लमजुङ। लमजुङको दोर्दी गाउँपालिकाको शिरमा अवस्थित ‘मेमेपोखरी’ (४,४४९ मिटर)लाई पर्यटकीय गन्तव्य बनाउन गाउँलेहरू जुर्मुराएका छन्। उनीहरूले ‘दोर्दी ग्रामीण पर्यटन प्रर्द्धन समिति’ गठन गरेर पर्यटन अभियान शुभारम्भ गरेका हुन्।
‘जनैपुर्णिमाका दिन मेला लाग्ने पवित्र मेमेपोखरीमा हामी वर्षैभरि पर्यटकको चहलपहल बढाउन चाहन्छौं’, समितिका अध्यक्ष कन्यालाल घले भन्छन्, ‘हामी मेमेपोखरी कल्चरल ट्रेल’का रुपमा ब्रान्डिङ गरेर ग्रामीण पर्यटन विकास गर्छौं।’
मेमेपोखरी दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। प्राकृतिक हिसाबले पनि निकै रमणीय छ। यहाँ मेमेपोखरी, क्रुनक्यु पोखरी, ढालक्यु पोखरी, तरवाल पोखरी र दुध पोखरी छन्। दुधपोखरीभन्दा माथि वैकुण्ठ पोखरी रहेको बुढापाका बताउँछन्।
मेमेपोखरीलाई पर्यटनधाम बनाउन अग्रसर स्थानीय।
पोखरी क्षेत्रबाट बुद्ध, मनास्लु, लमजुङ, अन्नपूर्णलगायत हिमशृखला अवलोकन गर्न सकिन्छ। जैविक विविधताका हिसाबले समेत मेमेपोखरी समृद्ध छ।
मेमेपोखरीलाई केन्द्रमा राखेर ग्रामीण पर्यटन विकास गर्ने उद्देश्यले वि.सं. २०८२ असार २८ गते शनिबार दोर्दी गाउँपालिका वडा नंं. ८ का बासिन्दाले ‘दोर्दी ग्रामीण पर्यटन प्रर्द्धन समिति’ गठन गरेका हुन्। वडाध्यक्ष नारन घलेको उपश्थितिमा खिञ्चोक गाउँका युवा कन्यालालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा सचिव शेरजङ गुरुङ, कोषाध्यक्ष सरिता गुरुङ र सहसचिव देवेन्द्र गुरुङ छन्। त्यसैगरी सदस्यहरूमा खेम गुरुङ, मीनबहादुर तामाङ, सुकबहादुर गुरुङ, तोपकुमारी गुरुङ, मनमाया घले, काशीमाया घले, कुशकुमारी घले, अनिल गुरुङ र सन्तबहादुर गुरुङ छन्। साथै पदमबहादुर घलेको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिमा सन्तबहादुर गुरुङ, तासबहादुर गुरुङ, लालबहादुर गुरुङ, लिलबहादुर गुरुङ, इन्सुहाङ राई र अमृत भादगाउँले छन्।
‘हाम्रो वडामा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन्। यहाँ पर्यटन विकास गरेर गाउँलेले फाइदा लिने वातावरण बनाउँछौं’, वडाध्यक्ष नारन घले भन्छन्, ‘हामी सबैसँग मिलेर पर्यटन विकास गर्नेछौं।’
नारन घले (वडाध्यक्ष, दोर्दी गाउँपालिका– ८)
समितिले ‘मेमेपोखरी कल्चरल ट्रेल’ ब्रान्डिङ गर्ने योजना बनाएको छ।
‘हामी मनसुन लगत्तै मेमेपोखरी कल्चरल ट्रेलको औपचारिक अध्ययन गर्नेर्छौं’, समितिका अध्यक्ष कन्यालाल भन्छन्, ‘विज्ञहरूलाई सहभागि बनाएर पदमार्गको नक्सा, भिडियो, बुकलेट, आइटिनरी आदि विकास गर्नेछौं।’
कन्यालाल घले, अध्यक्ष, दोर्दी ग्रामीण पर्यटन प्रवर्द्धन समिति।
यस क्षेत्रका गाउँमा घले, गुरुङ, तामाङ, मगर, क्षेत्री र दलित समुदायको बसोबास छ। पदयात्रामा यी जातजातिका संस्कृति अवलोकन गर्न सकिन्छ।
मेमेपोखरी पुग्न खिञ्चोक गाउँबाट तीन दिन पदयात्रा गर्नु पर्दछ। बाटोमा होटल तथा लज सुविधा छैन। बासस्थलमा धर्मशाला बनाइएको छ। त्यसैले बन्दोबस्तीका सामानसहित स्थानीय पथप्रदर्शक लिएर यात्रा गर्नु पर्दछ।
पदयात्रामा हरेक दिन हिमाल, जङ्गली जनाबर, चराचुरुङ्गी र हरियाली भू-दृश्यावलोकन गर्न पाइन्छ।
काठमाडौंबाट ‘मेमेपोखरी कल्चरल ट्रेल’मा निस्कनेहरूले हिलेबजारसम्म गाडीमा गएर करिब दुई घण्टा हिँडेपछि पहिलो बास खिञ्चोक (१,२८७ मिटर) गाउँमा बस्नु पर्दछ। त्यसपछि खिञ्चोकबाट बराहपोखरी (३,०९५ मिटर), कोम्रोडाँडा (३,६६५ मिटर), मेमेपोखरी खर्क (४,३६९ मिटर) बास बस्नु पर्दछ। मेमेपोखरी क्षेत्रमा ७ ओटा ताल (पोखरी) छन्। मेमे भन्ज्याङ (५,०४३ मिटर) छिचोलेर हिमालचुलीको पश्चिम बेस क्याम्प पुगिन्छ।
इन्सुहाङ राई, पर्यटनविज्ञ।
केही समयअघि मात्र खिञ्चोकका युवा अमृत घलेसँगै मेमेपोखरीको अध्ययन गरेका पर्यटनविज्ञ इन्सुहाङ राईले यस क्षेत्रमा पर्यटनको अथाह सम्भावना देखेका छन्। ‘दश दिनको पदयात्रा प्याकेज बनाउन सकिन्छ’, राई भन्छन्, ‘यहाँ पदयात्रासँगै हनि हन्टिङ, झरनामा क्यानोनिङ, दोर्दी खोलामा कायाकिङ र ङावलडाँडाबाट प्याराग्लाइडिङ पनि गर्न सकिन्छ।’
पर्यटनविज्ञ राइले गाउँलेलाई पर्यटन विकासमा हौस्याउँदै आएका छन्।
समाजसेवी पदमबहादुर घले
प्रस्तावित ‘मेमेपोखरी कल्चरल ट्रेल’का थप तस्बिरहरू:




















तस्बिरहरु: कुमन घले, अमृत घले र कन्यालाल घले।
भिडियाे: