जब जेसन ओ सलिभान म्याग्दीको नाँगीस्थित घरमा छिरे, जेनी म्याकगोवनका आँखाले विश्वासै गर्न सकेनन्।
‘म त कसैलाई खोजिरहेकी थिइनँ, किनकि हिमालयको बीचमा, पहाडको टुप्पोमा हामीले कसलाई भेट्न सक्छौं र !’ जेनीले हालै सिएनएन ट्राभलसँग खुलाइन्।
कुरा सन् २०१२को वसन्त ऋतु थियो। जेनी २१ वर्षीया शिक्षाशास्त्रकी विद्यार्थी थिइन् र कलेजले आयोजना गरेको अवसरको सदुपयोग गरी केही हप्ता अंग्रेजी पढाउन गएकी थिइन्।
जेनी आफ्नी साथी बोनिसँगै त्यहाँको विद्यालयमा स्वयंसेवकको रूपमा काम गर्दै थिइन्। जब जेनी र बोनि नाँगी आइपुगे, त्यहाँ एउटा अस्ट्रेलियाली परिवार पनि साना बालबालिकासहित स्वयंसेवक बन्न आउनेछ भन्ने कुरा हल्का उल्लेख भएको थियो।
तर जेनीको ध्यान ती स्वयंसेवकहरूमा थिएन- न त उनीहरू कहिले आइपुग्छन् भन्नेमा, न त उनीहरू कस्ता होलान् भन्नेमा। उनी त नाँगीको सुन्दर पहाडी दृश्यहरूमा रमाइरहेकी थिइन्, जुन समुद्री सतहबाट करिब २२६० मिटर उचाइमा, अन्नपूर्ण श्रृंखलाबीच अवस्थित छ। उनी नाँगीको स्थानीय समुदायसँग घुलमिल हुँदै भिन्न संस्कृति र जीवनशैलीलाई आत्मसात गरिरहेकी थिइन्।
‘त्यो साँच्चिकै अद्भुत थियो’ जेनी सम्झिन्छिन्। ‘बिहान उठेर अन्नपूर्ण देख्न पाउनु। त्यो निकै प्रभावशाली थियो। र म अंग्रेजी कसरी पढाउने भन्ने कुरा सिक्नमै केन्द्रित थिएँ।’
त्यही रात जेसन नाँगी आइपुगे। ‘त्यो रात आँधी आएको थियो र हामीले बत्ती गुमायौं’ जेनी सम्झिन्छिन्।
जेनी र उनकी साथी बोनि स्वयंसेवकको झुपडीमा मैनबत्तीको प्रकाशमा बसेका थिए, जब अचानक जेसन ढोका खोलेर भित्र पसे। उनी भर्खर २० कटेका अग्ला अस्ट्रेलियाली युवक थिए। उनको उपस्थिति पूर्ण रूपमा अप्रत्याशित थियो।
जेनी र बोनि अचम्ममा परे।
‘हामीलाई त आमा, बुबा र दुई जना साना छोराहरू भएको अस्ट्रेलियाली परिवार आउँछ भनिएको थियो। तर सट्टामा आमा, बुबा, दुई छोरीहरू र एक वयस्क भतिजा आए’ जेनी स्पष्ट पार्छिन्।
जेसन नै त्यो वयस्क भतिजा थिए- ब्रिस्बेनका एक बिजुली मिस्त्री, जसले त्यतिबेला आफ्नो अप्रेन्टिसशिप सकेका थिए र आफ्नै शब्दमा भन्ने हो भने, ‘त्यतिबेला जीवनमा केही धेरै महत्वपूर्ण गरिरहेको थिइनँ।’
जब जेसनले काकाको परिवार केही महिनाका लागि नेपाल स्वयंसेवा गर्न जाँदैछ भन्ने थाहा पाए, उनी चासो देखाए। काकासँग कुरा गरेपछि, जेसनले बिजुलीको काम र मर्मत गर्ने हेतुले नेपाल जाने निर्णय गरे।
जेसनको नेपाल यात्रा एकदमै अचानक थियो। अहिले उनी सिएनएन ट्राभलसँग भन्छन्, ‘मैले सोचें, ल ठीकै छ, म पनि जान्छु।’
नेपाल यात्रा सुरु भएपछि मात्रै उनलाई यसको जटिलता थाहा भयो।
‘उनीहरू मेलबर्नबाट उडे, म ब्रिस्बेनबाट। हामी हङकङमा भेटियौं, अनि काठमाडौं उड्यौं। त्यसपछि जीप लिएर पोखरा गयौं। त्यहाँ एक–दुई रात बितायौं। फेरि अर्को जीप लिएर बेनी गयौं, अनि अर्को जीप चढेर म्याग्दी जिल्लाको नाँगीतर्फ। त्यो यात्रा त वर्षामा तर्साउने खालको थियो।’
पहाड चढ्ने अन्तिम भाग त उनीहरूले हिंडेरै पार गरे, किनकि गाडी यात्रा एकदमै कठिन लाग्यो।
जब जेसन भिजेका कपडासहित अन्धकारमा स्वयंसेवकको झुपडीमा पसे, जेनीले मैनबत्तीको उज्यालोमा उनको अनुहारको आधा मात्र देखिन्। उनीहरूले आँखा जुधाए, र जब जेसन मैनबत्ती नजिक आए, उनीहरू दुवैको अनुहारमा अचम्मको भाव झल्किरहेको थियो।
‘म त मान्छे देख्ने आशै गरेको थिइनँ’अहिले जेसन भन्छन्।
‘तिमीले मलाई देख्ने आशा त झन् थिएन’ जेनी भन्छिन्।
‘हो, बिलकुलै थिएन’ जेसन हाँस्दै भन्छन्।
नेपालमा के हुन्छ भन्नेबारे जेसनलाई केही अत्तोपत्तो थिएन- न स्वयंसेवाको बारेमा, न देशको, न अरू स्वयंसेवकहरूको।
‘मलाई पनि थाहा थिएन’ उनी भन्छन्। ‘सबै कुरा अलमलमा थियो, अनि हामी रातको समयमा यो सानो गाउँमा आइपुग्यौं। यात्रै यात्रा जस्तो लाग्थ्यो, केही स्वप्नजस्तै।’
जेनी पनि त्यो रात जेसन देखेर धेरै अचम्मित र अन्योलमा परेकी थिइन्।
तर अर्को भाव पनि थियो- उत्साह।
‘धेरै उत्साहित’ अहिले जेनी खुलेर भन्छिन् ‘उहाँ त ठ्याक्कै मेरो प्रकारका थिए अग्ला, गोरा र बलिया। मैले सोचेँ यो मान्छे को होला?’
अर्को दिन, जेनी जेसनका साना भाइबहिनीहरूसँग खेल्दै जाँदै उनलाई चिन्न थालिन्। उनीहरू निकै माया लाग्ने थिए र खेल्न रमाइलो लाग्यो। तर जेनीले केटाकेटीहरूलाई केही सोधपुछ गर्ने मौका पनि लिइन्।
‘मैले सोधेँ, जेसन कति वर्षको हो त?’ उनीहरूले भने, ‘उहाँ २६ वर्षका हुनुहुन्छ तर अझै प्रेमिका छैन। उहाँले त अहिलेसम्म बिहे गरिसक्नुपर्ने हो’ जेनी सम्झिन्छिन्।
त्यसबेला उनले सोचेछिन्- ‘यो त राम्रो कुरा रहेछ।’
जेसनलाई पनि सुरुदेखि नै जेनी आकर्षक लागेकी थिइन्।
‘मलाई उनी रोचक लागिन्’ उनी भन्छन् ‘रोमान्स त कुनबेला भयो भन्ने छुट्याउन गाह्रो छ।’

नाँगीमा पलाएको प्रेम
केही दिनमा जेनी र जेसन एकअर्कासँग नजिकिए।
‘गाउँका बच्चाहरूसँगै पत्ते खेल्ने, बास्केटबल, डजबल, फुटबल…’ जेनी सम्झिन्छिन्।
दिनमा जेसन स्कुलमा विजुलीको काम गर्थे र जेनी अंग्रेजी पढाउँथिन्। बेलुकाको समयमा जेनीकी साथी बोनिको ल्यापटपमा सँगै बसेर फिल्म हेर्थे।
‘त्यो समय रमाइलो थियो’ जेनी भन्छिन् ‘तर हामीबीच त्यतिबेला कुनै रोमान्टिक कुरा भने भएको थिएन।’
यसको एउटा कारण थियो जेनीकी साथी बोनि प्रायः सँगै हुन्थिन्- र सधैं जस्टिन बीबरको नयाँ आएको हिट गीत ब्वाइफ्रेन्ड बजाइरहन्थिन्।
‘उनी त्यो एउटा गीत बारम्बार बजाउँथिन् किनकि ती साना छोरीहरूले त्यो गीत धेरै मन पराउँथिन्’ जेनी सम्झिन्छिन् ‘तर मलाई लाग्छ हामीले पनि त्यो गीत फेरि–फेरि बजाउँथ्यौं किनभने जेसनलाई त्यो निकै नरमाइलो लाग्थ्यो।’
जेनी र जेसनबीच केही विशेष सम्बन्ध जस्तो त देखिन्थ्यो तर जेनीलाई ठ्याक्कै थाहा थिएन जेसन के सोचिरहेका थिए भन्ने। एकपटक उनले बोनि सुतिसकेपछि आफू र जेसनले सँगै बसी डरलाग्दो चलचित्र हेर्ने प्रस्ताव गरिन्। तर जेसनले डरलाग्ने चलचित्र ‘मेरो लागि होइन’ भनेर टारेर सुत्न गएका थिए।
जेनी र जेसन नाँगीमा केही हप्ता मात्र सँगै रहे, त्यसपछि जेनी बेलायत फर्किइन्।
स्वयंसेवकहरूको झुपडीमा एउटा भित्तो थियो, जहाँ बिदाइमा जानेहरूले सन्देश लेख्न र आफ्नो इमेल ठेगाना छाड्न सक्थे। जेनीले पनि आफ्नो सन्देश लेखिन् र इमेल ठेगाना समावेश गरिन्। उनले सोचे, जेसनलाई सम्पर्कमा रहन मन लागेको भए, उसैले सम्पर्क गर्नेछ।
नेपालका पहाडहरूमा बिताएको केही हप्तापछि बेलायतको दक्षिण पश्चिममा रहेको आफ्नो सहर ब्रिस्टल फर्कँदा, जेनीलाई फरक महसुस भयो। उनी निरन्तर विद्यालय र आफ्ना विद्यार्थीहरूको सम्झनामा डुबिरहिन्। र सबैभन्दा बढी, जेसनको।
‘केही हप्ता उनी चुप रहिन’ जेनी सम्झिन्छिन् ‘अचानक, मसँग जेसन ओ सलिभानबाट इमेल आयो।’
कुनै समय जेनीले सोचेकी थिइन् ‘जेसन ओ सलिभान को हो त?’ किनकि नेपालमा उनीहरूले कहिल्यै एकअर्काको पूरा नाम भनेका थिएनन्।
तर उनले छिट्टै कुरा बुझिन् र जवाफ पठाइन्। त्यसपछि, जेनी र जेसनबीच नियमित रूपमा इमेल आदानप्रदान हुन थाल्यो। उनीहरू दैनिकीका कुरा गर्थे र नेपालमा नभएका कुरा र सम्झनाहरू पनि एकअर्कासँग बाँड्न थाले।
त्यसको केही महिनापछि जेनीले भनिन् ‘तिमीसँग स्मार्टफोन छ? यदि छ भने तिमीले व्हाट्सएप डाउनलोड गर्न सक्छौ, अनि हामी म्यासेज गर्न सक्छौं।’
‘त्यसपछि मैले दुई तीन दिनसम्म उसबाट केही सुनेँ। अनि म सोच्न थालेँ सायद उसलाई त्यो कुरा मन परेन होला। तर केही दिनपछि, उसले मलाई एउटा सानो इमेल पठायो जसमा लेखिएको थियो- ठीक छ, अहिले मसँग स्मार्टफोन छ। अब के गर्ने ? उसले हामी म्यासेज गर्न सकौं भनेर नयाँ फोन किनेर ल्याएको रहेछ।’
सन् २०१२ मा अहिले जस्तो स्मार्टफोनहरू धेरै प्रचलित थिएनन्। तर अहिले फर्केर हेर्दा, जेनी हाँस्दै जेसनलाई भन्छिन्, ‘मैले तिमीलाई २१औँ शताब्दीमा घिसारेर ल्याइदिएँ।’ जेसनले पनि स्वीकार्छन् ‘जेनीकै कारण मैले पहिलोपटक एप डाउनलोड गरेँ।’
केही महिनापछि, पहिलोपटक भिडियो कल गर्दा उनीहरूले आधुनिक प्रविधिको अझ राम्रो प्रयोग गरे।
त्यसबेला सेप्टेम्बर महिना भइसकेको थियो- नेपालमा उनीहरूको सँगै बिताएको समयदेखि धेरै महिना बितिसकेको।
फोन कल अघि जेनी अलिअलि चिन्तित थिइन्, अलिकति अवास्तविक डर पनि थियो ‘कि कतै उही जेसन नभएर म कुनै अनजान व्यक्तिसँग म्यासेज गरिरहेकी त हैन?’
‘तर जब हामी स्काइपमा गयौं, केही समयमै हामी हरेक दिन स्काइपमा कुरा गर्न थाल्यौं।’
कहीं न कहीं, जेनी र जेसन दुवैलाई प्रष्ट भइसकेको थियो कि उनीहरूको सम्बन्ध केवल मित्रताको सीमामा सीमित थिएन। जेनीलाई जेसन मन परेको पहिलेदेखि नै थियो र समयसँगै त्यो भावना झन् बढ्दै गएको थियो। जेसनले बारम्बार इमेल पठाउन थालेपछि, जेनीले पनि सोच्न थालेकी थिइन् कि जेसनका भावनाहरू पनि उस्तै होलान्।
अन्ततः एकपटक जेनीले जेसनलाई युकेमा कसैसँग डेटमा जान लागेको कुरा बताउँदा यो कुरा स्पष्ट भयो।
केही मजाक गर्दै जेसनले म्यासेज गरेर भने ‘आशा छ त्यो डेट नराम्रोसँग समाप्त होस्।’
‘किन?’ जेनीले सोधिन्।
‘किनभने म तिमीलाई मन पराउँछु’ जेसनले भने ‘सिर्फ साथीको रूपमा होइन, अझ बढी।’
जेनीले आफ्नी आमा र दिदीलाई जेसनप्रतिको आफ्ना भावनाहरू र जेसनले भनेको कुरा बताएकी थिइन्। परिवारले उनलाई आफ्नै मनको कुरा सुन्न प्रोत्साहित गर्यो तर जेनीलाई जेसनसँगको भौगोलिक दूरीको बारेमा डर थियो।
‘त्यो समय मैले हामीसँगै हुने कुनै सम्भावना देखिरहेकी थिइनँ किनकि हामी पृथ्वीका दुई फरक कुनामा बस्थ्यौं, र मैले कहिल्यै अष्ट्रेलिया जानुपर्ने सोचिरहेकी थिइनँ। त्यो त म जान चाहेको देश पनि थिएन...म त अंग्रेजी भाषा विदेशीहरूलाई सिकाउन चाहन्थेँ। र म भन्थेँ, अष्ट्रेलियामा त पहिले नै अंग्रेजी बोलिन्छ। म त संसार घुमेर पढाउन चाहन्थेँ। त्यसैले अष्ट्रेलिया मेरो सूचीमा नै थिएन’ जेनी भन्छिन्।
जब जेनीले आफ्ना साथीहरूलाई जेसनसँगको कुरा र उनीहरूले एक अर्कामा मात्रै समर्पित हुने निर्णयको बारेमा बताइन्, उनका साथीहरूले यो निर्णयलाई ‘उटपट्याङ’ भने।
‘उनीहरूले भने- तिमीहरू एक अर्कालाई देख्दै नदेखी कसरी अरूलाई नदेख्ने निर्णय गर्न सक्छौ?’ जेनी सम्झिन्छिन्।
त्यो शरद ऋतुमा, जेसन र जेनीले ग्लास्टनबरी फेस्टिभलको टिकट किन्न अनलाइन लाइनमा बसे। बेलायतमा हुने यो लोकप्रिय सङ्गीत महोत्सवको टिकट पाउन अत्यन्तै गाह्रो मानिन्छ। तर कसरी हो, जेसन लाइनको अगाडि पुगेर दुईवटा टिकट बुक गर्न सफल भए।
र त्यससँगै एउटा योजना बनाइयो। जेनी र जेसन २०१३को गर्मीमा ग्लास्टनबरीमा सँगै सहभागी हुने र जेसन एक महिना जति पहिला बेलायत आउने योजना बनाइयो।
‘ग्लास्टनबरी नै हाम्रो पुनर्मिलनको कारण बन्यो’ जेनी भन्छिन्।
जेसनका अनुसार जेसन र जेनीबीच पुनर्मिलन त कुनै न कुनै रूपमा निश्चित जस्तै भइसकेको थियो।
‘स्काइपमा कुरा गहिरिँदै जाँदा म त पहिले नै सोचिसकेको थिएँ अब म बिदामा जान्छु’ उनले भने।
सन् २०१३को मे महिनामा ग्लास्टनबरीको केही महिना अघिनै जेसन बेलायततर्फ प्रस्थान गर्यो र जेनीसँग केही महिना बस्ने योजना बनायो।
‘मेरा सबै साथीहरूले मलाई यो अत्यन्तै मूर्ख निर्णय भने’ जेनी भन्छिन्।
तर उनले आफ्ना साथीहरूलाई सम्झाउन प्रयास गरिन् कि जेसन कुनै अनजान मानिस थिएन।
‘म भन्थें- यो अनजान होइन, किनकि हामीले हरेक दिन घण्टौं स्काइपमा कुरा गरेका छौं’ उनी भन्छिन्।

अष्ट्रेलियामा पुनर्मिलन
मे २०१३मा जेसन लण्डनको हीथ्रो विमानस्थलमा ओर्लिए। सेलफोनमा जेनीको ब्रिस्टलको ठेगाना सुरक्षित थियो।
‘मलाई स्पष्ट रूपमा याद छ म लण्डनबाट ब्रिस्टलसम्म बस चढेँ, अनि बस टर्मिनलबाट ट्याक्सी लिएर उक्त ठेगानामा पुगेँ। म ट्याक्सीबाट झरेँ, माथि हेरेँ र जेनी झ्यालबाट बाहिर हेर्दै थिइन्। अनि सबै कुरा एकदमै वास्तविक लाग्न थाल्यो’ उनले सम्झिन्छन् ‘मैले ढोका ढकढक्याएँ र उनी तल ओर्लिएर ढोका खोल्न आइन्। मेरो पहिलो शब्दहरू थिए- तिमी त म सम्झेकोभन्दा झन् सानी रहेछ्यौ।’
जेसनका अनुसार एक वर्षभन्दा बढी अगाडि केही हप्ताका लागि मात्र भेटेको मानिसलाई प्रत्यक्ष देख्नु निकै अजीब अनुभूति थियो।
जेनीलाई पनि यस्तै महसुस भयो। ‘पुनर्मिलन अवास्तविक थियो’ उनी भन्छिन्।
‘एक वर्षसम्म तिमी केवल स्क्रीनमा देखिने मान्छे मात्र थियौ र अचानक तिमी साँचो बनेर मेरो अगाडि आयौ, त्यो एकदम पागलपनजस्तै लाग्यो’ उनले आज जेसनलाई भन्छिन्।
तर यो अनौठोपन चाँडै समाप्त भयो र उनीहरू स्वाभाविक रूपमा नयाँ दिनचर्यामा बस्न थाले।
अन्ततः जेसन ९ महिनासम्म जेनीसँग बेलायतमै बस्न पुगे। उनीहरूले सँगै एउटा अपार्टमेन्ट भाडामा लिए। त्यतिबेलासम्म जेनी काम गर्थिन् र जेसनले पनि एक गृह सुधार स्टोरमा जागिर पाए।
उनीहरूले बेलायत घुमे र युरोपमा बिदा बिताए, केही अद्भुत अनुभवहरू सँगाल्दै ‘स्पेनको पाम्प्लोनामा साँढेसँग दौडनु, आइसल्यान्डमा उत्तरी प्रकाश हेर्नु, जर्मनीको अक्टोबरफेस्ट...’
‘हामीले ग्लास्टनबरी पनि गरेौँ’ जेनी थप्छिन् ‘हामीले रमाइलो समय बितायौँ। आर्कटिक मंकिज मेरो मनपर्ने ब्यान्ड थियो तर त्यहाँ जेसनलाई विशाल यर्कशायर पुडिङ भाँडामा राखिएको रोस्ट डिनर चखाउन पाउँदा पनि खुसी लाग्यो।’
यी साहसिक यात्राहरूको बीचमा जोडीले भविष्यका योजनाहरू पनि बनाए। उनीहरूले बेलायतको बसाइँपछि जेनी केही समयका लागि जेसनसँग अष्ट्रेलिया जाने निर्णय गरिन।
उनीहरूले त्यहाँ गएपछि कसले सर्ने भन्ने निर्णय गर्ने योजना बनाएका थिए। त्यो बेलासम्म जेनी र जेसन दुवै निश्चित भइसकेका थिए कि उनीहरूको सम्बन्ध दीर्घकालीन हुनेछ। र उनीहरूले थाहा पाएका थिए, दुवैमध्ये कोही एकले विश्वको अर्को छेउ सर्नु पर्नेछ।
जेसन फेब्रुअरी २०१४ मा बेलायत छाडे। एक महिनापछि जेनी ब्रिसबेन (अष्ट्रेलिया) पुगिन्।
यो निकै भावुक निर्णय थियो। उनको मनले जान्दथ्यो, यो केवल सानो बिदा यात्रा होइन। यही थियो।
‘म बस्न गइरहेकी थिएँ’ जेनी भन्छिन् ‘त्यो बेलासम्म हामी निकै प्रतिबद्ध भइसकेका थियौँ। हामीले लगभग दुई वर्षदेखि एकअर्कालाई चिनेका थियौँ र नौ महिनासँगै बसिसकेका थियौँ। जबसम्म मलाई अष्ट्रेलिया मन पर्दैनथ्यो, हामी त्यहीँ बस्ने योजना गरेका थियौँ।’
उडानभन्दा एक दिन अगाडि जेनी आमासँग बसको भुइँमा बसेर खाली सुटकेस अगाडि राखेर बसिन्।
जेनी र जेसन २०१८मा पहिलो भेटेको दिनको छैटौँ वार्षिकोत्सवमा विवाह गरे।
‘हामी पहिलोपटक पहाडमा भेट्यौँ। अनि पहाडमै बिहे गर्यौँ’ जेसन भन्छन्।
विवाह अष्ट्रेलियाको सनशाइन कोस्ट हिन्टरल्याण्डमा रहेको ग्लास हाउस माउन्टेन्समा सम्पन्न भयो।
त्यो पहाडी स्थानले उनीहरूको नेपालमा सुरु भएको प्रेमकथालाई सम्मान गरेको जस्तो भयो। साथै, जेनीले समारोहस्थलमा बेलायती र अष्ट्रेलियाली विषयवस्तुहरू मिलाएर सजावट गरेकी थिइन्।
विवाह ‘डाँडामा टेन्टमा गरिएको पार्टी’ जस्तै थियो, जेसन सम्झन्छन्। ग्लास्टनबरी फेस्टिवलको प्रभाव उनीहरूको प्रेमकथामा गहिरो भएकाले त्यो उत्सव शैली निकै उपयुक्त लाग्यो।
विवाह साधारण र रमाइलो थियो।
‘त्यहाँ टाको ट्रक र पिज्जा ट्रक थियो’ जेनी सम्झिन्छिन्।
विवाहपछि जेसनको थर लिएर जेनी ओ सलिभन भइन्।
‘एउटा टेन्टभित्र ब्यान्ड थियो। माटो, धेरै माटो’ जेसन थप्छन्।
यो उनीहरूको नयाँ अध्यायको लागि एकदम उपयुक्त उत्सव थियो।
‘म एक सुटकेस मात्रै लिएर गएकी थिएँ’ जेनी भन्छिन्।
उनी नयाँ जीवनका लागि ल्याउने कुराहरू छानेर लैजाँदै थिइन्। जेनीले आफ्ना कपडाका सामान आमालाई देखाउँदै भन्थिन् ‘कुन लैजाने, कुन थ्रिफ्ट स्टोरमा दिने।’
उनीहरू व्यवहारिक रूपमा सोचिरहेका थिए तर अचानक जेनी रुँदै निहुँरिइन। उनलाई आफैंले गरेको निर्णयको वास्तविकता एक्कासी महसुस भयो।
‘साँच्चै वास्तविकजस्तो लाग्यो। म सबैथोक छाडेर गइरहेकी थिएँ। संसारको अर्को छेउ सर्नु अलिकति डराउने कुरा थियो’ उनी भन्छिन् ‘त्यहाँ मलाई चिनेको एकजना मात्र थिए जेसन। न मसँग कुनै साथी थिए, न काम तय भएको थियो। मैले कहिल्यै अष्ट्रेलिया गएको पनि थिइनँ।’
अष्ट्रेलियाबारे थोरै ज्ञान पनि उनले ‘नेबर्स’ नामक सोप ओपेरा धारावाहिक हेरिरहेका बेला सुनेकी थिइन्।
तर जेनीकी आमाले उनलाई मनको कुरा सुन्न र ब्रिस्बेन जाने हौसला दिइन्। र जेनी जेसनसँग पुनर्मिलन भएपछि थाहा पाइन्- अष्ट्रेलिया जाने निर्णय सही थियो। समयसँगै उनी नयाँ जीवनमा घुलमिल भइन्।
केही वर्षभित्रै उनीहरूले आफ्नै सपनाको घर बनाउने काम सुरु गरे।
‘हामी ६ अप्रिल २०१२मा भेटेका थियौँ। ६ अप्रिल २०१५ मा जग्गा किन्यौँ र ६ अप्रिल २०१८मा बिहे गर्यौँ’ जेनी भन्छिन्।

विवाह, जीवन र स्मृतिहरूको अर्को अध्याय
आज जेनी र जेसन अझै पनि अष्ट्रेलियाको ब्रिसबेनमा बस्छन्। जेसन पूर्वाधार क्षेत्रमा काम गर्छन् भने जेनीले रू एन्ड रेन नामक अनलाइन व्यवसाय सञ्चालन गर्छिन्, जहाँ उनी व्यक्तिगत आभूषण र हस्तनिर्मित उपहारहरू बिक्री गर्छिन्।
उनीहरूका दुई जना साना बच्चाहरू छन् र समय–समयमा उनीहरूलाई ‘घाम लागेको बेलायत फर्काउने’ इच्छा हुन्छ, जेसन भन्छन्। भर्खरै मात्र उनीहरू जेनीकी बहिनीको विवाहमा सहभागी हुन बेलायत फर्किएका थिए।
‘अभिभावक बन्नु उत्तम अनुभव हो तर धेरै मिहिनेतपूर्ण पनि’ जेसन भन्छन्।
‘सुरुमा धेरै गाह्रो भयो किनभने मेरो परिवार बेलायतमा छ र जेसनको परिवार केयर्न्स नजिकै’ जेनी पनि सहमत हुन्छिन् ‘तर अहिले हामी हाम्रो परिवारसँग एकदमै खुसी छौँ, अनि अब त सबै कुरा मिलाउनु पनि जानिसकेका छौँ!’
उनीहरूको परिवार बेलायती र अष्ट्रेलियाली परम्पराहरूलाई आत्मसात गर्दै रमाइलो गर्छन् र कहिले काहीँ त दुवै परम्परालाई मिसाएर नयाँ परम्परा बनाउँछन्। क्रिसमसको बेला जस्तो जेनी भन्छिन्, ‘हामी क्रिसमसको दिन पूरा बेलायती क्रिसमस लञ्च खान्छौँ तर दिउँसो चाहिँ झिँगे माछा पनि हुन्छ अनि हाम्रो बगैँचामा पानी पार्कसमेत खोलिन्छ।’
बच्चालाई नेपाल घुमाउने इच्छा
आज जब उनीहरू नयाँ मान्छेहरू भेट्छन्, धेरैले जेनी र जेसनको भेट अष्ट्रेलियामै भएको ठान्छन्। बेलायतीहरूले अष्ट्रेलिया सर्ने वा अष्ट्रेलियालीहरूले बेलायत जाने चलन भएकाले यस्तो अनुमान अस्वाभाविक होइन।
मानिसहरूले उनीहरूको प्रेमकथाको सामान्य रूप अनुमान गर्छन्। अनि त्यसबेला जेनी हिमाल, तीन दिनको पैदल यात्रा र मैनबत्तीको उज्यालोमा पहिलो नजरको कथा सुनाउन थाल्छिन्।
‘जब म साँचो कथा सुनाउँछु मलाई आफैंलाई लाग्छ मानौँ म बनाइरहेकी छु जस्तो लाग्छ’ जेनी भन्छिन्।
अहिले त्यो पहिलो नजरको झिल्को देखिएको दिनबाट १३ वर्ष बितिसकेको छ।
‘त्यो सम्भावना अत्यन्तै न्यून थियो तर त्यो क्षणले जीवन नै बदलिदियो’ जेसन सम्झन्छन्।
‘हाम्रो बाटो एकै ठाउँमा जुधेकोमा म साँच्चै भाग्यमानी ठान्छु’ जेनी भन्छिन्।
उनीहरू २०१७को अप्रिलमा भेटेको पाँच वर्ष पुगेको सम्झनामा फेरि सँगै नेपाल फर्किए। तर उनीहरू नाँगी गाउँ पुगेनन्। जेसन भन्छन्, ‘त्यहाँ पुग्नु नै एउटा ठूलो व्यवस्थापनको विषय हो।’
तर उनीहरूको फेरि त्यहीँ ठाउँमा पर्किने इच्छा छ जहाँ पहिलोपटक आँखा जुधेको थियो।
‘कुनै दिन हामी फेरि नाँगी जानेछौँ। बच्चाहरूलाई पनि लैजानेछौँ’ जेसन भन्छन् ‘त्यो त एकदम गज्जब हुनेछ।’
-सिएनएन ट्राभलबाट