ललितपुर ।
ललितपुरको गोदावरी–फुलचोकी क्षेत्रमा डिभिजन वन कार्यालय, ललितपुरले सरसफाई गरेको छ। कार्यलयका प्रमुख संयोग बस्नेतको नेतृत्वमा शनिबार पाँच सय जनाले सफा गरेर हाइकर्सहरूलाई जथाभावि फोहोर नफाल्न सन्देश दिएका छन्।

करिब ३ ट्रक फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको थियो। वन कार्यालयका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी बल, रोटरी क्लब, वाइल्डलाइफ फोटोग्राफरहरू सुप्रदीप्त न्यौपाने, आयुषमान कायस्थ, पेम्बा शेर्पा, कुमुद पराजुली, राम लोप्चन, सुनिल तन्डुकार लगायत सामाजिक संघ–संस्थाको पहलमा सफाई गरिएको हो।

कार्यक्रममा नौधारा वन उपभोक्ता समिति, फूलचोकी संरक्षण सेवा सुधार समिति, श्रीजनशील फोहर महिला सफाइ समूह, गोदावरी खानेपानी, साथै गोदावरी नगरपालिका वडा नं. ३ र १४ तथा ललितपुर महानगरपालिका वडा नं. २८ र २९ का प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। गोदावरी कुण्ड, दियाली डाँडा, पातले र मुलडोल क्षेत्रका स्थानीय समेत अभियानमा सहभागी भएका थिए।

पछिल्लो समय फूल्चोकी क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधिसँगै फोहरको समस्या देखिँदै आएको अवस्थामा यस्तो अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

आयोजकहरूले प्राकृतिक सम्पदा जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै हाइकिङ तथा भ्रमणका क्रममा जथाभावी फोहर नफाल्न, वातावरण स्वच्छ राख्न अपिल गरेका छन्।

“यो प्रकृति हाम्रो साझा सम्पदा हो। यसको संरक्षण, संवद्र्धन र रक्षा गर्नु हामी सबैको साझा दायित्व हो। आज जोगाएको प्रकृतिले नै भोलिका पुस्तालाई स्वच्छ वातावरण र समृद्ध प्राकृतिक सम्पदा हस्तान्तरण गर्नेछ।” भन्ने सन्देशसहित कार्यक्रम गरिएको थियो।

