भारतकाे उत्तराखण्डको रुद्रप्रयागमा रहेको केदारनाथ मन्दिरको ढोका २ मे (शुक्रबार) खोलिएको छ।
ढोका खोल्ने समारोहको क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि उपस्थित थिए। उनले यसलाई ‘राज्यको उत्सव’को रूपमा व्याख्या गर्दै राज्य सरकारले चारधाम यात्राको व्यवस्थित र सफल सञ्चालनका लागि सबै व्यवस्था मिलाएको बताए।
यसअघि ३० अप्रिलमा यमुनोत्री र गंगोत्री मन्दिरका ढोका खोलिएका थिए। बद्रीनाथ मन्दिरको ढोका ४ मे (आइतबार)मा खुल्नेछ।
यी मन्दिरका ढोका खुल्नासाथ चारधाम यात्रा औपचारिक रूपमा सुरु भएको छ।
आउनुहोस्, चारधाम यात्रासम्बन्धी मुख्य जानकारी हेरौं।
चारधाम यात्रा के हो?
भारतकाे उत्तराखण्ड आफ्ना प्राचीन मन्दिरहरूको लागि प्रसिद्ध छ। देशका विभिन्न भागबाट वर्षभर श्रद्धालु यहाँका मन्दिरहरू दर्शन गर्न आउने गर्छन्।
यीमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ चारधाम यात्रा, जसका लागि श्रद्धालुहरू लामो समयदेखि योजना बनाउँछन्।
यी सबै धामहरू उत्तराखण्डको गढवाल क्षेत्रका उच्च पहाडी स्थानहरूमा अवस्थित छन्।
उत्तराखण्ड पर्यटन वेबसाइटअनुसार, यी मन्दिरहरू हिउँद सुरु हुनासाथ (अक्टोबर/नोभेम्बर) बन्द हुन्छन् र करिब ६ महिनापछि गर्मी सुरु भएसँगै (अप्रिल/मे) पुनः खुल्छन्।
धार्मिक मान्यता अनुसार, चारधाम यात्रा घडीको सुइँको दिशा अनुसार गर्नुपर्छ। त्यसैले यात्रा यमुनोत्रीबाट सुरु हुन्छ, त्यसपछि गंगोत्री, त्यसपछि केदारनाथ र अन्तमा बद्रीनाथ पुगेर यात्रा समाप्त हुन्छ।
चारधामहरू ः
यमुनोत्री
अक्षय तृतीयाको दिन यमुनोत्री मन्दिरको ढोका खोलियो। तस्बिर: एएनआई
चारधाम यात्रा यमुनोत्रीबाट सुरु हुन्छ। यो यमुना नदीको उद्गमस्थल नजिक अवस्थित छ। यहाँसम्म पैदल, घोडा वा डोलीमार्फत पुग्न सकिन्छ।
यो मन्दिर समुद्री सतहबाट ३,२३३ मिटरको उचाइमा उत्तरकाशी जिल्लामा अवस्थित छ। ऋषिकेशबाट करिब २१० किलोमिटर टाढा पर्छ।
गंगोत्री
गंगोत्री धामको ढोका खोल्ने क्रममा मुख्यमन्त्री पुष्कर सिंह धामी उपस्थित थिए। तस्बिर: एएनआई
गंगोत्री चारधाम यात्राको दोस्रो गन्तव्य हो। यो पनि उत्तरकाशी जिल्लामै पर्छ र ऋषिकेशबाट करिब २५० किलोमिटर टाढा छ।
गंगोत्री समुद्री सतहबाट ३,४१५ मिटरको उचाइमा रहेको भारतका सबैभन्दा अग्ला धार्मिक स्थलहरूमध्ये एक हो।
गंगा नदीको उद्गम स्थललाई ‘गोमुख’ भनिन्छ, जुन गंगोत्री ग्लेसियरमा गंगोत्रीबाट करिब १९ किलोमिटर टाढा पर्छ।
गोमुखबाट बग्ने नदीलाई भागीरथी भनिन्छ र देवप्रयागमा अलकनन्दासँग मिसिएपछि गंगा नदी बन्छ।
केदारनाथ
जाडो याममा केदारनाथमा भारी हिमपात हुन्छ, त्यसैले यस समयमा मन्दिरका ढोकाहरू बन्द रहन्छन्। तस्बिर: आसिफ अली
केदारनाथ रुद्रप्रयाग जिल्लामा समुद्री सतहबाट ३,५८४ मिटर उचाइमा गढवाल हिमालय क्षेत्रमा पर्छ। ऋषिकेशबाट यसको दूरी करिब २२७ किलोमिटर छ।
मन्दिरसम्म पुग्न करिब १८ किलोमिटर हिँड्नुपर्छ। घोडा, डोली वा हेलिकप्टरबाट पनि जान सकिन्छ।
यो हिन्दू धर्मको प्रमुख चार धामहरूमध्ये एक हो र १२ वटा ज्योतिर्लिङ्गहरूमध्ये सबैभन्दा अग्लो उचाइमा रहेको शिवलिङ्ग यहीँ छ।
मन्दिर नजिकै मंदाकिनी नदी बग्छ।
यो मन्दिर करिब एक हजार वर्ष पुरानो मानिन्छ र ठूला ढुङ्गाका पट्टिहरूबाट बनाइएको छ।
मन्दिरको पछाडि केदारनाथ चोटी र अन्य हिमशृंखलाहरू छन्।
ढोका खुल्ने दिन ३०,१५४ भक्तजनले केदारनाथ दर्शन गरेका थिए।
बद्रीनाथ
बद्रीनाथ मन्दिरको ढोका मे ४ मा खुल्नेछ। तस्बिर: आसिफ अली
चारधाम यात्राको अन्तिम गन्तव्य हो बद्रीनाथ, जुन समुद्री सतहबाट ३,१०० मिटर उचाइमा अवस्थित छ।
यो अलकनन्दा नदीको किनारमा गढवाल हिमालय क्षेत्रमा पर्छ।
मानिन्छ कि आदि शंकराचार्यले आठौं शताब्दीमा यसको स्थापना गरेका थिए। यो मन्दिर भगवान विष्णुलाई समर्पित छ।
यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू
केदारनाथ धाम। तस्बिर: आसिफ अली
पहिलेबाट योजना बनाउनुहोस्: लाखौं श्रद्धालु यो यात्रा गर्छन्, त्यसैले होटल, गाडी, गाइड आदि पहिले नै बुक गर्नु उचित हुन्छ।
रजिस्ट्रेशन अनिवार्य छ: अनलाइन र अफलाइन दुवै माध्यमबाट गर्न सकिन्छ। हरिद्वार, ऋषिकेशलगायत स्थानहरूमा काउन्टरहरू छन्।
रजिस्ट्रेशन सर्टिफिकेट साथमा राख्नुहोस्
वैध परिचयपत्र आवश्यक छ
स्वास्थ्यसँग सम्बन्धित औषधिहरू लिएर जानुहोस्
न्यानाे कपडाहरू अनिवार्य छन्
अधिक जानकारीको लागि उत्तराखण्ड पर्यटनको वेबसाइट हेर्न सकिन्छ:
https://uttarakhandtourism.gov.in
हेलिकप्टर सेवा
केदारनाथ जान IRCTC को HeliYatra पोर्टलमार्फत बुकिङ गर्न सकिन्छ।
हेलिकप्टर टिकट बुकिङ ७ मेदेखि सुरु हुनेछ।
यात्रा क्रममा धेरै हिँड्नुपर्ने हुन सक्छ, त्यसैले शारीरिक तयारी गर्न आवश्यक छ। बिबिसी हिन्दीबाट