चितवन। चेपाङ समुदायले आज आफ्नो राष्ट्रिय तथा धार्मिक पर्व न्वांगी (छोनाम) मनाइरहेका छन्। यो पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा विविध सांस्कृतिक कार्यक्रमसहित मनाउने परम्परा रहिआएको छ।
यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङहरू भेला भई उत्सव मनाइँदैछ। नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो आयोजना गरिने यो पर्व राष्ट्रिय स्तरमै मनाउने गरिन्छ। सहभागी हुन नसक्नेहरूले भने आफ्नो घर र टोलमै न्वांगी मनाउँछन्।
चेपाङ जातिमा ६४ थर रहेका छन्। उनीहरूको परम्परा अनुसार भदौ महिनाभरि न्वांगी मनाइन्छ भने भदौ २२ गते विशेष रूपमा सामूहिक उत्सव गर्ने गरिन्छ। पितृलाई अर्पण नगरी नयाँ फलफूल वा अन्न नखाने धार्मिक मान्यता यस समुदायमा रहेको छ। न्वांगीको दिन घैया धान, काउनो, पिँडालु लगायतका अन्नपात र फलफूल भूमि तथा पितृलाई चढाइन्छ। यस दिनलाई नयाँ अन्न खाने पर्वका रूपमा पनि लिइन्छ।
न्वांगीमा झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि दिने चलन छ। सामूहिक भोज, नाचगान, रमाइलो गर्दै नाता–कुटुम्बबीच सुखदुःख साटासाट गर्ने प्रथा यस पर्वको विशेषता हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्। तीमध्ये चितवनमा मात्रै ३५ हजार ६३७, मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजार २६८ जना बसोबास गर्छन्।
यस पर्वको महत्वलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ। गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउने चलन संस्थागत रूपमा सुरु गरिएको हो।