काठमाडौं
मुक्तिनाथको आधारशिविर जोमसोममा धार्मिक एवम् सांस्कृतिक मूर्ति बगैंचा निर्माण शुभारम्भ गरिएको छ। घरपझोङ गाउँपालिका, मुस्ताङले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कालीगण्डकीका शिलालाई मूर्तिमा रुपान्तरण गर्ने अभियान चलाएको हो।

‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला’मा २१ जना मुख्य कलाकार सहभागि छन् भने उनीहरूलाई १५ जनाले सहयोग पु¥याइरहेका छन्। वैशाख ७ गतेबाट सुरु कार्यशाला २१ गतेसम्म चल्नेछ।
नदी छेउका दुई ओटा विशाल चट्टानमा मूर्ति कुँदिनेछन् भने बाँकी मूर्तिहरू नजिकैको चौरमा सजाइनेछ।

‘हामीले जोमसोममा पर्यटक रमाउने बगैंचा बनाउन लागेका हौं’, घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचन भन्छन्, ‘विशेषतः भारतीय र नेपाली पर्यटक यो बगैंचामा रमाउनेछन्।’
मूर्ति निर्माण कार्यशालामा सहभागि कलाकार दिनेश्वर महतोका अनुसार यहाँ शालीग्राम, विष्णु, शिव, पार्वती, बुद्ध लगायतका देवताका मूर्ति बनाइनेछ। साथै हिमाली भेकको जैविक विविधता झल्काउने रुख, याक, च्याङ्ग्रा, हिउँचितुवा, जीवनशैली आदिका मूर्तिहरू पनि बनाउने काम भइरहेको छ।

कार्यशालामा सहभागि मूर्तिकारहरूमा दिनेश्वर, ओम खत्री, गोविन्द चौधरी, नरेन्द्रप्रसाद भण्डारी, राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, राजु पिठाकोटे, रामचन्द्र पण्डित, देवेन्द्रप्रसाद पाण्डे, सरोज श्रेष्ठ, मानबहादुर बल, बुद्ध थारु, हरिबहादुर थापा बयम्बु, पुजन खतिवडा, नुर्बु लामा, करुणा श्रेष्ठ, सुस्मिता मोक्तन, पारस श्रेष्ठ, अनमारी तामाङ र ओमप्रकाश सिंह छन्।

पर्यटकलाई उपहार
मोहनसिंह लालचन, अध्यक्ष, घरपझोङ गाउँपालिका, मुस्ताङ
हिन्दु धर्मावलम्बीहरू कालीगण्डकीलाई पवित्र मान्छन्। उनीहरू गण्डकीमा स्नान गर्छन्। शालीग्राम खोज्छन्। त्यसैले हामीले जोमसोमस्थित कालीगण्डकी नजिकै मूर्ति बगैंचा बनाउन लागेका हौं। यस्तो बगैंचा जहाँ पुग्दा आध्यात्मिक भावना जागोस्। मुस्ताङलाई बुझ्न सकियोस्। हिन्दुलाई मात्र होइन, सबै धर्मका पर्यटक मूर्ति बगैंचामा रमाउन सक्नेछन्।

-1776832142.jpeg)

