‘पलाँस कवितासङ्ग्रह’ नारायण भण्डारीको पहिलो कृति हो। विभिन्न पत्रपत्रिकामा फूटकर रचना प्रकाशित गर्दै आएका उनले यो पुस्तक हामीबिच ल्याउँदा साहित्य आकासमा एउटा तारा थपिएको छ।
निजामती कर्मचारीका रुपमा रहेका भण्डारीले साहित्यिक यात्रामार्फत् आफूलाई कविका रुपमा परिचित गराएका छन्। पलाँसमा ४९ वटा लामा तथा छोटा कविता समावेश गरी उनले आफूलाई दरिलो कविका रुपमा प्रस्तुत गरेका छन्।
कविता बाहेक उनले कथा, लघुकथा, लेख र निबन्ध लेख्दै आएका छन्। उनी बुटवल, भैरहवा क्षेत्रमा आफूलाई कविकै रुपमा स्थापित गर्ने यात्रामा छन्। भैरहवा, मणिग्राममा रहेका विभिन्न साहित्यिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले साहित्यमा नै जीवन समर्पित गर्ने सपना बुनेका छन्।
कवि नारायण भण्डारीले कवितामा अत्यन्तै मिठासपूर्ण तरिकाले शासकका बयान गरेका छन्। वास्तवमा शक्ति र सत्ताको आँखा हुँदैन, त्यसले जसलाई जतिबेला पनि दमन गर्न सक्छ।
उनले लेख्ने कविता प्रायः राष्ट्रवादी र विभेदविरुद्धका छन्। समानताका पक्षधर उनी लेखनमा मात्र होइन, व्यवहारमा नै सोही कुरा खोज्छन्। हक्की स्वभावका उनी कवितामा समेत उस्तै बिम्ब प्रयोग गर्छन्।

उनी घुमफिरमा पनि रुचि राख्छन्। भारत, मलेसिया, चीन, इन्डोनेसियालगायतका देशमा भ्रमण गरिसकेका उनले नेपालका आधाभन्दा बढी जिल्ला घुमिसकेका छन्।
शिक्षाको कुरा गर्दा उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
उनका कविता पढिरहँदा मनमा एउटा छुट्टै ऊर्जा आउँछ। उत्साह थपिन्छ। कवितामा झल्किने बिम्ब, प्रतिबिम्बले मिठास थपेको हुन्छ। पलाँसमा समाहित कविताले मनमा सकारात्मक भावना विकास गराँउछन्।
उनको कविता वाचन शैली पनि सुन्दर छ।
कवितासङ्ग्रहको मूलकविता ‘मैले पलाँस नै रोजें त के भयो ?’ शीर्षक कवितामा उनी यसरी प्रस्तुत भएका छन्–
अनगन्ती फूलहरूको बगैँचामा
अनायासै म भुलें त के भयो ?
हजारौं सुगन्धित चमेली र गुलावको माझमा
मैले पलाँस नै रोजें त के भयो ?
सायद कसैको साथ पाएमा
ऊ पनि हाँस्ने छ गुलावको सौन्दर्यसँगै
रमाउने छ चमेलीको वास्नासँगै
त्यसैले,
मैलै गुलाव र चमेली छाडें त के भयो ?
मैले पलाँस नै रोजें त के भयो ?
बिम्बात्मक यो कविताले समानताको कुरा उठाइएको छ। वासना नआउने फूल होइन, भन्ने भाष्यलाई यसले तोडेको छ। सबैले सुन्दर र वास्नादार फूल मात्र रोज्नुपर्छ भन्ने छैन, बरु सबैले घृणा गरेको फूललाई स्वीकार गरी आफ्नो बनाउनु र स्याहार गर्नु मानवता हो भन्ने सन्देश कविताले प्रवाह गरेको छ।

हाम्रो समाजमा हुनेखाने र सुन्दर मान्छेलाई नै आफ्नो बनाउँछन्। चाहे ऊ विचारमा कुरुप र विभेदकारी भए पनि। तर विचार र भावनाका सुन्दर तर पछाडि पारिएका मानिसलाई आफ्नो कसैले ठान्दैन। कारण यही हो –हरेक सुन्दर बस्तुमा मानिसको कुरुप नजर छ।
क्षणिक स्वार्थकै लागि आस्था बदल्नेहरू
कहिल्यै कसैका हुँदैनन्
कोही कसैका हुँदैनन्
आस्था बेच्नेहरू आस्थावान हुन सक्दैनन्
विचार फेर्नेहरू विचारवान् हुन सक्दैनन् ।
विचारपरक कविताको यो अंशले आस्था र विचार बदलेर संसारको नौलो मानिस हुन नसकिने ठहर गरेको छ। आस्था र विचार बदलेर मानिसलाई केवल क्षणिक रुपमा गोडामूति न्यानो त होला तर दीर्घकालीन शान्ति असम्भव छ। संसारमा मानिस जीवित रहने उसको आस्था र विचारले नै हो। जब यी कुरा नै मानिसले पटकपटक बदलिरहन्छ ऊसँग केवल स्वार्थको घैटौं रहने कविले उल्लेख गरेका छन्। त्यो घैंटो कुनै बेला फुटेर छताछुल्ल हुन बेर लाग्दैन।
दिउँसो चामलको पीठोको चिल्लो पुवा
तोरीको तेलमा झानेको मेवाको कोरेको अचार
साँझमा साग र पिंडालुको तरकारी
मासको दाल, अनदीको चामलको खाजा
आहा ! कति मिठो हुन्थ्यो
आहा ! कति आनन्द लाग्थ्यो ।
‘हाम्रो गाउँघरमा’ उल्लेखित कविताका यी अंशले अतीत सम्झाउँछ । सहर पसेका अनि कर्मचारी भएर देश, दुनियाँ घुम्न थालेपछि कवि नारायणले कवितामा आफ्नो गाउँघर सम्झिएका छन्। आफूले खाएका अर्नि वा खाजा सम्झेका छन्। गाउँघरमा खाइने तरकारी तथा खाद्यपदार्थको स्वादिलो जिभ्रो लिएर कवितामा पोखिरहेका छन्। भान्सामा ती खाना आज नपाक्दा कताकता कवि नारायणलाई खल्लो लागेको पनि हुन सक्छ।
छाडिदेऊ अब क्रमभङ्गता र छलाङ्गका कुराहरू
अनि बिर्सिदेऊ युद्धकौशल,विभीषिका र कुटुताहरू
बरु आऊ सँगालौं सिर्जनाका सुन्दर सपनाहरू
अँगालौ र पहिल्याउँ विकासका नयाँनयाँ गोरेटाहरू ।
कविले राजनीतिक नेतृत्वलाई युद्धलाई शान्तिमा, क्रान्तिलाई शान्तिमा र विभीषिकालाई शान्तिमा रुपान्तरण गर्न अनुरोध गरेका छन्। सुन्दर सपनालाई सिर्जनामा बदल्न अपील गरेका छन्। विकास नै समृद्धिको असल गोरेटो हो भनेर उनले सबैलाई सम्झाएका छन्। कुनैबेला क्रमभङ्गता र छलाङ्गका आवश्यकता समेत थिए होलान् तर अव शान्तिको बाटो समाएर विकास, निर्माणलाई अंगाल्नुपर्ने बेला आइसकेको सन्देश छरेका छन् ।
शक्ति र सत्ताको भरेङ्ग चढ्दै
उक्लिरहेछौ अहङ्कारको चुचुरो
दम्भको सिरानी हालेर
अर्ति,उपदेशको चाङ् लगाइरहेकाछौ ।
शक्ति र सत्ताको आँखा हुँदैन, त्यसले जसलाई जतिबेला पनि दमन गर्न सक्छ। हिंसामा पार्न सक्छ। शक्तिले विचार दबाउँछ। दम्भले सत्ता सञ्चालन गर्न सहयोग गर्छ। सत्तामा रहनेहरू नै अहङ्कारको चुचुरो चढ्न लालायित हुन्छन्। शासकहरू दम्भको सिरानी हालेर दुनियाँलाई उपदेशको पाठ पढाइरहेका हुन्छन्। कवितामा अत्यन्तै मिठासपूर्ण तरिकाले कविले शासकका बयान गरेका छन्।
प्रेमको जरो बल्झियो मेरो हृदय बिचमा
जीवनभरि कल्पनासँगै सम्झना साथमा
इच्छा ती सबै बिलाई गए उत्साहै तोडियो
प्रेमको साटो रोदन दियौ स्नेह छाडियो ।

छोरी आकाङ्क्षा र छोरो आदर्शका बुबा बनिसकेका नारायण विगतको प्रेम सम्झेर हो या विछोड सम्झिएर माथिको कविता हरफ कोरेका छन्। साथमा जीवनसंगीनी छन् तर विगतको प्रेमालाप कवितामा बिछोडको रचना किन गरेका होलान् झैं लाग्छ। भलै, कवि भनेको भावनाको सर्जक पनि हो। यथार्थ नहोला। यतिबेला कवि नारायणका चारजनाको परिवार सुखमय छ। उनलाई विगतका प्रेम, रोदन, स्नेह फिक्का लाग्दा हुन्।
सुस्ता रुँदा सुस्ताउँछ,जुर्छ कविता
खुर्दलोटन थुनिदाँ नि,फुर्छ कविता
महलीसागर बाँधतिर सुसाउँछ कविता
सीमा सर्दा पूर्वबाट उदाउँछ कविता ।
कविलाई कहिले कविता फुर्दोरहेछ, कविताका यिनै हरफबाट थाहा लाग्छ। राष्ट्रवादी कवि नारायण, देशप्रेमी कविता लेख्न रुचाउँछन्। कवितामा आफ्नो भूगोलको भावना उन्छन्। स्नेहको भावना गुन्छन्। उनले आफ्नो गाउँ पीपलडाँडा, रम्भाका बारेमा समेत कविता कोरेका छन्। कवितामा जन्मे, हुर्केको ठाउँको बयान गरिरहँदा नोस्टाल्जिक भएका छन्।
कवि नारायणका कविता छापिनका लागि थुप्रिएका छन्। कहिले अवसर पाउने हुन सङ्ग्रह बनेर आउन? कवितामा उनी पोखिएका छन् तरपनि कवितालाई कसी लगाउनै पर्छ। संख्यामा होइन, गुणवेत्तामा कविता खोज्नुपर्छ। प्रयास र अभ्यास राम्रो छ। कवि मन न हो, कहिलेकाँही हतारमा लेखिन्छन् कविता। आफ्ना कविताका सम्पादक आफै बन्नुपर्छ। आफैले आफ्ना कवितामा कैंची चलाउन सक्नुपर्छ।
नारायण पाका र संवेदनशील छन् आफ्ना रचनामा। कवितालाई मज्जाले बुझेका छन् र अरुलाई बुझाउने प्रयास गरेका छन्। यो नै उनको कवित्व हो। खास विशेषता हो।