काठमाडौँ।
सिद्धार्थ आर्ट ग्यालरीको ३९ औँ वार्षिकोत्सवकाृ अवसर पारेर ‘दैविक सौन्दर्य; शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ। मंगलबारबाट बबरमहलस्थित सुरु भएको प्रदर्शनीमा ३५ जना कलाकारका परम्परागत चित्र तथा मूर्तिकला राखिएको छ।

द्ववारिका होटल एन्ड रिसोर्टका म्यानिजिङ डाइरेक्टर संगीता श्रेष्ठ र बबरमहल रिभिजेडका संस्थापक गौतम शम्शेर जवराले संयुक्त रुपमा उद्घाटन गरेको प्रदर्शनीको क्युरेटर प्रदिप शाक्य रहेका छन्।

नेपाली परम्परागत कलाको ऐतिहासिक विरासत झल्किने कलाकृति प्रदर्शनीमा राखिएको क्युरेटर शाक्यले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा पुस्तौँदेखि प्रचलित कला परम्परासँग सम्बन्धित चित्र तथा धातु, काठ, ढुंगाका माध्यमबाट तयार पारिएका हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवीदेवताका कलाकृतिहरू राखिएको छ।
क्युरेटर शाक्यले भने, ‘नेपाली कला परम्पराको लामो इतिहास, वैचारिकी, सिप र शैलीलाई प्रदर्शनीमा देख्न सकिन्छ’, क्युरेटर शाक्यले भने।

शाक्यले यस प्रदर्शनीमा हिन्दू र बौद्ध परम्पराका देवीदेवतालाई एउटै छानामुनि प्रस्तुत गर्दै नेपाली समाजको सहिष्णु पक्षलाई उजागर गर्नु रहेको सुनाए।
‘प्रदर्शनीमा राखिएका कलाकृतिले उपत्यकामा शताब्दीयौंदेखि रहिआएको गहिरो धार्मिक सहअस्तित्व झल्काएको छ। प्रस्तुत कलाकृतिमा नेपाली कला परम्परामा प्रचलित शैली, माध्यम र विचारलाई अनुभूत गर्न सकिन्छ। यी कला केवल कलामात्र नभइ नेपालको सभ्यता प्रतीकसमेत हुन्’, उनले भने।
शाक्यले प्रदर्शनीमा राखिएका कलाकृति व्यक्तिगत प्रतिभासँगै पारिवारिक सिप र पुख्र्यौली ज्ञानको रुपमा पुस्तान्तरण हुँदै आएको बताए। उनले थपे, ‘नेपाली कला परम्परालाई अहिले पनि कलाकारले निरन्तरता दिइरहेका छन्, जुन सिंगो मानव समुदायको पुँजी र सम्पदा हुन् । यिनलाई जर्गेना गर्नु र अगाडि बढाउनु हामी सबैको दायित्व पनि हो।’

ग्यालरीकी संस्थापक संगीता थापाले प्रदर्शनीले एउटा जीवन्त परम्परालाई उजागर गरेको बताइन् । उनले नेपाली परम्परागत कलाको सांस्कृतिक, सामाजिक, धार्मिक तथा पर्यावरणीय पक्ष निकै मैत्री रहेको सुनाइन् । उनले भनिन्, ‘ग्यालरी स्थापनाको ३९औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको कला प्रदर्शनीले नेपालको कलाको ऐतिहासिक वैभवलाई एकै थलोमा चिनाउन सफल भएको छ ।’
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले
‘दैविक सौन्दर्य’ प्रदर्शनीले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक, भूगोल, सम्बन्ध तथा जनजीवनमा कलाको महत्त्व कति थियो भन्ने भावलाई उजागर गरेको बताए।
‘नेपालको मौलिक कला परम्परालाई नियाल्न प्रदर्शनी निकै सफल रहेको छ’, उनले भने।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले प्रदर्शित चित्र तथा मूर्तिकलाले नेपाली समाजको वैभावशाली सभ्यतालाई चिनाउन सकेको बताए।
प्रदर्शनीमा कलाकार क्रोधकला शिरोमणि स्व. कालु कुमाले, सिद्धिरत्न शाक्य, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति चन्द्रश्याम डंगोल, पाल्साङमो लामा, सुन्दर सिंख्वाल, प्रदीप शाक्य, जिग्मे तामाङ, उजय बज्राचार्य, इन्द्र प्रसाद शिल्पकार, रविन्द्र शाक्य, राजप्रकाश तुलाधर, राम प्रकाश, सुरेश लवट, प्रथमराज बज्राचार्य, राजकुमार रानामगर, विनम्र डंगोल, अमिर शाक्य, अमिररत्न शाक्य, अनमोलरत्न तुलाधर, विष्णुप्रसाद लिवी, दीपेन्द्र शाक्य, दिलिप बज्राचार्य, जीवन शाक्य, जेनेन्द्रराज शाक्य, जीतेन्द्र तुलाधर, कृष्णगोपाल गरु, नवीन शाक्य, निरन लवट तुलाधर, पिपेन्द्र शाक्य, रजनी सिंख्वाल, राजेन्द्र शाक्य, रामभक्त महर्जन, रुशा महर्जन, सविन शाक्य, सानु महर्जन, सिवाली शाक्यका चित्र तथा मूर्तिकला राखिएको छ।

प्रदर्शनी अवलोकनपश्चात् कलाकार प्रकाश मिजारले अध्यात्म, इतिहास, कलाको संयोजनमा ऐतिहासिक प्रदर्शनी भएको बताए।
उनले भने, ‘कलाका विविध विधाहरूमध्ये अति महत्वपूर्ण मौलिक ऐतिहासिक कलालाई उत्तिकै प्राथमिकता राखेर संरक्षण, संवर्धन, विकास र प्रोत्साहनमा जोड दिँदै एउटा ऐतिहासिक भव्य प्रदर्शनी आयोजना भएको छ ।’
नेपाली ललितकला क्षेत्रमा सिद्धार्थ आर्ट ग्यालरीले विगत ३९ वर्षदेखि निरन्तर योगदान दिँदै आइरहेको सुनाउँदै क्युरेटर शाक्यले यो देशकै लागि सराहनीय कार्य भएको बताए।
सन् १९८७ सेप्टेम्बर २७ मा काठमाडौंको कान्तिपथस्थित प्रताप भवनबाट शुरु भएको ग्यालरी सन् १९९८ मा बबरमहल रिभिजिटेडमा सरेपछि निरन्तर कलाका विविध गतिविधि तथा अभियानमा सक्रियताका साथ लागिरहेको संस्थापक संगीता थापाले जानकारी दिइन्।

उनका अनुसार यसबीचमा देश विदेशमा गरेर ६ सयभन्दा बढी कला प्रदर्शनी तथा गतिविधि ग्यालरीका तर्फबाट भएको छ।