उडेर जान सकिनँ प्यारा चरीझैं भुरुरु
छेक्दछ दृश्य आँसुले सधैं मन रुन्छ धुरुरु
झ्याउरे तथा लोकलयमा लेखिएको गीत हो माथिको हरफ। आफ्नो श्रीमानको वियोगमा श्रीमतीद्वारा रचिएको उक्त शोकगीतले सबैका मन रुन्छ।
‘अश्रु तर्पण’ शोककाव्यका रचनाका। सीता ढुंगाना काफ्ले हुन् । श्रीमान् विश्वप्रेम काफ्लेसँगको जीवनयात्रा टुटेपछि लेखिएको यो शोककाव्यले सबै पाठकलाई धर्धरी रुवाउँछ। श्रीमानसँग चरीझैं उडेर जान नसकेको अनि आँसुको पोखरीमा डुबेको पीडायुक्त शोकगीतले सीतालाई सताइरहेको छ।
छोडेर गयौ म एक्लो भएँ रित्तो छ मेरो काख
सुखमा छौ कि दुःखमा पर्यौ स्वर्गको तिम्रो बास
भौतिकवादी चिन्तन बोकेकी सीताले आफूलाई एक्लै छाडेर गएका श्रीमानलाई स्वर्गमा तिम्रो बास, सुखमा वा दुःखमा पर्यो भनेर सोधेकी छिन्। प्रेम विवाहबाट घरजम गरेकी सीताले विछोडिएका श्रीमानलाई गुमाउनुको पीडामा हजारपटक भगवानसँग किन मबाट चुँडाई लग्यौं, छुटाइ लग्यौ भनी प्रश्न गरिरहेकी छिन्।

मृत्यु अवश्यम्भावी छ। तर, मान्छेले आफन्तीको मृत्यु सहजरुपमा स्वीकार्दैन। सीतालाई पनि शीरको सिन्दूर पुछिँदा पक्कै खपि नसक्नुको पीडा भएको छ।
धिक्कार लाग्छ एक्लो यो जुनी लाग्दैन जिएझैँ
वेदना यस्तो हुन्छ कि कडा जहर पिएझैँ
मृत्यु सबैका लागि अप्रिय लाग्छ। मृत्युको आयु कति हुन्छ,कसैलाई हेक्का हुँदैन। तरपनि मृत्यु भएर जानेले बाँचेकालाई सुखको सम्झनायोग्य स्वास फेर्न दिदैनन्। सीतालाई विश्वप्रेमको विछोडमा बाँच्नुको अर्थ धिक्कार लाग्दोरहेछ। उनलाई एक्लो जूनी बिताएझैं हुँदोरहेछ। कडा जहर खाएपछिको पीडाजस्तै उनको वेदना रहेछ। सीता स्वभावमा कडा छिन्। आँटिली र हिम्मतवाली पनि। तर, शोककाव्य पढ्दा उनी उड्दै गरेको खरानीजस्तै हलुङ्गो लाग्छ। सायद घायल मन यस्तै हुँदो होला कि!
डुबायो मेरो जीवन नौका आएर छालले
लुटेर खुसी चुँडेर लग्यो निष्ठुरी कालले
बिछोडिनका लागि नै मिलनको नाटक रचिएको हुन्छ कि! नत्र,बिछोडमा किन यति भावविह्ल हुन्छ त मान्छे ? सीताले आफ्नो नौकारुपी जीवनलाई पीडाका छालहरूले तानेर लगेजस्तो मान्छिन्। उनको श्रीमानलाई कालले चुँडेर लैजाँदा काल पनि निष्ठुरी लाग्छ उनलाई। सर्वस्व ठानेका श्रीमान् गुम्दा सीताले चारैतिर अँध्यारो देख्छिन्। निष्पट्ट! खुसी खोसेर लैजाने कालसँग साक्षात्कार हुने अवसर सीतालाई मिलेको भए,सायद उनले भुत्ल्याइदिन्थिन्। त्यति आवेग छ। रीस साँचेकी छिन्। त्यसको अर्थ निरन्तर मायाको प्रतीक विश्वप्रेम थिए भन्ने कुरा शोककाव्यमा डुब्दा पाठकलाई थाहा लाग्छ।
रोकिन कहाँ सक्यो र आँसु त्यो आर्यघाटमा
लैजान किन सकेनौ मलाई तिमीले साथमा
कवि सीता ढुङ्गाना काफ्ले
सास नभएपछि मान्छे लास बन्छ। प्राण त्याग्नू मृत्यु स्वीकार्नु हो। मृत्युपछि लासलाई घाटमा लगिन्छ । त्यसमा पनि पशुपति आर्यघाटमा जल्न पाउनु धेरैको जीवित चाहना हुन सक्छ । सीताले विश्वप्रेमलाई आर्यघाटमा अन्तिम दागबत्ती दिदै गर्दा आँसुका बलेनी कम्ति थिएनन् । उनको इच्छाले आँसु रोक्न सकेनन् । बरु सोध्दैछिन्–मलाई किन साथमा लैजान सकेनौं ? शोककाव्यमा गीतको यो हरफ पढ्दा मुटु नै हातमा राखेजस्तै लाग्छ ।
के काम बरै सुन र चाँदी बाँच्नका खातिर
नगद जिन्सी सम्पत्ति भन्नु के रैछ आखिर
बाँचुञ्चेल मान्छेले तेरो र मेरो भन्छ । यो र ऊ भन्छ । यसो र उसो भन्छ । यता र उता भन्छ । सधैंको हतारो,फुर्सदमा आफूलाई भूल्छ । अमूल्य, जीवन हैन–सम्पत्ति ठान्छ । सम्पत्तिका लागि के गर्दैन र मान्छेले ? तर,मृत्युपछि मानिसले के लैजान्छ र ? अमर हुन,सम्पत्ति होइन,कीर्ति चाहिंदोरहेछ । सुकीर्ति । जसले मृत्युशेषमा अमरत्वको खोजी गरोस् । विश्वप्रेम र सीताले सम्पत्ति त जोडे तर विश्वप्रेमले जीवन त्यागेर जाँदा के लगेर गए त ? लुगाका धरोसमेत छाडेर जान परेपछि सुन,चाँदी, असर्फीको के अर्थ हुँदोरहेछ र ?
लगाए आगो सल्कियो चिता सकियो शरीर
खरानी बनी विलिन भयो जीवन आखिर
प्राण जतिबेलासम्म शरीरमा रहन्छ,मान्छे कहलिन्छ । प्राणविनाको शरीर केवल लास हुन्छ । जब लास सल्किन्छ चितामा अनि चिन्ताले आकास छुन्छ । मान्छे लास,लासपछि जलेर खरानी अनि के रहन्छ र आखिर ? आफ्नो श्रीमानलाई जलाउँदा सीताको मन सल्किरह्यो । आँसुको बागमति बगिरह्यो । चिताबाट निस्किएको धुँवा,लास खाग भएर बनेको खरानीले सीताको मनमा निरन्तर अग्निज्वाला दन्काइ रह्यो होला ।
मुटुमा तिमी,तिमी नै मेरो दिलको सहारा
दन्केको चिता हेरेर आएँ,ए मेरा पियारा
चिताबाट निस्किएको धुँवालाई नियालेर हेरिन् सीताले मुटु दह्रो बनाएर । आफ्नो सहाराको बेलगाम अन्तिम भेटलाई कसरी हेरे होलिन् ? चिता हेरेर पियाराको घिड्किसो मेटे होलिन् । कहिल्यै नफर्किने गरी हिडेका स्वामीको अन्तिम विदाईमा सीताले आफ्नो मन कसरी बुझाए होलिन् ? साहसी सीताको शोककाव्यले एकपटक सीतालाई प्रशंसा गर्न सिकाउँछ ।
भन्दछन् सबै हुँदैन सुख डुबेर शोकमा
दुःखमा पनि मधुरवाणी सम्झन्छु चोटमा
आफ्नो मान्छेको मृत्यु कसलाई पो प्रिय लाग्छ र ? शोकले डुबाउँदा,संसार बिर्सिन्छ मान्छेले । सँगै रहँदाका सुख,दुःखका यादहरुलाई बिछोडमा सम्झिने मानवीय स्वभाव ठान्न सकिन्छ । शोकलाई शक्तिमा बदल्ने हो । तर, शोकमा डुबेर शरीर क्षीण बनाउँदै लैजानु हुन्न । चोटमा परेका बेला श्रीमानका मधुरवाणी सम्झिएकी छिन् सीताले । जसले सुखानुभूति प्राप्त हुने गर्छ ।
नियाल्दा फोटो बोल्दैनौ तिमी हृदय बोल्दछ
देखेर माला तस्वीरमाथि यो मुटु जल्दछ
सम्झना हो फोटो । स्मृतिको मानसपटलमा सजिएको हुन्छ फोटो । घरको ढोकामाथि टाँगिएको फोटो किन बोलोस् र ? तर, सम्झनाको हृदय बोल्दछ । माला लगाएर सजाइएको विश्वप्रेमको फोटोले सीताको मन भत्भति पोल्दछ । जल्दछ । कसरी सकून् र उनले बिर्सिन,आफ्नो मनको राजालाई जहाँ गएपनि जहाँ रहेपनि ।
बिर्सेकी छैन लेखेको नाम केतुके पातैमा
बाँचौला अब मधुर तिम्रा स्मृति साथैमा
अतीत सम्झिएकी छिन सीताले विश्वप्रेमसँगको । केतुके पातमा प्रेमील जोडीको नाम लेखेको भुलेकी छैनन् । तर,यतिबेला नरहँदा विश्वप्रेमसँग सीता,स्मृतिको मधुर दीयोमा आफूलाई ननिभ्ने गरी जलाइरहेकी छिन्। खोइ ! सीताले कसरी भूल्न सक्लिन र विश्वप्रेमलाई,युगयुगसम्म ।
जे गरेपनि अन्त्यमा रित्तै जाने हो आखिर
असल मैले क्यै गर्न सकूँ लोकका खातिर
मृत्युपछि पनि जीवनको खोजीमा रहन्छन् मानिसहरु । जाने त रित्तै हो मृत्युपछि । तैपनि मानिस मरेर जाँदा उसले छाडेर जाने भनेकै सुकीर्ति नै हो । असल कर्मको परिणाम हो । यश नै हो । लोकको हित गर्नुनै मृत्युपछिको साश्वत जीवन हो ।
जिन्दगी भन्नु कर्मको आफ्नै रहेछ दर्पण
चढाएँ यिनै भावनासँगै अश्रुको तर्पण ।
जिन्दगीको परिभाषा सामान्य छैन । अनुभव र अनुभूतिको श्रृङ्खला नै हो जिन्दगी । जिन्दगी भोगेर प्राप्त हुने गर्छ । भोगाईको यात्रा नै जीवन हो । जिन्दगी नै कर्मको ऐना(दर्पण) हो । आफूले जे गरिन्छ,त्यही देखिन्छसीताले आफ्नो श्रीमान् विश्वप्रेमलाई शोककाव्यमार्फत् भावना बिसाएकी छिन् । आँसु चढाएकी छिन् । आँसुरुपी जल तर्पण गरेकी छिन् । मिलनका यादहरुलाई बिछोडका पीडाहरुले सेकेकी छिन् । अनेकौ बाटाहरु खोजेर भूल्न खोजेकी छिन् । तर, यादका भूतहरु,वर्तमान बनेर मनमा बास बसिरहेका छन् ।
सीताले विश्वप्रेमलाई बाँचुञ्जेल प्रेम,स्नेह र ममता दिइरहिन् । मृत्युपछि पनि शब्द दिएकी छिन् प्रेमोपहार । जहाँ खुसीभन्दा दुःख छन् । हर्षभन्दा विष्माद् छन् । मिलनभन्दा बिछोड छन् । साहित्यकार सीताले शोककाव्यमार्फत् विश्वप्रेमलाई युगयुगान्तर जीवन्त राख्नेछिन् ।