पोखरा। पोखरा २६ मा रहेको अल्फा एकेडेमीमा प्राथमिक तह (१–५) स्तरीय अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका साप्ताहिक शुक्रबारे कार्यक्रमअन्तर्गतको सो कार्यक्रममा ३, ४ र ५ कक्षाका एक एक जना गरी हरेक सदनबाट ३ जना विद्यार्थी सहभागी भएका थिए।
मन्सु परियार (५), निशान शाह (४) र सज्जन चापागाईँ (३) सम्मिलित पहेँलो सदनले अन्य तीन सदनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका थिए। विद्यालयका शिक्षिकाद्वय ज्योति रानाभाट, पार्वती पतानी निर्णायकका रूपमा रहेका थिए।
साथै निर्णायक सहयोगीमा शिक्षक सफल रानाभाट रहेका थिए । विद्यार्थीको पठन सिप विकास गर्ने उद्देश्यले आयोजित सो कार्यक्रमलाई समय निर्धारण चरण, श्रुतिलेखन चरण, शब्दोच्चारण चरण, कथापठन, संवादपठन, कवितापठन, समाचारवाचन गरी विभिन्न सात चरणमा विभाजन गरी सम्पन्न गरिएको निर्णायक ज्योति रानाभाटले जानकारी दिइन्।
विजयी विद्यार्थीहरूलाई पछि विशेष कार्यक्रमका अवसरमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ। विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने गरी विद्यालयले सबै तहका विद्यार्थीमा केन्द्रित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजु सुनारले जानकारी दिए।