकै अग्रणी संस्था प्रकृतिप्रेमी समूहको २२ औं वार्षिक साधारण सभा मंसिर १ गते शनिबार दलचोकीस्थित निरोग आनन्दधाममा सम्पन्न भएको छ।
बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, भक्तपुरकी जिल्ला शिक्षा अधिकारी कमला ज्ञवाली, समूहका संस्थापक डा. उमेश श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।
समूहका पूर्व अध्यक्ष पुरेन्द्र विक्रम लाखेको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष यशोदा दाहालले गरेकी थिइन्। कार्यक्रममा सचिव महर्जन र कोषाध्यक्षले पेस गरेका प्रतिवेदन पारित भएको थियो। प्रस्तुत प्रतिवेदनमाथि सभाका सदस्यहरूले समूहगत छलफल गरेर सुझाब दिएका थिए। उनीहरूको जिज्ञासामा समूहका संस्थापक डा. श्रेष्ठले सम्बोधन गरेका थिए। कार्यक्रममा समूहका सदस्य शेरबहादुर महर्जनले स्वास्थ्यबद्र्धक गीत गाएका थिए।
थप तस्बिरहरु