चुरे, कान्छो पहाड हो। यसलाई शिवालिक पर्वत समेत भनिन्छ। एक करोड १० लाख वर्षअघि बनेको पहाड र यसको भूगोल, समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने भूगर्भशास्त्री बताउँछन्। हामीले वि.सं. २०८३ सालको सुरुवाती भ्रमणको थालनी चुरे पहाडमा ग¥यौं।

वैशाख ७ गते बिहान ८ वजेदेखि साँझ ६ वजेसम्म करिव १० घण्टा चक्कर लगायौं। बुटवलको जितगढीमा अंग्रेजलाई हराएको उपलक्ष्यमा नेपालीले युद्ध जितेको मानेर प्रत्येक वर्ष वैशाख ७ गते विजयोत्सव मनाइन्छ। नेपाली सेनाको सहयोगमा भव्यरुपमा विजयोत्सव मनाइन्छ। हामी यात्रामा निस्कने बिहान महोत्सवको तयारी भइरहेको छ।
आर्थिक समृद्धिको झिल्को
भ्रमण नितान्त अवलोकनका लागि थियो। हाम्रो टोलीमा होटल व्यवसायी माधवप्रसाद नेपाल, पत्रकार स्वस्तिक श्रेष्ठ, योग गुरुआमा गमला नेपाल, उनकी नातिनी कायरा, ग्रामीण विकासका जानकार साथी युवराज घिमिरे, चालक भाइ र म थियौं।
बुटवलदेखि हिँडेको हाम्रो मोटरले पश्चिम १० किलोमिटर दुरी काटेपछि सैनामैना नगरपालिका वडा नं. १ वनकट्टामा अवथित वडा कार्यालयबाट उत्तरतिर बाटो ततायो। रानीबगिया माथि सेनाको क्याम्पनिर सोधपुछका लागि क्षणभर रोकिएपछि तिनाउ गाउँपालिका वडा नं.१, को झिंगामारातिर मोटर उक्लियो। उक्त सैनिक एरिया कुनैबेला तत्कालीन माओवादीको क्यान्टोनमेन्ट थियो। यतिबेला भने नेपाली सेनाको तालिम सेन्टर बनेको छ।
वनकट्टाबाट करिव ४५ मिनेट उकालो र तरपायँ बाटो करिव १३ किलोमिटर नापेपछि पाल्पा, तिनाउ गाउँपालिका वडा नं. १ को झिंगामारा, रामपाटा गाउँ पुगियो।

चुरे क्षेत्रमा ठुल्ठुला भवन बनाउँदा भूक्षय हुने डर र अवस्थाले गर्दा होटल पनि चुरे क्षेत्र सुहाउँदो निर्माण हुँदै रहेछ।
हामी त्यहाँ पुग्दा विद्यालय जान हतार गर्दैथिइन् स्थानीय सरस्वती आधारभूत विद्यालयकी शिक्षक लक्ष्मी खड्का। उनको विद्यालयका लागि भनेर हामीले नयाँ वर्षको क्यालेन्डर र पुस्तक उपहार दियौं।
अलिक पर पुगेपछि तेजकुमारी तरामूको होटलमा टुसुक्क बसेर गिलाँसमा पानी खायौं। पहाडको चिसोपानीले तिर्खा मेट्यौं। अनि नजिकैको निर्माणाधीन पौवा होटल हेर्न पुग्यौं। विकट गाउँमा बाटोले सुगमता ल्याउँदै गर्दा होटल, लज, रिसोर्ट खुल्दै जानु आर्थिक समृद्धिको झिल्को देखिनु हो।

चुरे क्षेत्रमा ठुल्ठुला भवन बनाउँदा भूक्षय हुने डर र अवस्थाले गर्दा होटल पनि चुरे क्षेत्र सुहाउँदो निर्माण हुँदै रहेछ।
चुरे क्षेत्र सारै कमजोर हुन्छ। कुनै पनि भौतिक संरचना निर्माण गर्दा सारै बुद्धिमता निर्णय अनिवार्य हुन्छ। बाटोघाटो खोल्दा वा खन्दा सारै ख्याल गर्नुपर्छ। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी कुनै पनि विकास निर्माण र भौतिक संरचना बनाउनु उचित हुँदैन। चुरेमा अति चरिचरन र वन डँढेलो स्वीकार्य हुँदैन। यसले वर्षामास भूक्षय भई चुरेको माटो बग्ने सम्भावना बढेर जान्छ। पाल्पा, तिनाउका रुपन्देही जिल्लासँग जोडिएका सीमावर्ती चुरे क्षेत्रमा रहेका सामुदायिक वनमा डँढेलो नलागोस् र लागि हालेमा निभाउन सकियोस् भनेर अग्नि नियन्त्रण तस्ता गठन र परिचालन गरिएका छन्। यसको समन्वय सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले गरेको छ।
हतारको यात्रा अनि समय अभावका कारण सोही दस्ताकी तिनाउ सचिव लक्ष्मी न्यौपानेसँग भेट्ने अवसर जुरेन। सोही दस्ताकी सदस्य तेजकुमारी तरामूसँग वन डँढेलो र दस्ताको परिचालनसम्बन्धि छोटो कुराकानी गरियो।
एकराते दहीमा रोटी डोब्दा
झिंगामारामा रहेको बौद्ध चैत्य हेर्न अबेला भएकाले सरासर ठुलीउदाङ्ग नजिकै रहेको फोकेसाल गाउँ पुगियो। त्यतिबेला बिहानको ११ बजिसकेको थियो। भोकले भोजन खोज्दै थियो। फोकेसाल नजिकै रहेको काठे प्रतिक्षालयमा भोजन गर्ने तयारी गरियो।

दहीमा रोटी डोब्दै र नूनखुर्सानीमा काँक्रा दलेर खानुको स्वाद विपत्तै मिठो लाग्यो। आलुको भुजिया पनि स्याम्मै पारियो। चारवटा रोटीले पेटको आयतन बढायो। स्वादको शिखर चुमायो।
गमला भाउजुले सुख्खारोटी, आलुभुजिया, ट्वाक्क नूनखुर्सानी, काँक्रा, एकराते दहीको राम्रो प्रवन्ध गरेको देख्दा दङ्ग परियो। भाउजूको भान्सा व्यवस्थापन उल्लेखनीय र प्रशंसनीय रहेको कुरा बताइरहनु पर्दैन। खानेबेलामा कच्ची बाटोमा धूलो उडाउँदै घैयार गाउँबाट खाली ट्याक्टर आयो। रोटीमा धूलो हल्का मिसाइ दियो।
दहीमा रोटी डोब्दै र नूनखुर्सानीमा काँक्रा दलेर खानुको स्वाद विपत्तै मिठो लाग्यो। आलुको भुजिया पनि स्याम्मै पारियो। चारवटा रोटीले पेटको आयतन बढायो। स्वादको शिखर चुमायो।
कायराले समेत दुईवटा रोटी पूरै तुरिन्। घरिघरि पत्रकार स्वस्तिक भान्से बन्थे। युवराजले नाइँनाई भने पनि माधव दाइको अनुरोधमा एउटा रोटी घलुवा थपे। माधव दाइले ट्वाक्क जिब्रो पड्काउँदा स्वाद कति मिठो थियो भनी बयान गर्नै परेन। फोकेसालका किमबहादुर लाम्टाङ्गेसँग रोटी खाँदै गाउँका बारेमा लामै कुरा गरियो। उनलाई पनि काँक्रा र दहीले गमला भाउजूमार्फत् स्वागत गर्ने अवसर जु¥यो।
रैथाने होमस्टे सपना
पत्रकार स्वस्तिकले क्यामेरा तेर्साएर किमबहादुरसँग फोकेसाल गाउँको जनजीवन, विकास निर्माण, भविष्यको योजनाका बारेमा भिडियो वार्ता गरे। त्यसैमा उनले आफ्नो गाउँमा सिंचाइको अभावले जग्गा भएर पनि तिनै खेती हुन नसकेको सुनाए। पशुपालनबाट जीवन गुजारिएको बताए। गाउँको मगर संस्कृति, खानाको संरक्षण गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना रहे पनि आर्थिक अभावले अवरोध हुने हो कि भन्ने आशंका व्यक्त गरे। ग्रामीण विकासका जानकार युवराजले गाउँलेको सार्थक सहभागितामा होमस्टे सञ्चालन सम्म्भव रहेको तर होमवर्क राम्रो गर्नुपर्नेमा सुझाए।
किमबहादुर
लुुम्बिनी पर्यटन विकास परिषदका सदस्य समेत रहेका माधव दाइले समृद्धिका लागि होमस्टे सञ्चालन गर्न आवश्यक रहेको फोकेसाल गाउँमा सबैको सहयोग भएमा सम्भव हुने सुनाए। केहीबेर स्वस्तिकले झिंगामारा स्वाथ्य एकाइकी इन्चार्ज अहेब मुस्कान पाण्डेयसँग स्वास्थ्य सेवाका बारेमा जानकारी लिए। उनी जनताको घरदैलोमा पुगेकी थिइन्, झोला भिरेर । मैले पनि रक्तचाप परीक्षण गराएँ।
तिनाउ सरकारले गाउँगाउँमा स्वाथ्यकर्मी पठाएर गाउँलेको सेवा गरेको सुन्न र बुझ्न पाइयो। जनताको सरकार हैछ भन्ने थाहा पाउँदा खुसी लाग्यो।
ताल्चा ठोकिएका घरहरू
फोकेसालको अवलोकन भ्रमणपछि हामी पश्चिमी गाउँ धैयारतिर लाग्यौं। चिटिक्क मिलेको गाउँ, घर आकर्षक तर केही घरमा भोटे ताल्चा ठोकिएका थिए। सिसाका झ्याल फुटेका थिए। तैपनि सुन्दर गाउँलाई आँखामा र मनमा सजाएर हामी तिनाउ–१ कचल, पश्चिमतिरको अन्तिम गाउँ घैयारलाई छाडेर पाल्पाकै रैनादेवी–छहरा गाउँपालिका वडा नं. ७ को लौधुवापानी गाउँतिर लाग्यौं।
उक्त गाउँ पुग्नुअघि बाटाभरि ऐंशैलु लटरम्म फलेका रहेछन्। टिप्दै खाइयो तर उपहारस्वरुप झाँङ्लाई रक्तदान गरियो। माधव दाइले ऐंशेलुको कहावत सुनाए। त्यता लौधुवापानी गाउँ पुगेपछि आँपको फेंदमा निःशुल्क एसी मिल्यो। केहीबेर त्यतै भुलियो। गमला भाउजुलाई हिँड्नेबेला चिनजानका खड्का दाजुले सानोखाले टमाटर, आलु र पुदिना उखलेर जरै समेत कोसेली दिए। गाउँलेका घर साना तर मन फराकिला देख्दा खुसीले धूरी चढे।

स्वस्तिकले वडा कार्यालयअघि युवराज र मेरो फोटो खिचिक्क पारिदिए। जुगौंभरिलाई प्रमाण बन्यो।
पाल्पा, तिनाउको पाटनमा माइती अनि लौधुवापानी नजिकै घर रहेकी सुकमाया विक रैनादेवी छहरा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन्। उनलाई फोन सम्पर्क गरियो। रुपन्देही, सैनामैनातिर झरेकी रैछन्। भेटेर बात मार्ने रहरमा बिर्को लाग्यो। त्यसपछि लौधुवापानी गाउँबाट मोटरमा कच्ची बाटो घच्याक र घुचुक गरेर बल्ढेङ्गगढीको मौलाडाँडा पुगियो। हामीले चिया खाने प्रवन्ध ग¥यौं, कुटे चिया पसलतिर।
माधव दाइले रैनादेवी छहरा वडा नं. ७ को वडा कार्यालयतिर पाइला चाले। हामीले पनि वडाध्यक्ष देवेन्द्र पुन, वडा सदस्य सूर्य कार्की र कर्मचारीसँग भेटघाट गरियो। स्वस्तिकले वडाध्यक्षसँग भिडियो अन्तर्वार्ता गरे। वडाध्यक्षले चुरेको कारण हिउँदभर निर्माण गरिएका बाटाघाटा र भौतिक संरचना प्रायः वर्षामासमा नामोनिसान समेत नभेटिने बताए। स्वस्तिकले वडा कार्यालयअघि युवराज र मेरो फोटो खिचिक्क पारिदिए। जुगौंभरिलाई प्रमाण बन्यो।
मान्छेका फिलामा दुम्सीका किला
सोही गाउँबाट गहतेका कुलबहादुर खड्का दाइलाई मोबाइलमा सम्पर्क गरियो। उनी खेततिर रहेछन्। घरमा भेट्ने अवसर नजुरेपछि गहते गाउँतिर नजाने निर्णय गरियो। सरासर हामी सुकादमारहुँदै सत्यवतीको बुढीदमार पुगियो वडा कार्यालयमा। वडाध्यक्ष रेमबहादुर रानासँग कृषि स्मार्ट भिलेजका बारेमा चर्चा गरियो। चुरे क्षेत्रमा पर्ने उक्त गाउँमा कृषि उत्पादन राम्रो भएपनि बजार नजिक नभएकाले किसान आजित भएको सुनाए। बेमौसमी तरकारी खेती गर्ने किसानले उत्पादनको उचित बजार र मूल्य नपाउँदा निराश र अल्छी बन्दै गएको वडाध्यक्ष रानाले बताए।
आधा बाली त बाँदर, दुम्सी, बँदेललाई निःशुल्क बुझाउँछन्। गाउँलेहरूलाई भालुले भगाएको छ। गाउँलेहरूलाई बाँदरले झापड हानेर घाइते बनाइ दिएको छ। मान्छेका फिलामा दुम्सी आफ्ले आफ्ना काँडाका किला गाड्दिएको छ।
सुकादमार र सत्यवतीका बुढीदमारलगायतका गाउँ दालचिनीको राजधानी नै मान्न सकिन्छ। चुरे क्षेत्रमा फस्टाउँदा खेती भनेकै दालचिनी, हलेदो र केरा हुन्। यिनीहरूको उचित बजार र बजारीकरण हुन सकेमा चुरे क्षेत्रका बासिन्दाको जीवस्तर आकासिने थियो।
देशभर चुरे क्षेत्रमा करिव ५० लाख जनसंख्याको बसोबास छ। उनीहरूको आम्दानीको स्रोत भनेकै नगदेबाली हुन्। जंगली जनावरबाट समेत उनीहरू आक्रान्त छन्। आधा बाली त बाँदर, दुम्सी, बँदेललाई निःशुल्क बुझाउँछन्। गाउँलेहरूलाई भालुले भगाएको छ। गाउँलेहरूलाई बाँदरले झापड हानेर घाइते बनाइ दिएको छ। मान्छेका फिलामा दुम्सी आफ्ले आफ्ना काँडाका किला गाड्दिएको छ। मानव–वन्यजन्तु द्वन्द्वको बयान कसरी गर्ने होला ? पीर लाग्छ ।

रेमबहादुरका दुःख
तीनै तहका सरकारले चुरे क्षेत्रका किसानसँग बसेर उचित योजना बनाएर कार्यान्वयन गर्न सकेमा उत्तम हुने थियो। बुढीदमारमा पर्ने पानीचौर गाउँमा फूलैफूलका रहर लाग्दा घर देखिए। गाउँमा ज्ञानोदय आधारभूत विद्यालय रहेछ। स्वास्थ्य चौकी भएपनि बिरामी प्रायः तराईतिर उपचार गर्न जाने कुरा वडाध्यक्षले सुनाए। गाउँमा विद्यालय छ तर विद्यार्थी छैनन्। कृषि उपज संकलन केन्द्र छ तर उत्पादन छैन। बाटो छ, मोटर छ तर सवार गर्ने यात्री छैनन्। घर छन्, मान्छे छैनन्। गाउँको जीवनकथा कष्टकर र लामो छ। रेमबहादुरसँग विदा मागेर रुपन्देहीतिर कच्ची बाटो ओरालियौं।

चुरेकै चिन्ता
चुरे क्षेत्रको अवलोकन भ्रमणबाट १० घण्टामा सोचेभन्दा धेरै जानकारी प्राप्त भयो। चुरेलाई जोगाउन नसक्दा तराई, मधेश मरुभूमिकरण हुन सक्ने भूगर्भशास्त्रीको तर्क, तथ्य र अनुमान छन्। चुरेमा भौतिक विकासको अत्यधिक चापलाई न्यूनीकरण गर्न नसकिएमा ठूलो क्षति हुन सक्छ। देशमा रहेको १२.७८ प्रतिशत् चुरे क्षेत्रको संवेदनशीलतालाई बेलैमा बुझ्न र बुझाउनु पर्नेछ। यसो भएमा कमलो पहाड चुरेको संरक्षण सम्भव छ।
चुरेमा पानीका मुहान छन्। प्रशस्तै वनजंगल छन्। जीवजन्तु र पंछी छन्। चुरेको सौन्दर्यले मनोरम छ।
खडेरीका बेला चुरे क्षेत्रमा डढेलो लागेका छन्। रुपन्देहीसँग जोडिएको सीमावर्ती क्षेत्रका कारण चोरी निकासी समेत यदाकदा बढ्ने गरेको सुनिन्छ। चुरे हाम्रो पौरख हो। हाम्रो गौरव हो। चुरेको संरक्षण र यसको समुचित प्रयोग हुन सक्ने हो भने चुरेका बासिन्दालाई बाँच्ने प्रशस्त आधार भेटिने छन्। त्यसैले चुरेलाई जोगाउनु छ।

स्वादिलो सर्वत र सातु
पाल्पामा पर्ने चुरेबाट रुपन्देहीको सालझण्डी झिमझिमियाँ बजार आइपुग्दा साँझको साढे पाँच बज्दैथियो। झिमझिमियाँमा उहिले रातिकालीन गाउँले बजार लाग्थ्यो। पहाडियाले डोको, डालो, मान्द्रो, कूचो, केरा, बेसार, सोंठी बेच्थे। तराईबासी व्यापारीले नून, मसला, तेल अनि खाद्यान्न बेच्थे। साटासाट समेत गर्थे। यो कुरो पुरानो हो। अहिले रात्रिकालीन बजारको चलन हरायो।
बिहानै बुटवल कान्ति मावि, बुटवलमा कक्षा नौमा अध्ययनरत् वर्षा नाम गरेकी बहिनीले जितगढीमा सातु र सर्वत पिलाएकी थिइन्। दिनभर त्यसैले शितलता दिइरह्यो ।
बुटवल गोरुसिंगे निर्माणधीन मार्गले सरासर यात्रामा एकछिन अल्मलायो। बुटवलको न्यु इरा होटलमा आउँदा साँझको ६ बज्यो। जिउ त हलेदो खाने भए पनि माधव दाइको अनुरोधमा होटलमा खुदो मिश्रित कालो चियामा पाउरोटी डोबेर खाइयो। हिँड्नेबेला दाइले आलु र सानोखाले गोल्भेडा उपहार प्रदान गरे। हामी पनि मानमाथि भुक्तमान भनेझैं, दाइभाउजूले पाएका कोसेली पनि फेरि हाम्रा लागि कोसेली बने। उदार मनका माधव दाइ र गमला भाउजुसँग यात्रा गर्न पाइयो। दुवैलाई मुरीमुरी धन्यवाद !
कोसेली बोकेर हामी निवासतिर हुँइकियौं। चुरे घुम्ने दिन अक्षया तृतीया परेकाले बिहानै बुटवल कान्ति मावि, बुटवलमा कक्षा नौमा अध्ययनरत् वर्षा नाम गरेकी बहिनीले जितगढीमा सातु र सर्वत पिलाएकी थिइन्। दिनभर त्यसैले शितलता दिइरह्यो ।


