काठमाडौं । आगामी दशैँ–तिहारलगायत चाडपर्व मनाउन राजधानी काठमाडौंबाट पाँच दिनमै एक लाख ८९ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत कुल १,८९,२१८ यात्रु उपत्यका छाडेका हुन्। प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरूका अनुसार अध्ययन, व्यापार र रोजगारीका कारण उपत्यकामा रहेका नागरिक दशैँका लागि आफ्ना घर फर्किन थालेका हुन्। ती यात्रुहरू थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका छन्।
उक्त अवधिमा असोज १ गते ३४,५५६, असोज २ गते ३६,१००, असोज ३ गते ४०,५५५, असोज ४ गते ३४,८७९ र असोज ५ गते ४३,१२४ यात्रु राजधानीबाट गएका छन्।
यस वर्ष सडकको कमजोर अवस्था र लगातार वर्षाका कारण आवतजावतमा समस्या देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार राजमार्गमा पहिरो खस्दा सवारीहरू घण्टौँसम्म बाटोमै रोकिन बाध्य छन्। उनले समयमा सडक सञ्चालन गर्न सरकारले चाँडो पहल गर्नुपर्नेमा जोड दिए।
यात्रु चाप बढेसँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा पनि भीड बढेको छ। बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार सामान्यतया दैनिक चार–पाँच हजार हाराहारीमा यात्रु बाहिरिने गरे पनि हाल उक्त संख्या बढेर १५ हजारभन्दा बढी पुगेको छ।