तनहुँ। इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम मानिएको ‘तनहुँसुर’ घुम्नलायक छ। मनसुनमा घुम्दा बेग्लै स्वाद पाइन्छ। तलबाट उड्दैउड्दै आउने भुइँकुहिरोमा रमाउँदै हरियालीमा घन्टौं विताउन सकिन्छ।
तनहुँ जिल्लाको तनहुँसुर (१,२४५ मिटर) सधैं सितल हुन्छ। प्रकृतिको अँगालोमा बेरिएको तनहुँसुर प्रकृतिप्रेमीका लागि स्वर्ग नै हो। हरिया डाँडापाखा, रुखविरुवा, थरिथरिका चरा र वनस्पती। अनि गाउँले जीवनशैली। यति मात्र होइन, यहाँ तनहुँसुर दरबार, खड्काली मन्दिर, तोप, गढी, सहिदपार्कलगायत सम्पदा छन्।
प्रकृतिको अँगालोमा बेरिएको ऐतिहाँसिक तनहुँसुर डाँडा सितल छ। यहाँ भुइँकुहिरोसँगै लुकामारी खेल्दै गर्मी छल्न सकिन्छ। डाँडामा खाना र बासका लागि होमस्टे सुविधा छ।
सांस्कृतिक हिसाबले पनि तनहुँसुर समृद्ध छ। मगर बाहुल्य गाउँमा नेवार, दलित, बाहुन, क्षेत्री आदिको बसोबास छ। उनीहरूको कलासंस्कृति र जीवनशैलीले पनि लोभ्याउँछ। गाउँमा चुड्का, सोरठी, बालन, देवीनाच, लाखे, लिङ्गेजात्रा, गाईजात्रा, रोपाईंजात्रा आदि अध्ययन एवम् अवलोकन गर्न सकिन्छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/1%20Main%20Photo-ink.jpeg)
तनहुँसुरमा घुमन्तेहरू
मौसम उघ्रिएका बेला तनहुँसुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, हिमचुली, बुद्ध, लाङटाङलगायत मिसृङ्खला देखिन्छन्। यहाँबाट सूर्योदय र सूर्यास्त पनि देखिन्छ।
तनहुँसुरको सामुदायिक होमस्टेमा बसेर सेरोफेरोमा घुम्दा धेरै कुराको अनुभव सँगाल्न पाइन्छ। ग्रामीण पर्यटनको सुवासमा रमाउन सकिन्छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/4%20Top-ink.jpeg)
प्राचीन तोप।
तनहुँसुरको टुप्पामा तीन फरकफरक टाकुरा छन्, जसलाई ‘त्रितुङ’ पनि भनिन्छ। त्यही त्रितुंग नामकरण अपभ्रंश भई तनहुँ हुन गएको भनाई छ। तनहुँसुर क्षेत्र व्यास नगरपालिका वडा नं ११ मा पर्दछ भने केही भुभाग भानु नगरपालिका वडा नं ६ मा।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/3%20Darbarko%20Bhagnabases-ink.jpeg)
सेनवंशी राजदरबारको भग्नावशेष।
एक समय तनहुँसुर तनहुँ राज्यको राजधानी थियो। चौबिसे राज्यकालमा तनहुँसुर शक्तिशाली थियो। वि.सं. १६१० सम्म पाल्पा राज्य अन्तर्गत पर्ने तनहुँ तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले छोरालाई भागबन्डा गरिदिएपछि सोही समयदेखि स्वशासित राज्यका रुपमा वि.सं. १८३९ सम्म अखण्ड राज्य रह्यो।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/2%20Khadka%20Kalikaa-ink.jpeg)
खड्गकालिका मन्दिर।
करिब २३० वर्षको अवधिमा प्रथम राजा भृङ्गी सेनदेखि अन्तिम राजा हरकुमार सेनसम्म विभिन्न ९ जना सेन राजाले तनहुँमा शासन गरेका थिए।
वि.सं. १८३९ मा राजा पृथ्वीनारायण शाहले तनहुँलाई नेपाल राज्यमा गाभ्नुअघि तनहुँ राज्य चितवनको पुरै भाग समेटी भारतको रामनगर तथा राजपुरसम्म फैलिएको थियो।
तनहुँसुरमा सेन दरबारको भग्नावशेष छ। खड्गकाली मन्दिर भने पुरातत्व विभागले पुननिर्माण गरिसकेको छ। दरबार क्षेत्रमा घुम्नका लागि अन्य सम्पदाहरू गद्धी चौतारा, रानी चौतारा, शिव मन्दिर, विष्णु मन्दिर, धान गोदाम, ढिकुरीघर, गोलघर, रानीधारा, साउने कुवा, कुँडापानी, रानीपोखरी, धर्मशाला, रानीबगैंचा, भगवतीपानी मन्दिर, हात्ती बाँध्ने किलो, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, सहिद पार्क आदि छन्।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/5%20Paryetak-ink.jpeg)
आन्तरिक पर्यटक।
यहाँको सहिद पार्क पनि महत्वपूर्ण सम्पदा हो। वि.सं. २००७ सालको जनक्रान्तिमा बन्दीपुर अड्डा कब्जा गर्नै क्रममा ६ जनाले वीरगती पाएका थिए। उनीहरू मध्ये ४ जना धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठ तनहुँसुरका थिए भने खड्गबहादुर गोदार वसन्तपुरका र धर्मध्वज गुरुङ पुलिमराङका थिए। उनीहरूको सम्मानमा पूर्ण कदको प्रतिमासहित पार्क बनाइएको छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/6%20village%20life-ink.jpeg)
चामल निफन्दै।
पछिल्ला केही वर्षदेखि तनहुँसुर पर्यटन गन्तव्य बन्दै गएको छ। डाँडामा लालबहादुर राना मगरले ‘तनहुँसुर खाजा घर’ सञ्चालन गरेका छन्। यस बाहेक खाना र बासका लागि दुई ओटा सामुदायिक होमस्टे सञ्चालनमा छन्। मगर, नेवार, दलित समुदायका घरमा होमस्टे सुविधा पाइन्छ। होमस्टेमा आफ्नै घरबारीमा उत्पादित खाना खुवाइन्छ। होमस्टेमा बास बस्ने गरी जाँदा पहिल्यै खबर गर्नुपर्छ। र, घाम नडुब्दै पुग्नु पर्छ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/7.%20Purana%20ghar-ink.jpeg)
गाउँले घर।
कसरी पुग्ने: काठमाडौं, मुगलिन, घाँसिकुवा १४२ किलोमिटर। घाँसीकुवादेखि उत्तर १४ किलोमिटर दूरीमा तनहुँसुर। घाँसीकुवाबाट १० किलोमिटर सडक पक्की छ भने चार किलोमिटर कच्चि छ। बस, जिप, कार र मोटर बाइकमा गाउँसम्मै जान सकिन्छ।
सम्पर्क
तनहुँसुर देवस्थल सामुदायिक होमस्टे–९८०६५५७०८६
तनहुँसुर सामुदायिक होमस्टे–९८४६०९१०३२
बालकृष्ण श्रेष्ठ–९८४६४८८७००
स्वागतम्
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/Lal%20Bahadur%20ana-ink.jpeg)
लालबहादुर राना
सञ्चालक, तनहुँसुर खाजा घर
तनहुँसुर घुम्ने पाहुना बढ्न थालेपछि हामीले वि.सं. २०७५ सालमा खाजा घर सुरु गरेका हौं। हामी पाहुनाको अर्डरअनुसार खाना खुवाउँछौं। लोकल कुखुरा र बंगुरको मासुका साथमा लोक्ल रक्सी धेरैले रुचाउनु हुन्छ। जाडोमा पारिलो घाम ताप्न र गर्मी याममा शितल वातावरणमा रमाउने हाम्रो तनहुँसुर उपयुक्त छ। तपाईं पनि आउनुस् है !
सम्पर्क: ९८४७६००६९५/९८१४१४२४७
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/8%20Village-ink.jpeg)
गाउँ।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/9%20Gadhi-ink.jpeg)
गढी।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/11%20Chautaro-ink.jpeg)
सिलिङ्गे रुखको चौतारो।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/12Tanahusur%20jane%20bato-ink.jpeg)
तनहुँसुर जाने बाटो।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/10%20Sagar%20Udash-ink.jpeg)
साहित्यकार सागर उदास।
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/13-ink.jpeg)
![](https://www.everestpedia.com/uploads/editor/Gantabya/Tanahunshur/Tanahunsur_jato_makai%20_1111.jpg)
परम्परागत शैलीमा मकै पिस्दैँ स्थानीय।