काठमाडौं। अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले उत्तर अमेरिकाको सबैभन्दा अग्लो शिखर डेनालीको सफल आरोहण गरेका छन्।
बुढा मगरले आफ्नो सामाजिक सञ्जाल मार्फत यो उपलब्धिको घोषणा गर्दै लेखे, “हामीले २८ जुन २०२४ को साँझ ७ः३० बजे उत्तर अमेरिकाको सबैभन्दा अग्लो डेनाली हिमालको आरोहण गरेका छौं। जीवन भनेको अनुकूलनको हो, केही पनि असम्भव छैन।“यो आरोहणसँगै बुढा मगर डेनाली शिखरमा पुग्ने पहिलो घुँडामाथिको एम्प्युटी (दुवै खुट्टा गुमाएका व्यक्ति) बनेका छन्। उनले आफ्नो आरोहण अभियानमा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्।
यसअघि मे २०२३ मा बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्वकै पहिलो डबल एम्पुटी (घुँडामाथि दुवै खुट्टा गुमाएका) व्यक्तिको कीर्तिमान राखेका थिए।
हरि बुढा मगरको यो उपलब्धिले शारीरिक चुनौतीहरूलाई पार गर्दै असीम साहस र दृढ संकल्पको प्रतीक बनेको छ। उनको यो सफलताले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा दिनुका साथै मानव क्षमताको सीमा नभएको सन्देश दिएको छ।
को हुन् बुढा मगर?
रोल्पाको मिरुलस्थित दुर्गम जेबारी गाउँमा जन्मेका उनि अफगानिस्तानको युद्धबाट बाँचेका एक योद्धा हुन्। उनको परिचय एडभेञ्चर हिरोको रुपमा पनि स्थापति छ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएपछि उनको जीवनले नयाँ मोड लियो। त्यो भयानक घटनापछि उनी विभिन्न साहसिक गतिविधि र खेलकुदमा व्यस्त हुन थाले। उनले शारिरिक अपाङ्गतालाई अवसरमा बदले। साहसिक गतिविधिमा अनेकौँ कीर्तिमान कायम गर्न सफल हरि एक असाधारण, साहसिक र उत्साही व्यक्ति हुन्।
सबै तस्बिरहरु: हरी बुढा मगर