काठमाडौँ।
साहित्यकार अनुपम रोशीको नयाँ कृति ‘भगः एक मौन ब्रह्माण्ड’ को आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ। अस्तित्व, शरीर, सत्ता, समाज, मृत्यु, चेतना र आध्यात्मिकता जस्ता विषयलाई दार्शनिक तथा प्रश्नमुखी दृष्टिले केलाइएको कृतिमाथि बोल्दै वक्ताहरूले यसलाई समकालीन नेपाली साहित्यमा गम्भीर चिन्तन र बहसको सम्भावना बोकेको कृतिका रूपमा चर्चा गरेका छन्।
विमोचन कार्यक्रममा युग पाठक, सगुना शाह र राम लोहनीले कृतिमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए। वक्ता पाठकले ‘भगः एक मौन ब्रह्माण्ड’लाई चिन्तन र विचारको समग्र एउटा बलियो धरातलमा उभिएको पुस्तकका रूपमा व्याख्या गरे।

समकालीन राजनीतिक र परिवेश कमजोर हुँदै गएको पठन–संस्कृतिको अवस्थाबीच रोशीले कृतिमार्फत उठाएका प्रश्नहरू आज हामी सबैले खोजिरहेको जवाफतर्फ संकेत गर्ने उनको भनाइ थियो। उनका अनुसार पुस्तकले कुनै एउटा स्थापित निष्कर्षलाई अन्तिम सत्यका रूपमा अघि सार्दैन, बरु पाठकलाई प्रश्नको केन्द्रमा उभ्याउँछ। सोच्न, आफ्नै दृष्टिकोणबाट विषयलाई हेर्न र आफूले बाँचिरहेको समयसँग पुनः संवाद गर्न बाध्य बनाउँछ।
‘कृतिका हरेक निबन्धले एउटा झनझनाहट र झड्का दिन्छ’, पाठकले भने, ‘ती निबन्ध पढिरहँदा म केवल विचार पढिरहेको थिइन, साहित्यको एउटा गहिरो अनुभवबाट गुज्रिरहेको थिए।’
रोशीको लेखन शक्ति बौद्धिक बहसमा सीमित नभइ पाठकको अनुभूति र चेतनासम्म पुग्ने उनले बताए।
त्यसैगरि समीक्षक सगुना शाहले कृतिको भावनात्मक तथा दार्शनिक गहिराइको चर्चा गर्दै यो एउटा अत्यन्त सुन्दर कृतिको आगमन भएको टिप्पणी गरिन्। पुस्तक पढ्दै जाँदा पाठकले विभिन्न ठाउँमा आफूलाई नै भेट्टाउने र आफ्नै जीवन, अनुभूति तथा अस्तित्वसँग जोडिएको महशुुस गर्ने उनको भनाइ थियो। विशेषतः मृत्यु–चिन्तनसम्बन्धी निबन्धहरू अत्यन्त गम्भीर र दार्शनिक रहेको चर्चा गर्दै उनले भनिन्, “म पढ्दापढ्दै भक्कानिएँ, धेरै ठाउँमा आफैंलाई फिल गरेँ ।”

उनका अनुसार रोशीले मृत्युजस्तो जटिल विषयलाई मानवीय अनुभूतिको गहिराइसँग मात्र नभइ दार्शनिक बहसका रूपमा जोडेर प्रस्तुत गरेकी छिन्। महिला अस्तित्व र समानताको बिलकुलै फरक चिन्तन गरिएको यो कृति नेपाली साहित्यमा उत्कृष्ट प्राप्ति भएको उनको भनाई थियो।
त्यसैगरी अर्का समीक्षक राम लोहनीले कृतिको समग्र लेखनमा रहेको आध्यात्मिकता र स्वत्वसँगको गहिरो रुझानलाई विशेष रूपमा उल्लेख गरे।
‘पुस्तकका प्रत्येक प्रसंगले पाठकलाई केहीबेर रोकिएर सोच्न बाध्य बनाउँछ। कृतिका हरेक शीर्षकमा म रोकिँदै पढ्नुप¥यो’, उनले भने, ‘पुस्तकले पाठकलाई हतारमा अघि बढ्न नदिने र विचारको गहिरो तहभित्र यात्रा गराउँछ। यस कृतिमा आध्यात्मिक खोजसँगै आफ्नो अस्तित्व र स्वत्वको पहिचानतर्फ फर्किने गहिरो आग्रह रहेको छ।’
वक्ताहरूले रोशीको लेखनमा रहेको काव्यिक भाषा, दार्शनिक गहिराइ र प्रश्न गर्ने साहसको प्रशंसा गर्दै ‘भगः एक मौन ब्रह्माण्ड’लाई अहिलेको समयसँग संवाद गर्ने कृतिका रूपमा व्याख्या गरेका थिए। कृतिले शरीर, सत्ता, समाज, मृत्यु र अस्तित्वका प्रश्नलाई एउटै वैचारिक धरातलमा ल्याएर पाठकलाई आफूभित्र र आफ्नो समयभित्र फर्केर हेर्न बाध्य बनाउने उनीहरूको धारणा थियो।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ६९५ रुपैयाँ तोकिएको छ।