काठमाडौँ। ‘नेपालको स्विजरल्याण्ड’ भनेर चिनिने दोलखाको जिरी उपत्यकाका आदिवासी हुन्, जिरेल। एकताका जिरी ‘सगरमाथाको प्रवेशद्वार’ मानिन्थ्यो।
पहिलोपटक सगरमाथा आरोहण गर्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीबाटै हिँडेर ओहोरदोहोर गरेका थिए। त्यसयता हजारौंले जिरी भएर पदयात्रा गरे। यसरी सगरमाथाको फेदीसम्म पदयात्रा गर्न धेरैले जिरीका आदिवासी युवालाई सहयोगीका रुपमा लैजान्थे।
जिरेल समुदायको पहिलो सगरमाथा आरोही लालबहादुर जिरेलको दोस्रो घर हिमाल हो। उनको जीवनकथा प्रेरणादायी छ।
भारी बोक्ने सहयोगीका रुपमा लालबहादुर जिरेल पनि धेरैपटक सगरमाथा आधारशिविरसम्म पुगेका थिए। कक्षा ८ मा पढ्दै हो वि.सं. २०४४ सालमा उनी भरिया बनेर पहिलोपटक सोलुखुम्बुको जुनबेसीसम्म पुगेका। जिरीबाट जुनबेसी पुग्न चार दिन लाग्यो। त्योबेला दिनको ज्याला ४५ रुपैयाँ पाइन्थ्यो।
त्यसको दुई वर्षपछि ठेक्कामा भारी बोकेर जिरीबाट नाम्चेसम्म पुग्दा उनले १४ सय रुपैयाँ कमाए। ‘अहो, मैले जिन्दगीमा चौध सय रुपैयाँ कमाएँ भन्ने लागेको थियो’, उनी सुनाउँछन्, ‘त्यतिखेर त्यो ठुलै पैसा थियो।’
उनी स्कुलको फिस तिर्न र कापिकलम किन्न भनेर कमाउन गएका थिए। भन्छन्, ‘जब म सन् २०१० मा पहिलोपटक सगरमाथा चढें, त्यो बेलादेखि भने पूर्णरुपमा पर्यटनमा लागें।’ हिमाल चढ्नु चानचुने काम होइन। दृढ इच्छाशक्ति, स्वस्थ शरीर, आत्मबल र पैसा पनि चाहिन्छ।
सगरमाथा चढ्दा कस्तो अनुभव भयो त ?
‘पहिला आमालाई सम्झिएँ’, उनले भने, ‘आमाले मलाई नजन्माएको भए म आज यहाँ आइपुग्ने थिइनँ भनेर आमाको सुस्वास्थ्यको कामना गरें।’ उनकी आमा चन्द्रमायाको तीन वर्ष अघि निधन भैसक्यो।
एउटा चिया गफको प्रभावबाट उनको आरोहण यात्रा तय भएको थियो। एक दिउँसो ठमेलको एउटा क्याफेमा बाहुन समुदायका पहिलो आरोही अनिल भट्टराई, राई समुदायको पहिलो आरोही इन्द्र राई, नेवार समुदायको पहिलो आरोही रामकृष्ण श्रेष्ठ र मगर समुदायको पहिलो आरोही कुलबहादुर मगरको जमघट थियो। त्यहाँ लालबहादुर र दोर्जे खत्री पनि थिए।
‘दोर्जे खत्रीले मलाई भन्नु भयो कि विभिन्न समुदायबाट पहिलोपटक सगरमाथा चढ्नेहरू छन्। लालबहादुर ! अब तिमीले पनि पनि जिरेल समुदायको पहिलो आरोही बन्नुपर्छ’, लालबहादुरले भने, ‘उहाँहरूले नै चन्दा उठाएर जानु पर्छ भनेर सुझाउनु भएको हो।’
उनलाई पहिलोपटक सगरमाथा चढ्न हौस्याउने खत्री आज यस संसारमा छैनन्। सन् २०१४ मा सगरमाथा आइसफलमा गएको हिउँ पहिरोमा परेर उनी सधैंका लागि अस्ताए।
जिरेलले हिमाल आरोहण सम्बन्धी कुनै तालिम लिएका थिएनन्। न कुनै अग्ला हिमाल नै चढेका। पिसाङ पिक, चुलोफारइष्ट, मेरा पिक र थोराङ पिक भने चढेका थिए। यसबाट हिमालका बारेमा सामान्य ज्ञान बटुलेका थिए।
उनले हिम्मत गरे। जिरेल समुदायको पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाउन उनलाई समुदायले चन्दा उठाएर ठुलो सहयोग पनि गर्यो।
अन्ततः सन् २०१० मे २३ को बिहान ३ः३५ बजे सगरमाथा चुलीमा पुगेर उनले जिरेल संघ नेपाल, नेपालको राष्ट्रिय झन्डा र सूर्यअंकित एमालेको झन्डा फर्फराए। यसरी उनी जिरेल समुदायबाट सगरमाथा चढ्ने पहिलो आरोही बन्न पुगे।
पहिलोपटक उत्तरी मोहडाबाट सगरमाथा चढेका उनी दोस्रो पटक चाहिँ सन् २०१९ मे २३ मा बिहान साँढे १० बजे दक्षिणी मोहडाबाट चढे।
हिमाल त चढेर आए तर, त्यसका बारेमा सैद्धान्तिक ज्ञान, प्राविधिक ज्ञानबारे बुझ्न, आरोहीहरुलाई हिमाल चढाउने कला र स्वास्थ्य ज्ञानबारे उनलाई कम जानकारी थियो। यसबारे राम्रोसँग बुझ्न सगरमाथा चढेपछि मात्र उनले हिमाल आरोहण सम्बन्धी तालिम लिए।
सगरमाथा आरोहण उनको जीवनको टर्निङ पोइन्ट बन्यो। पहिलापहिला प्रायः विदेशीलाई लिएर उनी पदयात्रामा जान्थे। पथप्रदर्शक बनेर। सगरमाथा चढेपछि भने पर्वतारोहण गाइड बने। उनको कम्पनीले उनलाई हिमाल आरोहणमै पठाउँछ।
उनी काठमाडौंको ‘हिमालयन एक्टासी नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रा.लि.’मा आबद्ध छन्। सिजनमा उनी पर्यटकलाई हिमाल चढाउँछन्। नेपालमा ८ हजार मिटरभन्दा अग्ला हिमाल बसञ्त ऋतुमा आरोहण गरिन्छ भने ससाना चुलीहरू चाहिँ हिउँदमा।
कमाई कति हुन्छ त ?
‘जीवन धानिरहेकै छु। कमाई ठिकठिकै छ’, उनी भन्छन्, ‘आत्मसंतुष्टि पाएको छु।’
जोखिम छ भनेर हात झिक्न मिलेन। वास्तवमा जति बढी जोखिम, उति बढी रोमाञ्चक अनुभूति हुन्छ। ‘हिमाल चढ्दा कहिलेकाहिँ लाशमाथि टेकेर हिँड्नु पर्छ। अन्यत्र कतै टेक्ने ठाउँ नै हुँदैन’, उनले भने, ‘आफूले जानेको काम यही नै हो।’
हिमाल उनको दोस्रो घर हो। उनले सन् २०१८ मा मनास्लु हिमाल पनि चढे। सानाठुला गरी नेपालका २९ ओटाभन्दा बढी हिमाल चढिसके। यति मात्र होइन, किर्गिस्तानको ‘लेनिन पिक’सम्म पुगेर विदेसीलाई चढाए। आफू पनि चढे।
उनी जिरी नगरपालिका वडा नं ४, रातमाटे, दोलखाका स्थायी बासिन्दा। जब एसएलसी परीक्षामा उर्तिण भएका थिए तब क्याम्पस पढ्न भनेर वि.सं. २०४९ मा काठमाडौं आए। अनि पाटन संयुक्त क्याम्पसमा भर्ना भए।
उनी नियमित कलेज जान भ्याउँदैनथे। सिजनमा गाउँका कुक दाई मकलबहादुर जिरेलसँग पदयात्रामा जान्थे। यसरी सहयोगीका रुपमा सगरमाथा, अन्नपूर्ण सर्किट, दुधकुण्ड, लाङटाङ धेरैतिर पुगे। त्यो समय क्याम्पिङ टे«क चल्थ्यो। उनी भारी बोकेर विदेसीभन्दा अघिअघि लाग्थे। खलखल्ती पसिना चुहाउँदै उकालो चढ्थे।
कामको चापले गर्दा उनको पढाइमा प्रगती भएन। आइ.ए. पास गर्न सकेनन्। पर्यटनमा भने बिस्तारै प्रगती हुँदै गयो। भरिया हुँदाहुँदै उनले पथप्रदर्शक तालिम लिए। र, सन् २००१ देखि पथप्रदर्शकमा बढुवा भए। त्यसपछि भने जीवन अलिकति सहज भयो।
समयक्रममा उनले प्याराग्लाइडिङ, स्की, आइस क्लाइम्बिङ, हिमाली उच्च सुरक्षा तालिमहरू लिए। उनी बेलाबेलामा बंगलादेश जान्छन्, त्यहाँ हिमाल आरोहण सम्बन्धी पूर्व तयारी तालिम दिन्छन्। बंगलादेसी साथी मुसा इब्राहिमले खोलेको ‘एभरेष्ट एकेडेमी’ इन्स्ट्च्यिुटका प्रशिक्षक हुन् जिरेल। इब्राहिम बंगलादेशबाट सगरमाथा चढ्ने पहिलो आरोही पनि हुन्।
जिरेल सामाजिक काममा पनि क्रियाशील छन्। आफ्नै गाउँठाउँमा आपत्विपत् पर्दा, कोही बिरामी हुँदा सहयोग गर्छन्। ‘हाम्रो जिरी इमरजेन्सी रिलिफ पाउन्डेसन नामक संस्था छ। जिरीका कोही बिरामी पर्दा यस संस्थाबाट सहयोग गर्छौं’, उनले भने।
एउटा कुुरा, आजसम्म नेपालको पर्वतीय पर्यटन जुन रुपमा अघि बढेको छ, त्यसमा निजि कम्पनी र व्यक्तिको योगदान ठुलो छ। पर्वतारोहणलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारले खासै प्रयास नगरेको उनलाई लाग्छ। पर्वतीय पर्यटनलाई अझै सुरक्षित र व्यवस्थित बनाउन सरकारले निजि कम्पनीसँग हातेमालो गरेर अघि बढ्नु पर्ने उनको सुझाब छ।
जिरीका यी साहसिक हिरोको शंखमुल (ललितपुर)मा डेरा छ। काठमाडौंमा उनी सितिमिति गाडी चढ्दैनन्। हिँडेरै ओहोरदोहोर गर्छन्। शंखमुलबाट उनी मनिङवाक गर्दै कहिले बौद्ध, कहिले पशुपतिनाथ, कहिले स्वयंभुनाथ त कहिले टिकाथली, त कहिले चोभारडाँडासम्म पुग्छन्।
उनको गाउँ जिरीमा माइलो भाइको परिवार र बुबा बस्छन्। कान्छो भाइबुहारी विदेसमा छन्। दिदीबहिनी बिहेपछि आआफ्नो घरमा छन्। उनले चाहिँ बिहे गरेका छैनन्। ‘आफ्नो काममा इमान्दारीपूर्वक लाग्दा बिहे गर्ने फुर्सद पाइएन’, ५४ वर्षे लालबहादुरले भने, ‘बिहे गर्ने सोचाई छैन।’
उनका बाजेले विदेसी हिँडेको मात्र देखे। बुबा लिलेमान भने विदेसीका भारी बोकेर सगरमाथाको आधारशिविरसम्म पुगे। यसरी बाजेले विदेसी देखे मात्र, बुबाले विदेसीसँग सँगत गर्न भ्याए भने लालबहादुर चाहिँ विदेशीको प्रशिक्षक बन्न पुगे। यो ठुलै उपलब्धी हो।
अन्त्यमा, आत्मविश्वासका पाइला चाल्दै जीवनका उकाली चढ्दै गरेका लालबहादुर जिरेलले धेरै कुरा सिकिसके। आफूले सँगालेका सिपहरू अरुलाई बाँड्ने उनको चाहना छ। उनको सपना पुरो होस्।
जिरीका यी साहसिक हिरोलाई धेरैधेरै शुभकामना !