पोखरा
प्रणय दिवसका अबसरमा पोखरामा एउटा मिठो साहित्यिक कार्यक्रम गरियो। स्रष्टाहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवनसागर भण्डारीको संयुक्त मुक्तकसङ्ग्रह ‘दामली अक्षर’ जीवनसाथीकै हातबाट लोकापर्ण गराएर मिठो सन्देश दिइयो।
शब्दालय प्रकाशन पोखराको शुभारम्भका अबसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा मैंया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्।
मुक्तककार एवम् शब्दालयका नायकहरु दीपक समीप, डा. ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी र लक्ष्मण थापा
चारै जना स्रष्टा पोखराका स्थापित कवि हुन्। स्रष्टा भण्डारीका अनुसार यसमा १२० मुक्तक सङ्ग्रहित छन्। शब्दालयको पहिलो प्रकाशनका रुपमा आएको यसको मूल्य ३३३ रुपैयाँ राखिएको छ।
लोकार्पण कार्यक्रममा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना प्रदान गरेका थिए। पोखराका प्रभावशाली कविहरूको सहकार्यले नेपाली मुक्तक र समग्र साहित्यिक फाँट सिञ्चित हुनेमा उनीहरूको विश्वास व्यक्त गरे।

कार्यक्रममा केही मुक्तक वाचनसहित डा. अधिकारीले दामली अक्षर मानवीय संवेदनाहरूको समष्टिगत स्वरुप रहेको बताए। त्यसैगरि स्रष्टा थापाले संसारका आम मान्छेहरूजस्तै आफू पनि अपूर्ण रहेको र अक्षरहरूको आराधना मार्फत मोक्ष प्राप्तिको बाटोमा हिँडेको बताए।
स्रष्टा भण्डारीका अनुसार यसमा १२० मुक्तक सङ्ग्रहित छन्। शब्दालयको पहिलो प्रकाशनका रुपमा आएको यसको मूल्य ३३३ रुपैयाँ राखिएको छ।
अर्का दामली समीपले स्पष्टता, सघनता, सूक्ष्मता, भावको तीक्ष्णता, अनूभूतिको तीव्रता र आफैँमा सम्पूर्णता मुक्तकका केही सौन्दर्यहरू भएको र दामली अक्षरमा त्यसतर्फ सतर्कता र सजगता अपनाइएको जानकारी गराए।
त्यस्तै स्रष्टा भण्डारीले पनि लेखन तथा प्रकाशनका अनुभव सुनाउँदै अब शब्दालय सबै अक्षरजीवीहरूको साझा घर भएको घोषणा गरे।
लोकापर्ण गरेकी डा.अधिकारीकी जीवनसाथी एवम् कवि रीता अधिकारी ऋतुुले दामलीका दामलीहरूकै तर्फबाट कृति विमोचन गराएर नारी शक्तिलाई सिर्जना, सृष्टि र संवेदनाको रचनात्मक निरन्तरताका रुपमा सङ्केत गरेकामा खुसी प्रकट गरिन्।
‘शब्दालय’ काव्यिक बहस र चिन्तनको केन्द्र बन्ने विश्वासका साथ कार्यक्रमको बिट मारेका थिए।
