काठमाडौं । वर्तमानमा उभिएर इतिहास केलाउँदा भविश्यको योजना बनाउन सजिलो हुन्छ। विगत बुझ्नेहरूका पाइला लड्खडाउँदैनन्। भविश्य पनि उज्यालो बन्छ। त्यसैले बाजेबजैका कुरा नातिनातिनालाई सुनाउनुपर्छ। अचेल ‘उहिलेका कुुरा खुुइलिए’ भन्ने जमात पनि ठुलो छ। त्यसैले पोखराका एकजना इतिहासप्रेमी बाजेबजैका कथा नातिपुस्तालाई सुुनाइरहेका छन्।
उनी पुराना तस्वीरहरूसँगै तीसँग जोडिएका सन्दर्भहरू सामाजिक सञ्जालमा पोस्ट गर्छन्। विभिन्न मिडियाबाट सार्बजनिक गर्छन्। यसरी पोखरामा उदाहरणीय इतिहासविद् बनेका छन्, सुनिल उलक। उनी उहिलेको पोखरा र उहिलेको नेपाल चिनाउने अभियानमा समर्पित छन्।
पोखराका पहिलो फोटोग्राफर जगनाथ उलक उनका पिताजी हुन्। आफ्नै पिताजीले वि.सं. २००९ सालदेखि खिचेका पुराना तस्वीरहरूले उनलाई इतिहासको अनुसन्धानमा प्रेरित गर्यो। उनले सन् २०१३देखि सामाजिक सञ्जालमा ती तस्वीर पोस्ट गर्न थाले। पछि पोखरामै तस्वीरहरूको सङ्ग्रहालय पनि खोले। निःशुल्क पाइएको भवनमा सङ्ग्रहालय चलाएका उनले भाडा तिर्नुुपर्ने अवस्था आएपछि ती तस्वीर आफ्नै घरमा राखेका छन्।
‘पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हामी फोटो राख्ने ठाउँको दिन्छौं भन्नु भएको पनि दुई वर्ष बितिसक्यो’, उलक भन्छन्, ‘तर, महानगरले कुनै ठाउँ दिएको छैन।’
उनको सङ्ग्रहमा ५० वर्षभन्दा पुराना एक लाख बढी तस्वीर छन्। अब के गर्छन् त उनी ?
‘महानगरले ठाउँ दिएन भने एक दिन म नेपाल सरकारको राष्ट्रिय अभिलेखालयलाई सबै तस्वीर हस्तान्तरण गर्नेछु’, उनले भने।
अब पोखरा महानगरपालिकाले जिम्मेवारीबोध गर्नैपर्छ।
इतिहास पढाउने सुनिल उलकलाई धेरै-धेरै शुभकामना !