समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो।
डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शीला छ। जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ।
वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्छ।
यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाईन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ।
चेर्दुङ डाँडैबाट गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न पाइन्छ।
डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाईन्छ। डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ।
अहिले हिउँ परेर थप रमाइलो भएको छ।
सबै तस्बिरहरू- विज्ञान बस्नेत













