जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय दलजीत बुढा गाउँकै पहिलो स्याउ रोप्ने किसान हुन्। उनले २०५० सालदेखि अनुभव र ज्ञानविनै स्याउ लगाएका थिए। हचुवामा स्याउ रोपेका दलजीतको बगैंचाबाट सोचेजस्तो आम्दानी हुन सकेन।

‘गाउँमै पहिलो पटक स्याउ खेतीको थालनी गरियो। सुनेकै भरमा लगाएका बिरुवा फलेनन्,’ उनले भने। उत्पादन बढाउने ज्ञान नहुँदा न्यून उत्पादन गर्दै आएका किसानहरूलाई यतिबेला भने स्याउ बगैंचा व्यवस्थापनको सीप दिन थालिएको छ। यो वर्ष स्याउ सुपरजोनले किसानका बगैंचामै पुगी तालिम दिएको छ। अर्को वर्षबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको स्याउ किसानले बताएका छन्। स्थानीय प्रेम रावलले बगैंचा व्यवस्थित गर्न सिकेकाले अब उत्पादन बढ्ने अपेक्षा गरिएको जनाए।
बगैंचा व्यवस्थापनबारे जानकारी नहुँदा स्थानीय हरिबहादुर कुँवर पनि स्याउ खेतीबाट लाभ लिन नसकिएको बताउँछन्। स्याउले सामान्यतया पाँच वर्षमा फल दिने गरे पनि १० वर्षमा बगैंचा रित्तै हुने गरेको उनले सुनाए। बगैंचा व्यवस्थापन गर्न नजान्दा स्याउका बोट छिट्टै मर्ने गरेका हुन्।


स्याउ उत्पादन घटेको गुनासो बढेपछि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ स्याउ सुपरजोन जुम्लाले बगैंचामै पुगी स्याउ काँटछाँट र मलखात व्यवस्थापनको तालिम दिइएको हो। यो वर्ष जिल्लामा ५० प्रतिशत स्याउ उत्पादनमा गिरावट आएको थियो। ‘विगतमा सबै निकायबाट स्याउका बिरुवा बाँड्ने काम मात्रै भयो। कृषकलाई प्रयोगात्मक तालिम दिइएन,’ स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले भने। स्याउको बोटमै पुगेर समस्या पहिचान गरी व्यवस्थापनबारे जानकारी दिने गरिएको उनले बताए। पछिल्लो समय स्याउ खेतीमा किसानको चासो बढ्दै गएपछि व्यवस्थित बगैंचा बनाउनेतर्फ जोड दिइएको भण्डारी बताउँछन्।

तालिममा मुख्यतः काँटछाँट, मलखाँद व्यवस्थापन, रोगकिरा नियन्त्रणलगायतका उपाय सिकाइन्छ। जुम्लाका कृषकको आम्दानीको मुख्य स्रोत स्याउ भएकोले बगैंचा विस्तार र व्यवस्थितमा बढी जोड दिइनुपर्ने कृषि विज्ञहरूले बताउँदै आएका छन् । फँुजी स्याउमा किसान आकर्षण बढेकाले सुपरजोनले यो वर्ष ५० प्रतिशत अनुदानमा विरुवा दिने जनाएको छ। कृषि विकास कार्यालयका अनुसार जुम्लाका १६ हजार घरधुरीले कुल तीन हजार एक सय हेक्टरमा स्याउखेती हुने गरेको खबर कृषि प्रेसले प्रकाशित गरेको छ।
