काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाईएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठ गर्ने परम्परा छ ।
धार्मिक विश्वास अनुसार देवीको आराधना गरी पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहेको छ । त्यसैले वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्दछन् ।
नवरात्रमा गरिएको पूजा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । यसरी करिब १५ दिनसम्म नेपालीहरूले बडादशैं पर्व उल्लासपूर्वक मनाउँछन् ।
दशैंका नौ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । यी नौ रूपलाई संयुक्त रूपमा नवदुर्गा भनिन्छ ।
नवरात्रको अवसरमा देशभरका शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्छ । यस वर्ष काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ विशेष सजावटसहित झिलिमिली बनेका छन् ।