काठमाडौं। आज असार १५, राष्ट्रिय धान दिवसका रूपमा मनाइँदैछ।
यो दिनलाई नेपालमा ‘दही–चिउरा खाने पर्व’का रूपमा पनि चिनिन्छ। वर्षा यामको सुरुमा पर्ने यो पर्वलाई किसानहरू खेतमा धान रोप्दै, रमाइलो गर्दै र दही–चिउरा खाएर मनाउँछन्।
नेपाल कृषिप्रधान देश भएकाले असार महिनामा किसानहरू वर्षभरको खाद्यान्न उत्पादन गर्न खेतमै व्यस्त हुन्छन्। आजका दिन खेतमा रोपाइँसँगै छुपुछुपु हिलोमा रमाउने, लोक भाका गाउँदै सामूहिक काम गर्ने र दही चिउरा खाएर शक्ति संचित गर्ने चलन छ। दही चिउरा खानाले शरीरमा चिसोपन ल्याएर उर्जा दिने जनविश्वास रहिआएको छ।
धार्मिक र सांस्कृतिक दृष्टिले पनि दहीलाई शुभ मानिन्छ। घरबाट बाहिर निस्कँदा वा शुभ कार्य अगाडि निधारमा दहीअक्षता र रातो टीका लगाउने परम्परा छ। त्यस्तै स्वास्थ्यका दृष्टिकोणले पनि दही र मोहीलाई लाभदायक मानिन्छ। आयुर्वेदमा भोजनपछि मोही पिउनु औषधिसरह मानिन्छ।
राष्ट्रिय धान दिवसको रुपमा असार १५ मनाउने निर्णय पहिलो पटक २०६१ सालमा मन्त्रीस्तरीय निर्णयबाट भएको थियो। त्यसयता यो दिन किसान, कृषि विज्ञ र सर्वसाधारणले खेतमा धान रोपेर, गीत गाउँदै र दही–चिउरा खाएर मनाउने परम्परा बसालिएको छ।
यसरी, असार १५ आज नेपाली समाजको श्रम, संस्कार र स्वाद तीनै पक्षको संगम बनेको दिन हो।