काठमाडौं।
‘निरोगी नेपाल निमार्ण अभियान’मा समर्पित संस्था प्रकृतिप्रेमी समूहले शनिबार आफ्ना सदस्यहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, मा अवस्थित ‘धाप ड्याम’मा पदयात्रा गराएको छ।

संस्थाकी सचिव एवम् योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक राम देवी महर्जनको नेतृत्वमा उनीहरूलाई पदयात्रा गराइएको हो। संस्थाको कार्यालय निरोगधाम (सातदोबाटो, ललितपुर)बाट तीन ओटा गाडीमा पदयात्रीलाई सुन्दरीजल माथिको मुलखर्कस्थित कर्मा होटलसम्म लगिएको थियो। त्यहाँबाट ठाडै उकालो चढाएर पदयात्रा गराइएको हो।
‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक राम देवी महर्जन ।
जङ्गलको बाटो उनीहरू करिब ३ घण्टा हिँडेपछि ड्याममा पुुगेका थिए। त्यहाँ पुुगेर पनि उनीहरूले स्वास्थ्यको मूलमन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ उच्चारण गरेका थिए।

पदयात्रीलाई बाँध क्षेत्रमा तीन बराबर खाना खुवाइएको थियो। खानामा एक भाग अन्न च्युरा, एक भाग तरकारी (साग, ग्रेभि, आलु र चना) र काँचो सलादस्वरुप स्याउ खुवाइएको थियो। यसरी खाँदा कब्जियत हुँदैन। कब्जियत नभएपछि रोग लाग्दैन।

खानापछि हाइकिङविज्ञ महर्जनले स्वास्थ्यका केही टिप्स दिएकी थिइन्। साथै उनले निरोगधामको एउटा स्वास्थ्यवद्र्धक गीत गाएर सबैलाई नचाएकी थिइन्।

नाचगानपछि उनीहरूलाई हैबुङ हुँदै सुन्दरीमाईको प्रवेशद्वारस्थित खुला ठाउँसम्म पदयात्रा गराइएको थियो।

‘हामीले १० किलोमिटर उकालो र १० किलोमिटर नै ओरालो पदयात्रा ग¥यौं’, हाइकिङविज्ञ महर्जनले भनिन्, ‘मनसुनी पदयात्राका लागि पनि यो पदमार्ग उपयुक्त छ।’

स्मरणीय छ, यस संस्थाको हाइकिङमा जंकफुड, फास्टफुुड र मदिरा निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ।
‘धाप ड्याम’को चिनारी
नागमती नदीको धापलाई बाँध बाँधेरे बनाइएको तलाउ नै ‘धाप ड्याम’ हो। यहाँको पानी नागमती नदी भएर बागमतीमा मिसिन्छ।
बाँधको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर छ। बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर छ। यसमा वार्षिक ८ लाख ५० हजार घन मिटर पानी सङ्कलन गर्न सकिन्छ। 
हिउँदका बेला बागमतीमा पानी कम हुन्छ। बाँधमा मनसुनको पानी सङ्कलन गरेर हिउँदमा बगाउँदा बागमतीमा स्वच्छ पानी बग्छ। यसै प्रयोजनले बाँध बाँधिएको हो। हिउँदमा प्रति सेकेन्ड चारसय प्रति लिटरका दरले बागमतीमा पानी छोडिन्छ।
सङ्कलित पानी विशेषतः सोह्र श्राद्ध, छठ, बाला चतुर्दशी, स्वस्थानी, माघे सङ्क्रान्ति, शिवरात्रि जस्ता मुख्य चाडपर्वमा बागमतीमा बगाइन्छ।

प्राकृतिक हिसाबले समेत धाप ड्याम सुन्दर छ। यहाँबाट गणेश, लाङटाङलगायत दर्जनौँ हिमसृङ्खला देख्न पाइन्छ। जङ्गल क्षेत्र भएकाले जङ्गली जनाबर, चरा र जैविक विविधता अध्ययन गर्न सकिन्छ। चैतवैशाखमा यात्रा गर्दा गुराँसको सौन्दर्यका साथै ऐंसेलु र काफल खान पाइन्छ।

तलाउ बनेसँगै धाप ड्याम पर्यटकीय स्थलका रुपमा चर्चित बनेको छ। तलाउको नजिकसम्म सडक ट्रयाक खुलेको छ। तर ड्याम क्षेत्रमा होटल तथा रेस्टुराँ सुविधा छैन । यहाँबाट ३ किलोमिटरको चिसापानीमा भने होटल सुविधा छ।

ड्याम शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा पर्दछ। त्यसैले यस क्षेत्रमा प्रवेश गर्न निकुञ्जमा टिकट काट्नु पर्दछ।
हाइकिङका थप तस्बिरहरू






















