पेसा नै पर्यटक डुलाउने भएपछि सिजनमा म विदेशीलाई लिएर हिमालतिर गइराख्छु। कहिले सगरमाथा त कहिले लाङटाङतिर, कहिले अन्नपूर्ण त कहिले खोप्रातिर। फरकफरक पदयात्रीसँग यात्रामा निस्कँदा सधैं नौलो अनुभूति सँगाल्न पाइन्छ।
अहो, लाङटाङमा कति धेरै नेपाली पदयात्री ! अचानक हिउँ पर्दा उनीहरू दंग परे।
हाम्रो हिमाली भेक र मध्यपहाडी भेकमा यात्रा गर्दा प्रकृति, संस्कृति र इतिहासका छटाहरूमा रमाउन पाउँदा गौरवबोध हुन्छ। हिमालमा मन रमाउँछ। सायद तन पनि रमाउँछ, त्यसैले उकालो चढ्दा थकाई भन्दा रोमाञ्चक अनुभूति हुन्छ।
-1762092328.jpg)
म रसुवाको कालिका गाउँपालिका वडा नं. ५ ज्याङलाङ गाउँमा जन्मेहुुर्केको मान्छे। एसएलसी दिएपछि पर्यटनमा लागेको, १७ वर्ष भइसक्यो। त्यसैले मेरो सपना र जपना सबै पर्यटन नै हो।
जेनजी आन्दोलनका कारण हाम्रा पदयात्राका केही समूह रद्ध भए। त्यसैले लगभग फुर्सदिलो बनेको थिएँ। तर, यही बेला दुईजना स्वीस मित्रले लाङटाङ जान प्रस्ताव गरे। खासमा तीमध्ये एक जना सन् २०१७ मा तीन महिना मसँगै नेपाल बसेकी थिइन्। त्यतिबेला हामीले खोप्रा र रसुवा यात्रा पनि गरेका थियौं। त्यसैले यसपालि उनीहरूसँगै फेरि लाङ्टाङ यात्रामा निस्किएँ।
आफ्नै जिल्लामा पर्ने लाङटाङ राष्ट्रिय निकुुञ्जको क्याङ्जिन भ्याली हाम्रो गन्तव्य थियो। त्यसैले असोज २७ गते बिहान हामी काठमाडौंबाट आफ्नै घर ‘जिबजिबे फार्म हाउस’ प्रस्थान गर्यौं। त्यहाँ एक रात बितायौं। भोलिपल्ट धुन्चेमा लन्च खाएर स्याफ्रु हुँदै खाम्जिङसम्म गाडीमा गयौं। र, पहिलो दिन एक घण्टा हिँडेर शेर्पा गाउँमा पुग्यौं।
-1762092328.jpg)
हाम्रो समूहमा पाँच जना थियौं। अर्को दिन हामी शेर्पा गाउँबाट रिम्चे, लामा होटल, घोडा तबेला हुुँदै थाङ्स्याप पुुग्यौं। पदयात्रामा हामीले धेरै झरनाहरू अवलोकन गर्न पायौं। खोलाको आवाज सुन्यौं। गाउँले जीवनशैली बुझ्यौं। त्यो दिनको बास थाङ्स्यापमै।
चौंथो दिन हामी गुम्बाडाँडा हुँदै लाङटाङमा पुग्यौं। लाङटाङको पुरानो गाउँ वि.सं. २०७२ वैशाख १२ को भुकम्पले बगाएको थियो। ठुलो धनजनको क्षति पुगेको थियो। अलिकपर नयाँ बस्ती बसिसकेको छ। जनजीवन पुरानै लयमा फर्किसक्यो।
गाउँमा नयाँ गुम्बा पनि बनाइएको छ। हामीले गुम्बा अवलोकन गर्यौं। अर्को कुरा, यहाँ भुकम्पमा बचेको एउटा घर मात्र छ। ओडारमुनिको घरलाई सङ्ग्रहालय बनाउन सके राम्रो हुन्छ। यसमा स्थानीय सरकार र गाउँलेले हातेमालो गर्नैपर्छ।
लाङटाङमै डोरीको सहायतामा रक क्लाइम्बिङ गर्ने सुबिधा पनि छ। यहाँबाट डोरीको सहायतामा लाङटाङ रिको कोरियन बेस क्याम्प पुग्न सकिन्छ। डोरी टाँगिएको डाँडाबाट पुरै लाङटाङ गाउँको भ्यु देखिन्छ।
साँझ हामी लाङटाङमै बस्यौं।
-1762092325.jpg)
यात्राको पाँचौं दिन, क्याङ्जिन भ्याली पुग्ने दिन। हामी सबै उत्साहित थियौं। बिहानै हिउँले ढकमक्क चेरकुरी देख्दा आँखा चिम्लिनै मन लागेन। हाम्रो गन्तव्य त्यहीँसम्म थियो। हामीले धित नमरुञ्जेल हेर्यौं, आँखा र क्यामेराले खिच्यौं।
हामी चेरकुरी चढ्ने योजनामा थियौं। त्यसैले हिउँमा हिँड्न सजिलो हुने क्र्याम्पन, गेटर्स र आइस एक्स पनि बोकेकै थियौं।
हामी मुन्डुम, सिन्डुम हुँदै लन्च टाइममा क्याङ्जिन भ्याली (३,८७० मिटर)मा पुग्यौं। लाङटाङदेखि क्याङ्जिनसम्मको यात्रा अति लोभलाग्दो छ। वरिपरि हिमालको बिचमा हिँड्न पाइन्छ।
हामीले क्याङ्जिनमा पासाङ दम्पत्तिले चलाएको ‘बुद्ध इन’ होटल बुक गरेका थियौं। त्यहाँ खाना खाएपछि लाक्पा दाइको दोर्जे बेकरीतिर लाग्यौं।
मौसम सफा थियो। वरपरका गन्छेम्पो, नयाँखाङ, बाडेन पावल पिक, लाङटाङ रि, चेरकोरीमा बादलको लुकामारी चलिरहेको दृश्य रमाइलो थियो।
हामीले बेकरीमा कफी र बेकरी खायौ। त्यसपछि क्याङ्जिन रिको उकालो चढ्यौं। करिब एक घण्टा उकालो चढेपछि शिखर (४,३८० मिटर)मै पुग्यौं। डाँडामा पुग्दा मिठो अनुभव सँगाल्यौं।
-1762092325.jpg)
हामीले बेकरीबाट फर्कंदा चिज कारखानामा चिज किनेका थियौं। डाँडामा बसेर त्यो चिज खायौं। खुबै स्वादिलो !
त्यहाँबाट वरपर नियाल्यौं। त्यहीबेला हिमपहिरो झरिरहेको दृश्य पनि देखियो। एक घण्टा त्यहाँ बसेर हामी ओरालो झर्यौं। बेलुका दालभात खायौं। र, बेलैमा बेडमा घुस्रियौं।
बिहान चेरकोरी (४,९८५ मिटर) पुग्ने हाम्रो योजना। त्यसैले बिहान ४ बजे नै हामी तयारीका साथ उकालियौं। आकाशमा तारा अस्ताएकै थिएनन्। घाम झुल्कने सुरसारै थिएन। हामी हेडलाइट बालेर उकालो चढिरह्यौं। चढिरह्यौं।
करिब साँढे ७ बजे हामीले चिया र ओरियो बिस्कुट खायौं। थर्मसमै बोकेका थियौं चिया।

हामीले उकालोबाटै सूर्योदय हेर्यौं। सूर्यका किरण हिमालमा पर्दा ती सुनौला देखिए। डाँडाको चुुलीमा पुुग्दा भने ८ बजिसकेको थियो। त्यस बिहान त्यहाँ पुग्ने पहिलो समूह बन्यौं हामी।
विदेशी साथीहरू खुसीले गद्गद् भए। उनीहरूका आँखा टिलपिलाए। उनीहरूले परिवारसँग भिडियो कल पनि गरे। हाम्रा सहयोगीहरू पनि के कम, उनीहरूले पनि टिकटक बनाए।
आखिर यात्रा जति नै कठिन भए पनि डाँडामा पुग्दा आनन्द महशुस भयो। सबै थकान मेटियो। त्यहाँ एक घण्टा विताएपछि ओरालो झर्यौं। यसरी हाम्रो यात्रा अविस्मरणीय बन्यो। पहिला हामी सँगै डुुलेको खोप्रा जस्तै यो यात्रा पनि सार्थक बन्यो।
हामी ओर्लिंदा धेरै पर्यटक उकालिँदै थिए। क्याङ्जिनमा पासाङ दम्पत्तिको मायालु बिदाइपछि हामी उही बाटो तल झर्यौं। लाङटाङमा पुुग्दा सनराइज होटलमा त्यहीँ उत्पादित गाजर खाने मौका पायौं। होटल सञ्चालक भाउजू ज्याङ्जु लामाको कति मिठो आत्मीयता !

हामी पदयात्राबाट फर्केर नुवाकोट दरबार क्षेत्रमा पुग्यौं। त्यहाँ दुुई रात वितायौं। तिहारले छपक्कै छोपेको थियो। त्यहाँ स्थानीय महिला समूूहले देउसीभैलो खेलिरहेका थिए। हामी पनि त्यहाँ सामेल भयौं। नाचगान गर्यौं। देउसीभैलोमा रम्न पाउँदा हाम्रा पाहुना औधी रमाए।
रमाइलो कुुरा, हामीले पदमार्गमा विदेशीभन्दा नेपाली पदयात्री बढी भेट्यौं। दसैं–तिहारका बेला यसरी नै धेरै नेपाली पदयात्रामा निस्कन्छन्। काठमाडौंबाट नजिकैको छोटो र राम्रो गन्तव्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पनि परेको हो।

हामी नेपालीले आफ्नो देश घुम्नु राम्रो कुरा हो। तर, घुमफिर गर्दा धेरै कुरामा ध्यान दिनु पर्दछ।
- आफूले प्रयोग गरेको खानेकुुराका बट्टा, प्लास्टिक आदि डस्टविनमा मात्र फ्याँकौं।
- प्रकृतिमा रम्न जाने हो, त्यसैले ध्वनी प्रदुुषण गर्ने कुनै पनि स्पिकर नबजाऔं। गीत सुन्ने हो भने एयर पड प्रयोग गरौं।
- लागुु औषध प्रयोग नगरौं। मर्यादित भएर यात्रा गरौं।
- बेलुका ५ बजेपछि नहिँडौं। सकभर साँझ ४ बजेभित्रै बास बसौं।
- चिसो ठाउँका लागि आवश्यक न्याना कपडा, जुत्ता, पञ्जा, ट्रेकिङ, लौरो, टर्चलाइट, थर्मस, रेनकोटसहित मात्र यात्रा गरौं।
- आफूू जाने ठाउँको राम्रो अध्ययन गरेर मात्र जाऔं।
- अग्रिम होटल बुकिङ गरौं।
- अल्टिच्युड सिक्नेसबाट बच्न एक्लमटाइज हुुँदै पदयात्रा गरौं ।
- अत्यावश्क प्राथमिक सामग्री साथमै बोकौं।
- ठाउँठाउँमा आराम गर्दै र तातो झोलिलो खुरा खाँदै यात्रा गरौं।
- एकलै यात्रा नगर्नु हाेला ।
(न्यौपाने ‘रसुवा ट्रेक्स एन्ड एक्सपिडिसन’का प्रबन्ध निर्देशक हुन्।)
सबै तस्बिरहरु गगनराज न्यौपाने ।

















-1762092323.jpg)
-1762092322.jpg)
-1762092321.jpg)
-1762092321.jpg)
-1762092320.jpg)
-1762092319.jpg)
-1762092318.jpg)
-1762092317.jpg)
