दाङ । आर्थिक वर्ष २०८१/८२ मा दाङमा ९ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको छ। पछिल्लो समय जिल्लामा व्यावसायिक केराखेती गर्ने किसानको संख्या उल्लेख्य रूपमा बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार हाल दाङमा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। अघिल्लो वर्ष यो क्षेत्रफल ६७० हेक्टर मात्र रहेकोमा यस वर्ष १५० हेक्टरले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
जिल्लामा उत्पादन भएको केरा सामान्यतया स्थानीय बजारको ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा भने बाहिरी जिल्लाबाटै आपूर्ति गर्नुपर्ने अवस्था रहन्छ। “व्यावसायिक खेती विस्तारसँगै उत्पादन बढेको छ र दाङ आत्मनिर्भर उन्मुखतर्फ अघि बढिरहेको छ,” प्रमुख भण्डारीले भने। तर, सबै बिरुवा उत्पादनशील नहुने भएकाले अझै पनि बाहिरबाट केरा ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए।
देउखुरीको राप्ती, शान्तिनगर, गढवा, घोराही र तुलसीपुरका विभिन्न क्षेत्रमा व्यावसायिक खेती भइरहेको छ। स्थानीय किसानसँगै ठूला लगानीकर्ताले समेत केराखेतीमा रुचि देखाएको केन्द्रले जनाएको छ।
भण्डारीका अनुसार केराको बजार माग स्थिर छ र खपतमा समस्या छैन। खेती विस्तारका लागि किसानलाई अनुदानसमेत दिइएको छ। तर, मागअनुसार उत्पादन नपुग्दा चाडपर्वका बेला जिल्लाबाहिरका साथै भारतबाट समेत केरा भित्र्याउनुपर्ने भएको व्यवसायी भगत विकले बताए।
“जिल्लाको उत्पादन तीन महिनासम्म पनि पुग्दैन,” विकले भने। उनका अनुसार चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट समेत केरा ल्याइए पनि बार्है महिना पुग्दैन, जसका कारण भारतबाट ठूलो परिमाणमा केरा आयात हुने गरेको छ।