पोखरा ।
उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’ तथ्यको बाटो सत्यको खोजीतर्फ अग्रसर रहेको भन्दै साहित्यकारले प्रशंसा गरेका छन्। नेपाली लेखक सङ्घ, गण्डकीले शनिबार पोखरामा आयोजना गरेको विमर्श कार्यक्रममा जुन सभ्यताको अध्ययन गर्नु छ, त्यही सभ्यतामै हुर्केको अनुसन्धाता भयो भने इतिहासको खास तथ्य भेट्न सकिने बताइयो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए ।
‘उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको छ। नेपालीले आफ्नो इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख लाग्छ’, उनले भने, ‘नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि हो। तर, यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक छन्।’
विदेशीले लेखिदिएको अनुवाद गरेर नेपालीले इतिहास पढ्नुपर्ने दयनीय अवस्थामा रहेकामा उनले चिन्ता प्रकट गरे। ‘राज्यले इतिहासको गहिरो अनुसन्धानतर्फ समयमै ध्यान दिनुपर्छ’, उनले भने, ‘उपन्यासकार रिजाललाई आगामी समयमा अझ जिम्मेवारपूर्वक खोजमा आधारित कलम चलाउन शुभकामना छ।’

उपन्यासको समीक्षा प्रस्तुत गर्दै समालोचक डा. भूमिराज बस्ताकोटीले उपन्यास दुल्लुमा प्रचलित लोकगाथा ‘बालाराजा काशीरामको भारत’ मा आधारित रहेको बताए। मूल विषय गाथामा आधारित भए पनि प्रेम, रीतिरिवाज, किंवदन्ती, युद्धकौशल जस्ता विषय थप्दै सुन्दर आख्यानीकरणसहित उपन्यास बुनिएको उनले उल्लेख गरे। सांस्कृतिक मूल एवम् जरा खोज्ने उद्देश्यले उपन्यास प्रेरित रहेको बताउँदै आख्यानीकरणको सिप एवम् कलात्मक मूल्यका हिसाबले उपन्यास सुन्दर बनेको जानकारी दिए।
उपन्यासमा उखान, उपमाको विशेष प्रयोग रहेको पनि उनले सुनाए। यथार्थवादी शैलीमा लेखिएको भए तापनि पूर्वाभास, चेतनप्रवाह जस्ता शैलीले उपन्यासलाई कलात्मक बनाएको भनी कलात्मक सिपको प्रशंसा गरे। युद्धकेन्द्रीत विषयभित्र पनि मानवता, प्रेम, करुणा र शान्तिलाई महत्व दिने गरी प्रस्तुत हुन सक्नु उपन्यासकारको लेखकीय सामथ्र्यको प्रशंसा गरे।
उपन्यासका केही विषयमा आफू सन्तुष्ट हुन नसकेको बस्ताकोटीले बताए। इतिहासले नखोजेको वा किनारीकृत रहेको विषयलाई उठाएर सीमान्तीय विषयकेन्द्री देखिँदा देखिँदै पनि राजामहाराजाकै विषय उजागर गर्दा उपन्यासमा विरोधाभास देखिएको उनले बताए ।
‘संस्कृतिको निरन्तरतालाई मूल केन्द्रमा उल्लेख गरेको उपन्यासकै अनुसार हामी जाँदा विकृति पनि सँगै बोकेर सभ्यतातर्फ पुग्न सकिँदैन कि भन्नेतर्फ पनि लेखक सचेत हुन सकेको भए उपन्यास अझ सुन्दर बन्थ्यो’, उनले भने।
कार्यक्रममा बोल्दै उपन्यासकार रिजालले कर्णाली केवल १० जिल्लाको भूगोल मात्र नभएको र यो सिङ्गो सभ्यताको अर्को नाम भएको बताए। यति महान् सभ्यताको अनुसन्धान हुन नसकेको र लेखिएको इतिहास पनि अपुरो एवम् तथ्यहीन रहेको कुराले उपन्यास लेख्न प्रेरित गरेको उनले बताए।
खस सभ्यता त्रिशूली हुँदै पूर्व कोशीपारिसम्मै पुगेको हुँदा यसको तथ्य खोजिनुपर्नेमा उनले जोड दिए । माटो, राज्य, संस्कृति, सभ्यता र नलेखिएको इतिहासप्रतिको मोह नै पैकेलो उपन्यासको लेखनगर्भ रहेको उनले बताए।
‘यो कर्णालीको मात्र नभई समग्र नेपालको कथा हो भनी उल्लेख गरे। मस्टालाई कुलदेवता मान्ने कर्णालीको आस्थामाथि कर्णालीको इतिहास लेख्ने कतिपय स्वघोषित इतिहासकारले प्रेतदेवता भनेर गलत तथ्य लेखिएकाले कर्णालीको इतिहासको गहिरो अनुसन्धान गरी पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ’, उनले भने।
नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीशरण अधिकारी, उपाध्यक्ष लक्ष्मण थापा र महासचिव सञ्जीव पौडेलले पनि शुभकामना दिएका थिए।