चरा देख्नमा राम्रा हुन्छन्। तिनको चिरबिर सुन्दा आनन्द आउँछ। तर, तिनको तस्बिर खिच्न सजिलो छैन। एकाग्र भएर बसिराख्नु पर्छ। पहिला तिनका आनीबानी बुझ्नु पर्छ। गतिविधि नियाल्नुपर्छ।
नेचर फोटोग्राफीले मनमा आनन्द मिल्छ। त्यसैले फुर्सद हुनेवित्तिकै क्यामेरा बोकेर जङ्गलतिर जान्छु।
एउटा राम्रो तस्बिर खिच्न कहिलेकाहिँ त ३–४ घण्टा कुर्नुपर्छ। रित्तै हात फर्कनु पर्ने अबस्था पनि आउँछ। लामो मिहिनेतपछि आफूले खोजेजस्तै तस्बिर खिच्न पाउँदा मनमा आनन्दको लहर चल्छ। त्यही खुसी, त्यही आनन्दका लागि म चरा खोज्दै हिँड्छु।
आजसम्म तीन सयभन्दा बढी प्रजातिका हजारौं तस्बिर खिचिसकेको छु। मलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो। सन् २०१६ देखि भने मठमन्दिर र मान्छेका तस्बिर खिच्न थालें। वाइल्ड लाइफ एन्ड नेचर फोटोग्राफीतिर लागेको भने सन् २०२१ देखि मात्र हो।
बरिष्ठ फोटोग्राफर ओम यादवको ‘फोटो वाक’ले धेरै फोटोग्राफर जन्माइसकेको छ। म पनि सन् २०२१ मा फोटो वाकमा सामेल भएँ। उहाँले एक दिन हामीलाई चराको तस्बिर खिच्ने तरिका र म्याक्रो फोटोग्राफीका लागि काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा फोटो वाक राख्नु भएको थियो।
साथमा थियो, क्यामेरा ७० डी. । बिहान १० बजेसम्म फोटो वाकमा सिकेपछि त्यही दिन हामी चरा खिच्न भनेर शिवपुरीको जङ्गलमा गयौं। अहो, चरा खिच्न त निकै गाह्रो हो। मेरो लेन्सले भ्याएन।
त्यहाँबाट फर्कंदा राम्रो लेन्स किन्ने कुराकानी भयो। राती गुगलमा सर्च गरेर भोलिपल्टै पावरफुल लेन्स किनें। त्यसपछि चरा खिच्न सजिलो भयो। म राजविराजमा जन्मेहुर्केको मान्छे। पहाडी भूगोलतिर जाँदा रोमाञ्चक अनुभूति हुन्छ। फुर्सदको समयमा, नजिकको लोकेसन भएमा बिहानै गएर फर्कन्छु । बिदाका दिनमा भने काठमाडौं छेउछाउका जंगल र पहाडमा गएर खिच्छु।
टौदह, फर्पिङ, दक्षिणकाली, कटुवाल दह, गोदावरी, फूल्चोकी, लाँकुरी भन्ज्याङ, चाल्नाखेल, नगरकोट, झोर, शिवपुरी, नागार्जुन, पाँचखाल, तीनपिप्ले धेरैतिर पुगेर खिचिसकेको छु। वाइल्ड लाइफ खिच्नै भनेर हेटौंडासम्म पुगेको छु।
फोटोग्राफी मेरो सौख हो। त्यसैले चरा वा जनाबर जे भेटिन्छ, खिचिहाल्छु। काठमाडौंमा पहिलो पटक आएको चरा, ब्ल्याक न्याप मोनार्क (राज चरी) पनि खिचेको थिएँ। २७ मे, २०२३ का दिन त्रिभुवन विश्वविद्यालय हातामा मैले खिचेको राज चरी काठमाडौंमै पहिलो पटक रेकर्ड भयो। बाहिरी जिल्लामा पूर्वी तराईदेखि पश्चिम तराईसम्म भने भेटिन्छ।
हामी साथीसाथी मिलेर जंगलमा जान्छौं। कहिलेकाहिँ एक्लै पनि जान्छु। एक्लै हुँदा वनजंगलमा मनमा डर लाग्छ । तर, त्यस्तो कुनै नराम्रो घटना भएको छैन । मलाई नेपालका राष्ट्रिय निकुञ्जहरू डुलेर फोटोग्राफी गर्ने मन छ। हेरौ समय कहिले जुर्छ।
वाइल्डफाइफ बाहेक ल्यान्डस्केप र मठमन्दिर पनि मेरो रुचिका विषय हुन्। आफूले खिचेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छु। सबैबाट राम्रो प्रतिक्रिया पाएको छु। केही सामूहिक प्रदर्शनीमा पनि भाग लिइसकेको छु।फोटोग्राफीबाट मनको शान्ति मिलेको छ। आर्थिक आम्दानी गरेको छैन। कसैले किन्न चाहेमा बेच्न तयार छु। आफू खुसी हुने काम छोड्नु हुँदैन। त्यसैले वाइल्डलाइफ फोटोग्राफीलाई निरन्तरता दिइरहनेछु।
(फोटोग्राफर पाण्डे सिजी होल्डिङ्स, चौधरी ग्रुपमा आई. टी. प्रमुखका रुपमा कार्यरत छन्।)