काठमाडौं। नेपाल सरकारले चीनसँग सीमा जोडिएका हिमाली भेकलाई निषेधित क्षेत्रका रुपमा राखेकाले स्थानीयले धेरै किसिमका समस्या झेल्नु परिरहको छ। विशेषतः कुनै समस्या आउँदा उद्धारका लागि हेलिकप्टर उडाउन उनीहरूले महङ्गो शुल्क तिर्नु पर्दछ भने उडान अनुमति लिन पनि सकस छ।
अर्कोतिर पर्यटकले समेत महङ्गो प्रवेश शुल्क तिर्नु परिरहेको छ। त्यसैले मनास्लु क्षेत्रलाई निषेधित क्षेत्रको सूचीबाट हटाउने माग गर्दै मनास्लुबासी बर्षौंदेखि आन्दोलित छन्। तर, सरकार कानमा तेल हालेर बसेको छ। टान, पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघजस्ता संस्थाले पनि सरकारलाई प्रभावकारी दबाब सिर्जना गर्न सकेका छैनन्।
मनास्लु हिमाल।
मनास्लुका अग्रणी पर्यटनकर्मी लाक्पा ढुण्डुप लामाको अगुवाइमा डेढ दशकभन्दा लामो समयदेखि मनास्लुमा खुला पर्यटन नीति लागु गराउने आन्दोलन चलिरहेको छ। तर, सरकारले उनीहरूलाई टेरेको छैन।
‘हामीले पटक-पटक सरकारको ध्यानाकर्षण गराइसक्यौं’, पर्यटन अभियन्ता लामा भन्छन्, ‘तर सरकारले हामीलाई सुनेन। हामी भोटेलाई हेप्यो।’
विगतमा यिनै पर्यटन अभियन्ताको नेतृत्वमा नुब्री सांस्कृतिक युवा उत्थान समितिले काठमाडौंस्थित सिंहदरबार घेराउ गरेको थियो।
‘निषेधित क्षेत्र खुला गराउन हामी फेरि सिंहदरबार घेराउ गर्न तयार छौं’, लामा भन्छन्, ‘अब हामी मनास्लुको मात्र होइन, अन्यायमा परेका मुस्ताङ, डोल्पा लगायतका जिल्लाका बासिन्दा सबै मिलेर आन्दोलन गर्नेछौं।’ मनास्लुझैं मुस्ताङ पनि आन्दोलित छ।
लाक्पा ढुण्डुप लामा, पर्यटन अभियन्ता
स्मरणीय छ, मनास्लु घुम्ने विदेशीले सिजनमा (सेप्टेम्बरदेखि नोभेम्बरसम्म) एकहप्ता पदयात्रा गर्न एकमुष्ट सय डलर ‘रेस्टिक्टेड पर्मिट शुल्क’ तिर्नु पर्दछ। त्यसपछि थप एक दिनको १५ डलरका दरले तिर्दै जानुपर्छ। बाँकी समय अर्थात् अफ सिजनमा एक हप्ताको ७५ डलर र थप दिनको १० डलरका रुपमा तिर्नु पर्दछ।
यसबाहेक स्थानीय चुमनुब्री गाउँपालिका, एमक्याप र एक्यापले पनि शुल्क असुल्छन्। यसरी धेरै किसिमको शुल्क तिर्नु पर्दा पर्यटकले ठगिएको अनुभूति गरिरहेका छन्।
खुला पर्यटन नीति लागु गरेमा मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्ने र यसले आर्थिक समृद्धिमा योगदान पुर्याउने स्थानीयको आशा र विश्वास छ।
मनास्लु क्षेत्रमा नुब्री भ्याली र चुम भ्याली पर्दछन्। मनास्लु हिमाल (८,१६३ मिटर) नुब्री भ्यालीमा पर्दछ। अधिकांश पर्यटक नुब्री भ्याली घुमेर लार्के भन्ज्याङ झरेर मनाङ पुग्छन् भने कतिपय अहिंसा क्षेत्रका रुपमा चिनिएको चुम भ्याली मात्र घुम्छन्।
१७ वर्ष सिंगापुर बसेर फर्केपछि वि.सं. २०६५ देखि मनास्लुको काँचुली फेर्ने अभियानमा समर्पित अभियन्ता लाक्पा ढुण्डुप लामासँग एभरेस्ट पेडियाले पर्यटनको विषयमा कुराकानी गरेको छ। प्रस्तुत छ उनको जवाफ: