जेठ २३, काठमाडौं ।
विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंमा आयोजित “हरित काव्य गोष्ठी २०८३” मा साहित्यकारहरूले वातावरण, प्रकृति संरक्षण, जलवायु परिवर्तन, मानवीय संवेदना तथा समकालीन सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिर्जना गरिएका कविता वाचन गरेका छन्।

वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातोघर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा ज्ञानुवाकर पौडेलले “अब यो देशको उपचार हुनुपर्छ”, कृष्ण बाउसेले “लोकतन्त्रको हरियो मुकुण्डो”, अभय श्रेष्ठले “हिमालमा हिउँ छैन”, रामगोपाल आशुतोषले “पृथ्वीको शिरमाथि राखिएको हात”, यशोदा अधिकारीले “हरियो सपनाको डाम”, ठाकुर बेलबासेले “एउटा बस्तीको कथा”, मणि लोहनीले “मृत्युको पहिरो”, सुधीर ख्वाबीले “पर्यावरण मन” तथा रजनिमिला रजनीले शीर्षकविहीन कविता प्रस्तुत गरेका थिए।

त्यसैगरी हरिप्रसाद सिलवालको “धर्तीको प्रियता”, भोजराज न्यौपानेको “चराहरूको विवेक”, भोजराज रेग्मी ‘मुखाले’को “साटो हराएको सूचना”, एकता के.सी.को “पर्यावरण”, किसन पौडेलको “दोहन”, डी.बी. बर्तौलाको “बुङदल झरना”, सुरेन्द्र सुवेदीको “पर्यावरण”, डा. हिमलाल श्रेष्ठको “वनको सुवासः पृथ्वीको गीत”, अमित घिमिरेको “मान्छे हामी बन्नुपर्छ”, प्रज्वल अधिकारीको “एकदिन”, राजबाबु पहाडीको “अन्तिम मौका”, रमी प्रियाको “भोक”, धीरकुमार श्रेष्ठको “ओ महाशय !”, विश्व सिग्देलको “वृक्षरेखा पूर्णविराम थियो”, चन्द्रबहादुर लामाको “हरियो बिर्सनै सक्दिन”, भवानी खतिवडाको “मान्छे र आशा”, चैतन्य अधिकारीको “छोराको सपना” तथा सन्तोष घर्ती मगरको “शून्य गाउँ र सहर” लगायतका कविता पस्किएका थिए।
आयोजक समूहका विश्व सिग्देलले वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध जगाउन साहित्यको महत्वपूर्ण भूमिका रहने बताए।

कार्यक्रमको मध्यान्तरमा चार जना स्रष्टाका प्रकाशोन्मुख कृतिहरूको आवरण अनावरण गरिएको थियो। ती कृतिहरूमा शैलेन्द्र अधिकारीको “तेजस”, रमी प्रियाको “फुल्नुअघि नानीचा स्वां”, प्रज्वल अधिकारीको “अस्तित्वको ब्रह्माण्ड” तथा दिवाकर भट्टको “द घोस्टराइटर” रहेका थिए ।