जलवायु परिवर्तन, वासस्थान विनाश, कृषिमा विषादीको अत्यधिक प्रयोग, सिमसारको अतिक्रमण, शिकारी जनावर र वनजङ्गलको विनासका कारण यतिबेला चरा अति संकटमा परेका छन्। सन् १५ सयपछि हालसम्म संसारबाट डोडो, प्यासेन्जर पिजन, ग्रेट औकलगायत एक सय ६० प्रजातिका चरा लोप भइसके। चरा लोप हुनुमा प्रकृतिको मौन संकट हो र मानव सभ्यतामाथिको चुनौती पनि।

बुटवलका प्रतिभाशाली कलाकार एचबी रम्तेलका कलाकृती हेर्दा मनको पीडा हराउँछ ।
धनुषाको जनकपुरमा सन् २०२६ अक्टुवर ५ तारिखमा भेटिएको कलरेड किङफिसरलाई अन्तिम गणना मान्दा नेपालमा नौ सय चार प्रजातिको चरा पाइने कुरा नेपाली पंक्षीविज्ञ संघका केन्द्रीय अध्यक्ष हाथन चौधरीले बताए।

नेपालमा चरासम्बन्धि काम गर्ने गैरसरकारी संस्थामध्ये नेपाल पंक्षी संरक्षण संघ, नेपाली पंक्षीविज्ञ संघ, हिमालयन नेचर र फ्रेन्ड्स अफ नेचर लगायत नाम चलेका संस्था छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभागजस्ता सरकारी निकायले समेत चरा संरक्षणमा सक्दो योगदान दिइरहेका छन्।

चरालाई मुख्य थिम बनाएर कलाकार एचबी रम्तेलले चराकै चित्र बनाउन थालेको करिब दुई दशक नाघ्यो होला। उनी भन्छन्–चराका कुनै ऐन, कानुन र नियम छैनन् तर उनीहरू अनुशासित छन्। भविष्य सोचेर मानिस बढी दुःखी छ तर चरा विन्दास। मानिससँग सबै चीज भएर पनि चिन्तित छ तर चरासँग केही नभएर पनि सुखी देखिन्छ। चरासँग कला छ। क्षमता, श्रमशीलता र एकाग्रता भएकै कारण ससाना झिंजा बटुलेर कलात्मक र बलियो गुँड बनाएको देख्दा दङ्ग पर्छु।’

कलाकार रम्तेल चरालाई प्रकृतिको अनुपम उपहार मान्छन्। वास्तवमा चरा विश्वव्यापी हुन्छ, एउटै भावना बोकेर एउटै आकासमा उडेको हुन्छ। उसको कुनै भूगोल हुँदैन। चरासँग भावनाको विराट रुप भेटिन्छ।
यी कलाकारले बुटवलको अमरपथ लाइनमा एचबी आटर््स पसल खोलेर कलाकर्म गरे। त्यसैबाट गुजारा चलाए। परिवारको शिक्षादीक्षा, पालनपोषण र स्वास्थोपचारमा उनलाई यही पेसाले धान्यो।

उनी नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीका पूर्व अध्यक्ष हुन्। यतिबेला सल्लाहकारको भूमिकामा छन्। अरनिको प्रतिष्ठानका केन्द्रीय सचिव पनि हुन्।

राजनीतिमा पनि सक्रिय छन्। उनी वि.सं. २०४९ सालमा जिविस, रुपन्देहीका सदस्य भए। २०५४ सालमा रुपन्देहीको टिकुलीगढ गाउँ विकास समिति, वडा नं. ८ को वडाध्यक्षमा निर्वाचित भए। वि.सं. २०७४ सालमा तिलोत्तमा नगर, नगरकार्यपालिकाका सदस्य सदस्य बनेर राजनीतिमार्फत् सामाजिक सेवामा तल्लीन भए।

चरासँग उनको अनौठो सम्बन्ध रहेछ। उनी बिहान उठ्नेबित्तिकै चरालाई बोलाएर विस्कुट, रोटी वा बासी भात खुवाउँछन्। चरा उनको निम्तो स्वीकार गर्छन्। त्यो कर्म नगरी अरु काम थाल्दैनन्।

चरालाई खुवाउने अरु को छन् ? मै त हुँ, स्याहारसुसार गर्ने भन्ने उनलाई लाग्दो रहेछ। चरा साना होऊन वा ठूला, ठूँड होस् वा नहोस्। तर चरामा धैर्यता र सहनशीलता प्रशस्तै हुने भएकाले चराको चित्र बनाउने योजनाका साथ जीवनभर गतिशील हुने उनको इच्छा छ।

चरा हुनका लागि मुख्य तीनवटा कुरा अति आवश्यक हुँदा रहेछन्। पहिलो कुरा, चुच्चो हुनुपर्छ। दोस्रो कुरा, चराको शरीरमा प्वाँख हुनुपर्छ। तेस्रो कुरा, चराले अण्डा पार्नु अनिवार्य हुन्छ। यी तीन विशेषताले नै चरा कहलिन्छ। यो कुरा मैले प्राध्यापक हुमकान्त पाण्डेयबाट थाहा पाएको हुँ।

कलाकार रम्तेल प्रकृतिमा बसेर प्रकृतिको गुणगान गाउने कलाकार हुन्। उनलाई चरासँग कावा खान मन छ। उनी भन्छन्– चराको न कुनै देश छ, न उसलाई कतै जान पासपोर्ट र भिसा चाहिन्छ। चराजस्तै स्वच्छन्द उड्न मन सबैलाई हुन्छ तर कल्पनामा मात्र ।’

उनी सन् १९६० मा मलेसियामा जन्मिएका हुन्। सन् १९७० मा बाबा रणबहादुरसँगै उनी नेपाल आए। रणबहादुरका बाबा तनहुँबाट बर्मा पुगेका रहेछन्। उनी दोस्रो विश्वयुद्धमा मलायका तर्फबाट प्रत्यक्ष लडाकू समेत रहेछन्। युद्ध रोकिएपछि उनीहरूलाई नागरिकका तर्फबाट मलेसियामा बसाइएको रहेछ तर उनीहरू वि.सं. २०२८ मा नेपाल फर्किए।

एचबी र दीलमायाका तीन सन्तानमध्ये छोरी सन्ध्या बुटवलमै ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी छिन् भने जेठो छोरो जीवन आर्किटेक्ट इञ्जिनियर छन्। कान्छो छोरो आशीष नीजि कम्पनीमा एकाउन्ट हेर्ने जागिरमा छन्।

उनकी जीवनसाथी दिलमाया पतिले बनाएका चराका चित्र हेरेर मख्ख पर्छिन्। कलाकार एचबी पनि चराका चित्र बनाउँदा र तिनलाई हेर्दा आफ्ना पीरव्यथा बिर्सन्छन्। पीडा भूल्ने र सुख बाँड्ने बाटो बनेका छन् यी चित्र।

अन्त्यमा मेरो आफ्नै कविता :
चरासँगै उड्न मन छ !
दलबहादुर गुरुङ
हिँड्न सकें
दौडिन सकें
सोच्छु
म किन उड्न सकिनँ !
कहिलेकाहीं मुग्ध हुन्छु,कल्पनामा
एकोहोरो उडिरहेको हुन्छु
कावा खाँदै
पखेटा फिँजाउँदै
पुगेको हुन्छु लाम्टाङ
छोएको हुन्छु कञ्चनजंघा
हेरेको हुन्छु नाम्चेबजार
देखेको हुन्छु सगरमाथा !
झस्किँदा
हुन्छु
उही घर
उही कोठा
लाग्छु म
आर्चियोटेरिक्स हुँ
आदिम चरा ।
खुल्ला आकासमा
उड्न मन छ चरासँगै
लुक्न मन छ बादलसँगै
हराउन मन छ हुरीसँगै
लड्न मन आँधीसँगै !
ए चरा !
उड्न मन छ तिमीसँगै
गुँड बनाउन मन छ रुखमा
ओसारेर,झिंजाहरू
परालका त्यान्द्राहरू
बाबियाका सराहरू
बन्ने रहर छ
तिमीजस्तै श्रमजीवी
तिमीजस्तै कर्मशील
तिमीजस्तै लगनशील
कोरल्नु छ भविष्य
बनाउनु छ वर्तमान
सम्झिनू छ भूतकाल !
हो ! चरा
तिमीजस्तै उड्नू छ मलाई
विनाराहदानी र टिकट
तिमीजस्तै पुग्नु छ
प्रकृतियुक्त एयरपोर्ट !
जहाँ पाइन्छन्
स्वच्छ वायु
र
लामो आयु !
