काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिजनको मुख्य समयमा पनि ठमेलको पर्यटन व्यवसाय ठप्प भएको छ । राष्ट्रकै आयस्रोतको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा जेनजी आन्दोलनले ठूलो असर पारेको छ । आन्दोलनपछि असुरक्षाको कारण देखाउँदै अमेरिका लगायतका धेरै देशहरूले नेपाल भ्रमणमा रोक लगाएका छन् । त्यस्तै मलेसिया लगायतका देशहरूले भिजिट भिसामा कडाइ गरेका छन् । सिजनकै बेला आन्दोलन भएपछि अहिले पर्यटन क्षेत्र गम्भीर संकटमा परेको छ ।
पर्यटकले भरिभराउ हुने ठमेलका गल्लीहरू अहिले सुनसान छन् । ठमेलका होटलहरू, ट्राभल अफिसहरू, र ट्रेकिङ सामान पाइने पसलहरू अहिले खचाखच हुने बेला हो । तर जेनजी आन्दोलनका कारण सबैजना हात बाँधेर बस्न बाध्य भएका छन् ।
होटल सिमल ठमेलका अपरेसन म्यानेजर सुदर्शन सिमखडाका अनुसार, आन्दोलनपछि पर्यटकको आगमन घटेपछि होटल ठप्पजस्तै भएको छ ।
उनले भने, “लगभग ७० प्रतिशतभन्दा बढी पर्यटकले होटल बुकिङ रद्द गरेका छन् । यस्तै अवस्था रहिरह्यो भने भविष्यमा अझै गाह्रो हुन्छ ।” उनका अनुसार यस सिजनका लागि तयार गरिएका योजनामा आन्दोलनले ठूलो धक्का पुर्याएको छ ।
होटल कोजी हेभनका एक कर्मचारीले पनि आन्दोलनपछि पर्यटकको संख्या झन्डै ७५ प्रतिशतले घटेको बताएका छन् । उनले भने, “आन्दोलनको समयमा धेरै बुकिङ रद्द भए, पछि पनि नयाँ बुकिङ आएका छैनन् । अमेरिकाले नेपाल भ्रमणमा रोक लगाएको कारणले त झनै बुकिङ आउँदैन ।”
गोर्खा इन्टरनेशनल ट्राभल्सकी टिकेटिङ इन्चार्जका अनुसार पनि आन्दोलनपछि पर्यटकहरूले सबै बुकिङ रद्द गरेका छन् ।
उनले भनिन्, “नयाँ आउने पर्यटकलाई नेपालको अवस्था सामान्य भइसकेको छ भनेर आग्रह गर्दा पनि कोही मान्नुभएन । सबैले बुकिङ रद्द गर्नुभयो ।”
उनका अनुसार, दुबई लगायतका देशहरूले भिजिट भिसामा कडाइ गरेपछि व्यापारमा झनै कठिनाइ आएको छ ।
“आन्दोलनपछि लगभग ७० प्रतिशतले पर्यटक आगमन घटेको छ, त्यसले व्यापार निकै कमजोर भएको छ,” उनले बताइन् ।
तर उनले आशा व्यक्त गर्दै भनिन्, “दुई–तीन महिनापछि अवस्था केही सहज होला भन्ने विश्वास छ । अब सरकार स्वयंले नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ । सोसल मिडियामा ‘नेपाल सेफ छ’ भन्ने ह्यासट्याग अभियान चलाउन आवश्यक छ ।”
सुमित इन्टरनेशनल ट्राभल्सका म्यानेजरका अनुसार, हाल पर्यटन क्षेत्र करिब ६० प्रतिशत घाटामा गएको छ ।
उनले भने, “यदि यस्तै अवस्था रह्यो भने पाँच–छ महिनामै ५० प्रतिशत नेपाली विदेशिन बाध्य हुनेछन् । आन्दोलनका कारण यो सिजनका सबै बुकिङ रद्द भए । अर्को वर्षको सिजनका लागि भएका अग्रिम बुकिङ पनि रद्द भइसकेका छन् ।”
बोल्ड हिमालय ट्रेक्स एन्ड टुर तथा सनराइज ट्रेकिङ स्टोरका संचालक सोभित भण्डारीका अनुसार, आन्दोलनको सुरुमा नै पर्यटक संख्या निकै घटेको थियो । अहिले अलि–अलि पर्यटक आउन थालेका छन्, तर आउनुपर्ने संख्यामा छैनन् ।
उनले भने, “करिब १५ देखि २० प्रतिशत बुकिङ रद्द भएका छन् । कतिपय देशहरूले नेपाल भ्रमणलाई ‘जोखिमपूर्ण’ भन्दै ट्राभल एडभाइजरी जारी गरेपछि बुकिङहरू रद्द भइरहेका छन् ।”
उनका अनुसार, “पर्यटकहरूले भ्रमणका लागि इन्सुरेन्स गर्नुपर्ने हुन्छ, तर इन्सुरेन्स कम्पनीहरूले नेपाललाई ‘रेड जोन’मा राखेकाले इन्सुरेन्स नदिँदा धेरै बुकिङ रद्द भएका छन् ।”
भण्डारीले थपे, “समग्रमा २५ देखि ३० प्रतिशत बुकिङ रद्द भएका छन् । कसैको बढी, कसैको कम होला, तर स्थिति गम्भीर छ ।”
हाल उनीहरूले आफ्नै जिम्मेवारीमा एक–दुई समूहका यात्रुहरूलाई मात्र सेवा दिइरहेको बताएका छन् । उनले भने, “राजनीतिक अनिश्चितता बढ्दै जाँदा के हुने हो भन्ने ठ्याक्कै भन्न सकिन्न । सरकार नै अझै स्थिर भएको छैन । कस्तो प्रकारको पर्यटन मन्त्री आउने हो भन्ने पनि पर्खाइमै छौँ । पर्यटन बुझ्ने सक्षम मन्त्री आए भने केही सुधार सम्भव छ, नत्र योजना र कार्यान्वयन नहुने भएकाले स्थिति झनै बिग्रन सक्छ ।”
उनले थपे “नेपाल भ्रमण गर्न सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउने, विभिन्न देशहरूले लगाएका प्रतिबन्ध कूटनीतिक रूपमा हटाउने, र पर्यटन विकासका लागि ठोस योजना ल्याउने मन्त्री आए भने मात्र सुधार सम्भव छ । नत्र त अब फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्था आउँछ कि भन्ने डर लाग्न थालेको छ ।”