रोल्पा।
प्रस्तावित मगर खाम पदमार्गमा पर्ने हिलस्टेसन ‘जन्तरे’ प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। रोल्पा जिल्ला, थबाङ गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने जन्तरे लेक (३,३७५ मिटर)लाई स्थानीयहरू ‘जन्तरे उवा’ सम्बोधन गर्छन्।
प्राकृतिक एवम् धार्मिक हिसाबले एकदमै महत्वपूर्ण रहेको जन्तरे डाँडा। यहाँबाट हिमसृङ्खलाको अवलोकन गर्न सकिन्छ। सिस्ने, धौलागिरि र पुथा हिमसृङ्खलाको सुन्दर दृश्य देखिन्छ। साथमा सूर्योदय र सूर्यास्तको चित्ताकर्षक दृश्य पनि।

धार्मिक हिसाबले यस क्षेत्रमा बराह मन्दिर छ। ताल छन्। जनैपूर्णिमाका बेला यहाँ ठुलो मेला लाग्छ।
सुन्दर, शान्त एवम् रमणीय जन्तरे प्राकृतिक ध्यान केन्द्र हो। यहाँ योग तथा ध्यान गर्न सकिन्छ।

नेपाल सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेका बेला जन्तरे जस्ता ठाउँलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्नुपर्ने स्थानीयको माग छ। उनीहरू आफ्नो तर्फबाट पर्यटन प्रवद्र्धनमा क्रियाशिल भइसकेका छन्।
पत्रकारिता र पर्यटनकर्म मार्फत् रोल्पा तथा रुकुमका पर्यटकीय सम्भावना उजागर गर्दै आएका अभियन्ता बाल्कुराम पुनको नेतृत्वमा जन्तरेलाई पर्यटनधाम बनाउने अभियान सुरु भइसक्यो।
‘कन्सेप्ट लुम्बिनी’को आयोजनामा आउँदो कात्तिक ९ र १० गते जन्तरे डाँडामा ‘जन्तरे समिट’ आयोजना हुँदैछ।

‘हामी जन्तरे समिटमा समग्र रोल्पाको पर्यटनका विषयमा विमर्श गर्नेछौं’, जन्तरे समिटका परिकल्पनाकार एवम् संयोजक बाल्कुराम भन्छन्, ‘संसारको ध्यान जन्तरेसहित समग्र मगर खाम पदमार्गमा तान्नु हाम्रो उद्देश्य हो।’

उनका अनुसार जन्तरे समिटले तीनै तहका सरकारलाई यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका लागि झक्झक्याउने छ भने स्थानीयको आत्मगौरब बढाउने काम गर्नेछ।

‘हामीले बुद्धि पु¥याएर आवश्यक पूर्वाधार विकास गरी राम्रो प्रचारप्रसार गर्न सके जन्तरेलाई रोल्पाकै उत्कृष्ट गन्तव्य बनाउन सक्छौं’, उनले भने, ‘हामी यही अभियानमा लागेका छौं।’

जन्तरे समिटमा विभिन्न तीन शीर्षकमा विज्ञहरूका बिचमा विमर्श गरिँदैछ। ‘दृश्यमा रोल्पा, शब्दमा रोल्पा र पर्यटनमा रोल्पा’ शीर्षकमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री तुलसीप्रसाद चौधरी, स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनमगर र प्रदेश सांसद यमुना रोकामगरका बिचमा छलफल हुनेछ। यसको सहजीकरण पर्यटन पत्रकार अमृत भादगाउँलेले गर्नेछन्।
त्यसैगरी ‘जन्तरेसँग जन्तरे बहस’मा तात्तो बहस हुँदैछ अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नीवन रोका मगर, थबाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हिक्मत घर्तीमगर र थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरका बिचमा। यसको सहजीकरण पत्रकार काशीराम डाँगीले गर्नेछन्।

विमर्शको अर्को विषय छ, ‘रोल्पा–रुकुमको भलो, पर्यटनमा हातेमालो।’ यसमा होटल हेरिटेज, रोल्पाका सञ्चालक ज्ञानेन्द्र आचार्य, सुरक्षित आप्रावासन परियोजनाका सुकलाल घर्तीमगर, पत्रकार सुरविन्द्र पुनमगर, पर्यटनविज्ञ मानबहादुर खत्री, पत्रकार मैते घर्तीमगर र पर्यटन अभियन्ता बाल्कुराम पुनका बिचमा अन्तरक्रिया हुनेछ। यसको सहजीकरण नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष ऋतुविचारले गर्नेछन्।

जन्तरे समिटको सञ्चालन भने पत्रकार महेश केसीले गर्नेछन्। सहभागिलाई रैथाने परिकार खुवाइनेछ भने परम्परागत नाचगान समेत गरिने छ।
‘जन्तरे समिट’को आयोजक ‘कन्सेप्ट लुम्बिनी’ भने यसको व्यवस्थापक थबाङ गाउँपालिका वडा नं. ४ को कार्यालय रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय र होमस्टे महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा कार्यक्रम हुँदैछ।

कार्यक्रमका साझेदार संस्थाहरूमा वन तथा वातावरण मन्त्रालय, थबाङ गाउँपालिका, अन्तर्राष्ट्रिय लायन्स क्लब, जिल्ला शाखा रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज, टे«किङ एजेन्सिज् एसोसियसन नेपाल (टान), नेपाल पर्यटन बोर्ड, युनिसेफ, युएनडिपी, सत्यम हेली, फिसटेल एयर, रेड पान्डा नेटवर्क र डब्लुडब्लुएफ छन्।
समग्रमा ‘जन्तरे समिट’ले जन्तरेलाई हिलस्टेसनका रुपमा चिनाउने मात्र होइन, ‘मगर खाम पदमार्ग’को प्रवद्र्धनमा पनि कोशेढुङ्गा बन्ने छ।

पर्यटकलाई नौलो कोसेली
बाल्कुराम पुन, संयोजक, जन्तरे समिट
हामीले एउटा नयाँ पदमार्गको परिकल्पना गरेका छौं, ‘मगर खाम पदमार्ग।’ प्रकृति, संस्कृति र अध्यात्म स्वाद दिलाउने पदमार्ग। रोल्पाको जेलबाङबाट थबाङ, उवा, जन्तरेबाट बागलुङका निसि र भल्कोट भएर चङु्ग्री बुकी, तकसेराको शिर हुँदै हुकाम, पेल्माबाट यो पदमार्ग मैकोटसम्म जोडिन्छ। पदयात्रीले एक साता पदयात्रा गर्न पाउँछन्।
हामी यसको नक्साङ्कन र भिडियो निर्माणमा जुटिरहेका छौं। केही समयपछि यसको औपचारिक शुभारम्भ गर्नेछौं। जन्तरे समिटले समग्र मगर खाम पदमार्ग प्रवद्र्धनमा टेवा पु¥याउने छ। हामीले प्रस्ताव गरेको यो पदमार्ग नेपालको पर्यटनमा नयाँ प्रोडक्टका रुपमा स्थापित हुनेछ। त्यसो त जन्तरे आफैंमा एउटा हिलस्टेसनका रुपमा चम्किन सक्छ। यो सन्देश जन्तरे समिटले दिँदैछ।
प्रस्तावित मगर खाम पदमार्गमा पर्ने मैकोट गाउँ