पोखरा। पोखरा नजिकैको पर्यटकीय गाउँ ताङतिङको पर्यटन कर्ममा समर्पित गाउँलेको ऊर्जा बढाउन तालिम दिइएको छ। ग्रामीण जनताका लागि उज्यालो बहुउद्धेश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा उनीहरूलाई पर्यटक गाइड, होमस्टे तथा होटल व्यवस्थापन र हाउस किपिङ सम्बन्धी तालिम दिइएको हो।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता प्रकाश गुरुङ।
केन्द्रका अध्यक्ष प्रकाश गुरुङकाअनुसार तालिम फलदायी बन्यो। यहि असार ३० र ३१ गते दुई दिन विज्ञहरू शेषकान्त शर्मा, उदय सुवेदी र सुनिलकुमार ढकालले तालिम दिएका हुन्।
मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङको प्रमुख आतिथ्यतामा तालिम शुभारम्भ गरिएको थियो। उक्त अबसरमा मादी गाउँपालिका–२ का वडाध्यक्ष भोजबहादुर गुरुङ र कार्यपालिका सदस्य पूर्णशोभा गुरुङले पनि ताङतिङको भबिश्य उज्यालो भएको टिप्पणी गरेका थिए। ।

ताङतिङबाट देखिएका हिमालहरू।
गुरुङ बाहुल्य ताङतिङ ग्रामीण पर्यटनको नमुना गन्तव्य बनेको छ। गाउँका १५ घरमा सामुदायिक होमस्टे सुविधा छ। त्यसैगरी ताङतिङ, नौचुडाँडा र क्रपुडाँडामा गरी १३ ओटा होटल सञ्चालनमा छन्।

गाउँका अगुवाको साथमा पर्यटनविज्ञहरू।
कम्तिमा एक रात ताङतिङ र एक रात क्रपुडाँडामा बसेर घुमफिर गर्नु बेस हुन्छ। पोखराबाट २१ किलोमिटर दूरीमा पर्दछ ताङतिङ। गाउँसम्मै जिप, बस र मोटरबाइकमा जान सकिन्छ।

ताङतिङका बालबालिका।
पाहुनालाई ताङतिङमा स्वागत गर्दै स्थानीयहरु।
