काठमाडौं ।
स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आएको ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले शनिबार आफ्ना सदस्यहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको तिप्चोक क्षेत्रमा पदयात्रा गराएको छ।

प्राकृतिक स्वास्थ्य सम्बन्धी ज्ञान आपसमा बाँड्दै पदयात्रा गराइएको थियो। उनीहरूलाई संस्थाकी सचिव एवम् उचित आहार, विहार, विचार एवम् योग प्रशिक्षक राम देवी महर्जनले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिने ज्ञान बाँडेकी थिइन्।
हाइकिङविज्ञ राम देवी महर्जन
पदयात्रीहरूले लामबद्ध भएर पदयात्रा गरे। उनीहरूले ठाउँठाउँमा ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मन्त्रोचारण पनि गरेका थिए। त्यसैगरी ठाउँठाउँमा पानी र स्याऊ ब्रेक गर्दै हिँडेका थिए।

ललितपुरको सातदोबाटोस्थित निरोगधामबाट उनीहरूलाई भक्तपुर, बनेपा, पनौती हुँदै कार्की गाउँसम्म गाडीमा लगिएको थियो। त्यहाँबाट ठाडो उकालो चढेर इन्द्रदेवी थान, सिम्पानी, तिप्चोक, मल्पी इन्टरनेसनल स्कुल हुँदै पनौती बजारसम्म हिँडाइयो। पनौतीबाट उनीहरू गाडीमै लाँकुरी भन्ज्याङ हुँदै फर्के।
तिप्चोक
‘पदयात्राका लागि तिप्चोक आकर्षक गन्तव्य हो’, हाइकिङ काठमाडौं पुस्तककी लेखक समेत रहेकी महर्जनले भनिन्, ‘अहिलेको मौसममा ठाउँठाउँमा ऐंसेलु र काफल खाँदै हाइकिङ गर्न सकिन्छ।’
सिम्पानी गाउँ
उनीहरूले तिप्चोक नजिकै डाँडामा खाजा खाए। खाजापछि अन्तरिक्रयासँगै स्वास्थ्यवद्र्धक गीतमा नाचगान गरेर उनीहरू ओरालो झरे। यसरी उनीहरूले १२ किलोमिटर पदयात्रा गरे। पदयात्रामा पनौतीका पर्यटन अभियन्ता एवम् कलाकार जयराम मानन्धरले सहयोग गरेका थिए।
पदयात्रामा सबैभन्दा ज्येष्ठ नागरिक थिए, ८१ वर्षका कृष्ण सुदन महर्जन। आनन्दसँग हिँडेका उनी सबैका प्रेरणाश्रोत हुन्।
खासमा बेथानचोक गाउँपालिका वडा नंं. ४ मा पर्ने तिप्चोक तामाङ बस्ती हो। यहाँबाट चारैतिर डाँडापाखा र बस्ती देखिन्छन्। हिमाल खुलेका बेला लाङटाङ, गौरीशंकर हिमालको लामो लर्कन पनि देखिन्छ।

गाउँसम्मै सडक सञ्जाल जोडिएको छ।
स्मरणीय छ, प्रकृतिप्रेमी समूह ‘निरोगी नेपाल निर्माण अभियान’मा क्रियाशील संस्था हो। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँछ। साथै बेलाबेलामा काठमाडौं बाहिर टे«किङ पनि गराउँछ।
ईन्द्रदेवी थान
अर्को महत्वपूर्ण कुरा, यसले निरोगी रहन आवश्यक परामर्श दिँदै आएको छ। उचित, आहार, विहार र विचारको व्यबहारिक अभ्यास गराउन ललितपुरको दलचोकीमा बेलाबेलामा आवासीय कार्यक्रम पनि सञ्चालन गर्छ।

संस्थाका कार्यक्रमहरूमा फास्टफुड, जंकफुड, मासु र मदिरा निषेध छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।
८१ वर्षे पदयात्री कृष्ण सुदन महर्जन ।





















