त्यतिबेला भोजप्रसाद श्रेष्ठ बुटवल नगरपालिकाका नगरप्रमुख थिए। जिटीजेड संस्थाले आयोजना गरेको उद्यमशीलता प्रवद्र्धन सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा मैले उनकै हातबाट प्रमाणपत्र लिने मौका पाएको थिएँ। कार्यक्रमा उनले उद्यमशीलताबिना व्यक्ति वा देशको आर्थिक समृद्धि सम्भव छैन भन्ने विषयमा राम्रो व्याख्या गरेका थिए। धाराप्रवाह त्यो भाषणको सारसंक्षेप मेरो मन, मस्तिष्कमा ताजै छ।
भोजप्रसाद श्रेष्ठको निष्ठामा कसैले औंला ठड्याउन नसकिने तर्क गर्दै उनले भने, ‘भोजप्रसाद विकासका पर्यावाची हुन्। सबै पार्टीका लागि रोलमोडल। नामलेभन्दा पनि कामले चिनिएका नेता हुन्।
यो सन्दर्भ थियो, वि.सं. २०५५ असोज ८ गतेको। त्यसपछि उनीसँग लामो समय भेट हुने अवसर जुरेन।

वि.सं. २०६२÷०६३ को जनआन्दोलन सुरु भयो। त्यसपछि उनीसँग बुटवलमा बाक्लै भेट्न पाइयो। आन्दोलनको अग्रमोर्चामा उभिएका उनको अनुहारले टावर पर्सनालिटीको काम गर्न थाल्यो। जिन्दावाद र मूर्दावादको नारासँगै उनका चोटिला भाषण चोकचोकमा सुन्दा उत्प्रेरणा मिल्थ्यो। भाषणबाटै उचाल्थे उनी। तालीको भरमा शरीर तन्काएर अघिपछि भीडमा हिँडिन्थ्यो।
यतिबेला भने उनी ‘अठोट’ नामक पुस्तक लिएर पाठकका माझमा उभिएका छन्। उनको जीवनयात्राको कथा छ यसमा । प्रगतिशील लेखक संघ, रुपन्देहीको ब्यानरमा हालै उक्त पुस्तक लोकार्पण गरियो।
यस पुस्तकका बारेमा साहित्यकार गिरि श्रीस मगरले सटिक तर चोटिलो विश्लेषण सुनाए। भोजराजको राजनीतिक, सामाजिक नेतृत्वसँगै बुटवलले गरेको उन्नति र प्रगतिका बारेमा चर्चा गरे।

गैरसाहित्यिक व्यक्तित्व भोजप्रसादले आफ्नै पारामा स्वाभाविक साहित्यिक रस पुस्तकमा पोखेको सुनाए उनले। संघर्षशील जीवनयात्रामा भेटिएका भोजप्रसादको पुस्तक सबैका लागि प्रेरणादायी छ।
श्रीसले पुस्तकको काव्यिक लयमा समीक्षा गरेका थिए। अर्का परिचर्चाकार पत्रकार डीआर घिमिरे थिए। उनले चर्को समालोचना गरे। र, भने, ‘भोजप्रसादले बुटवल नगरको मेयर हुँदा गरेको कामको एक हिस्सा पनि बयान गरेनन्। अर्को पुस्तक अनिवार्य रह्यो।
पुस्तकलाई थप राम्रो बनाउन सकिन्थ्यो। यसले बाहिरी फेरो धेरै घुम्यो। तर, घुम्नुपर्ने बुटवल अत्यन्तै कम घुम्यो। घिमिरेको समालोचना सुनेपछि बुटवललाई नजिकबाट चिनेका भोजप्रसादले पुनः शाब्दिक यात्रा थाल्ने आशा गरौं।
घिमिरेले समीक्षा गर्दा कुरामात्र चलाएनन, सम्पादनका छुरा समेत चलाए। बोल्न र लेख्न सिपालु उनको समालोचना सामान्य मानिसलाई फलामको च्युरा लाग्छ। तर, भोजप्रसाद आलोचना खेपेर नाम्चे उक्लिएका साहसिक सगरमाथा यात्री हुन्। सहर्ष स्वीकार गरेर ‘अठोट’ पुस्तकलाई पुनः नियाल्ने छन्।
अर्थ राजनीतिसम्बन्धि लेखिरहने लेखक माधवकुमार पौडेलले दुनियाँका तागतवाला नेतासँग भोजप्रसादलाई दाँजेर यस पुस्तकको चर्चा गरे। देश, दुनियाँ घुमेका भोजप्रसादले आन्तरिक वा बाह्य पर्यटकलाई बुटवल घुम्नयोग्य सहर बनाएका हुन् भनेर ठोकुवा गरे। त्याग र समर्पणका धनी भोजप्रसाद सक्षम नेतामात्र होइनन् असल स्रष्टा समेत रहेको भनेर तरिफ गरे।

पुस्तकमा गहिरिएर ब्याख्या, विश्लेषण गर्ने माधवकुमारले भोजप्रसादको राजनीतिक निष्ठामा बुटवलको प्रतिबिम्ब खोजे। बुटवललाई आर्थिक केन्द्रको चौराह बनाउन हरप्रयास गर्दै आइरहेका भोजप्रसादले बलियो अर्थतन्त्र खोजी गरिरहेका छन्। अनवरत समृद्धिको यात्रामा समाज र देशलाई उभ्याउने प्रयत्न गरिरहेका छन्। त्यो सपना पनि भोजप्रसादको अठोट हुन सक्छ।
‘अठाटे’ भोजप्रसादको जीवनसंघर्षको मैदान हो। संकल्पको धरहरा हो। सपनाको सगरमाथा हो। अनेकौं विभेदविरुद्धका यात्रामा जेहाद छेड्न रामपुर पारिपट्टि रहेको समासिङ् डाँडालाई साक्षी राखेर अठोट गरेका थिए लड्न, संघर्ष गर्न र सफलता हाँसिल गर्न। किशोर वयमा जीवनका हरेक पक्षसँग मुकाबिला गर्दै अघि बढेका भोजप्रसादको जीवन कालीगण्डकीजस्तै नागबेली तर कठोर बनेर बगेको छ। जसरी कालीगण्डकीले घरि वारि, घरि पारिका पाखा, छेउकुनामा हानेको छ, उस्तैगरी उनको संघर्षशील जीवनयात्राले सबैतिर हानेकै छ।
त्याग छ उनमा । समर्पणका भाव छन्। ‘गरे सकिन्छ’ भन्ने हिम्मत छ। आँटका भकारी हुन् उनी। ‘हिँडे पुगिन्छ’ भन्ने विश्वास छ उनमा। दूरदृष्टि छ। सपनाको खाँचो छैन । रातोदिन कर्ममा खटिइरहन शरीरले साथ दिएकै छ। बुढ्यौलीमा पछुतो छैन, उमेरको। विगतको। पछुताउनु पर्ने कुनै परिवेश छैनन्, तैपनि हरपल आफूलाई समीक्षा गर्दै अघि बढिरहेका छन्।

उनको घडीले सही समय दिदै आएको छ। उनले नाडीमा जापानी घडी बाँधेर नेपाली समय कुरेका छैनन्। समयका पक्का छन्। त्यसैले भन्न सकिन्छ उनी अनुशासनका अगुवा हुन्।
उनीसँगै वि.सं. २०५४ सालमा बुटवलका उपप्रमुख बनेका विमलबहादुर शाक्यले पुस्तक लोकर्पण कार्यक्रममा भनेका थिए–भोजप्रसादसँग हल मिलाएर काम गर्न कठिन थियो। भोक लाग्दैनथ्यो उनलाई। समय वितेको हेक्का हुँदैनथ्यो। काम नै उनको पहिलो प्राथमिकतामा पथ्र्यो। इमान्दार नेता र आदर्शपात्र हुन् उनी।
विमलबहादुरका यिनै कुराले भोजप्रसादको ऐना देखाउँछ। उनका बारेमा सटिक विश्लेषण हो यो।
राजनीतिका जानकार बुटवलका युवराज गिरिले भोजप्रसादको निष्ठामा कसैले औंला ठड्याउन नसकिने तर्क गर्दै भने–विकासका पर्यावाची हुन् उनी। सबै पार्टीका लागि रोलमोडल। नामलेभन्दा पनि कामले चिनिएका नेता हुन् भोजप्रसाद। राजनीतिक सहकार्य, समन्वय र सहयात्रा गर्न सक्ने खुबी छ उनमा।
सायद भोजप्रसादले कमाएका सम्पत्ति भनेकै सम्मान र निष्ठा हुन्।
पुस्तक पढिरहँदा उनमा कतै आगाका ज्वाला दन्किएका छन्। कतै आवेगका भुँवरी नाँचिरहेका छन्। आस्थाका निम्ति लडेका भोजप्रसादले कुर्सीका लागि आफ्ना हात कतै पसारेका छैनन्। निष्ठाका नियम बेचेर निम्छरो सपना ओढेका छैनन्। कमिसनको खेलोमा भुलेर कर्तव्यपथ बिर्सिएका छैनन्। हतारको यात्रा गरेर गन्तव्य नपुग्दै दुर्घटित भएका छैनन्। अक्षरका बान्की मिलाएनन् होला, कहिँकतै । तर, अनावश्यक शब्द खर्चिएका छैनन्।
पुस्तक लोकार्पण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भनेका थिए–भोजप्रसादमा कामप्रतिको भोक जागृत छ। समयको सुईअनुसार सुइँकिरहेका छन् उनी। उमेरले आफूभन्दा जेठा भएपनि कामले सधैं तन्नेरी छन्। लेखिरहने, पढिरहने, केही न केही काम गरिरहने बानीले नै भोजप्रसादलाई सक्रिय बनाइरहेको हुनुपर्छ। सरलता, भद्रता तर कडा स्वभावका भोजप्रसादमा सपनाको बाढीमात्र छैन, संघर्षका अठोट बग्रेल्ती छन्। सफल, सक्षम र सबैका प्रिय भोजप्रसादले बुटवलको जग हालेका हुन् भन्दा मलाई गौरव लाग्छ।
भोजप्रसादको स्वीकारोक्ति छ–म कुनै लेखक होइन। साहित्यकार होइन। मेरो जीवनका भोगाइ र अनुभूतिको चौपारी हो, अठोट पुस्तक। यसमा उल्लेखित हरेक कुराले सबैलाई समान रुपमा नछुन सक्छन्। लालित्यपूर्ण लेखाइ नहुन सक्छ। पढ्दा आनन्द नआउन पनि सक्छ तर सत्य कुरालाई लुकाएर सस्तो मिठास र मनोरञ्जन दिनू मेरो रहर होइन। बाध्यता पनि छैन। ढाँटेर लेखेको छैन। कसैलाई हानी हुने कुरा पनि लेखेको छैन। मैले जे महसुस गरें, त्यसैगरी नै लेखें। यही नै सत्य हो। यसैमा खुसी छु।
पुस्तकमार्फत् आत्मसमीक्षा पनि गरेका छन्। आत्मालोचित भएका छन् कुनै प्रसंगहरूमा। भोजप्रसादले समाज परिवर्तनका लागि लिएको अठोटले पूर्णता प्राप्त गरेको त छैन, यथास्थितिमा भने उनी छैनन्। कारण, उनी अग्रगामी विचारका पक्षपोषक हुन्। आफैंलाई केलाएर आफैंलाई खोज्ने ब्यक्ति । मनको दीप बालेर दुनियाँलाई उज्यालो दिन प्रयत्न र अभ्यास गर्ने मानिस हुन्।
पुस्तक लेखेपछि उनले एउटा उपमा पाएका छन्। त्यो हो, लेखक। सुकुम्बासी आयोगका अध्यक्ष, नगरप्रमुख, माननीय, मन्त्री अरु पनि थुपै्र विभूषण प्राप्त गरेका छन्। उनलाई लेखक भोजप्रसादभन्दा आत्मगौरव महसुस भएको हुनुपर्छ। जीवनयात्रामा आफूलाई लेखक बनाए। जीवनभर कर्मले चिनाए। अब अक्षरमार्फत् देश, दुनियाँलाई चिनाउँदै छन् नयाँ परिचय बोकेर।
लोकार्पण कार्यक्रमलाई संक्षेपीकरण गरी बुझ्दा थाहा लाग्छ–भोजप्रसाद लेखक बने। उनले बुटवलको विकासे जग बसाल्ने काममा अग्रसरता देखाएकै हुन्। मेयर हुँदा गरेको कामलाई मात्र बयान गरेर थप पुस्तक लेख्न सके राम्रो हुन्छ।
पुस्तक ‘अठोट’ पूर्णताको दस्तावेज होइन, यसमा सम्पादनको कैंची जरुरी छ ।
२८ वर्षअघि भेटेको नगरप्रमुख भोजप्रसाद र आजका लेखक भोजप्रसादमा मैले कायामामात्र फरक पाएँ। गतिशीलता, सक्रियता, अठोटको यात्रामा कतै कमी देखिनँ। शाब्दिक सम्मान लेखक भोजप्रसादलाई ! अब अक्षरका यात्रा सँगसँगै अघि बढौं।