मकालु पदयात्रा- २।
‘बिहान सकेसम्म चाँडै हिँड्नु’ अघिल्लो रात सुवेदीनी दिदीले सम्झाएकी थिइन्, ‘हिउँमा हिँड्न सजिलो हुन्छ।’
तर, १४ घण्टाको उकालो हिँडाइले थाकेको शरीर बिहान चाँडै उठ्न कहाँ मान्छ र ! खोङ्माबाट हिँड्दा आठै बजिसकेको थियो। होटलमा भएका अरू सबै पदयात्री हिँडिसकेका थिए। माथि जानेहरू मात्रै होइन, फर्किनेहरू पनि।
खोङ्माबाट पनि बाटो उस्तै हो, उकालै-उकालो। अहिले बाटो हिउँले पुरै छोपिएको छ। यता कम्तिमा दुई फिट बाक्लो हिउँ जमेको थियो। कतैकतै चाहिँ अझै बाक्लो। हिउँमा बाटो भन्नु आफूभन्दा अघि हिँडेका मानिसका पाइला हुन्। हिमपातपछि अब हिँड्न सकिन्छ भन्ने भएपछि स्थानीय हिँडेर बाटो बनाइदिन्छन्। अनि तिनकै पाइला पछ्याउँदै पदयात्री र पथप्रदर्शक तथा भरियाहरू हिँड्छन्। यो बाटोमा हामीभन्दा अघि जो-जो हिँडेर गए, ती सबैसबैलाई धन्यवाद। उनीहरूले हामी हिँड्ने बाटो बनाइदिए र हिउँमा हिँडेको अनुभव नै नभएका हामी दुई हिँड्न सक्यौं।
-1746000736.jpg)
लगभग एक घण्टा कस्सिएर चढेपछि भ्युप्वाइन्ट आउँछ। यहाँ भ्युटावर पनि बनाइएको छ। हामी भ्युटावरमा चढ्यौं। यहाँ घाम लागिरहेको भएपनि वारिपारि भने केही देखिएको थिएन। यहाँबाट फक्ताङलुङ हुँदै कञ्चनजङ्घासम्मका हिमाल देखिन्छ भनेर मलाई काठमाडौंबाटै मित्र इन्सुहाङ राईले बताइरहेका थिए। उनी यतै आसपासका रैथाने राई हुन्। सेदुवामा चियापसल छ। म आउँदा उनी काठमाडौंमै थिए। तर, फोनबाटै उनले मलाई कहाँ बस्ने, बाटोमा छुटाउनु नहुने ठाउँ के-के छ? सबै बताइरहेका थिए। उनले यति धेरै ठाउँबारे बताइरेहका थिए कि दुई हप्ता त मज्जाले यही रूटमा बिताउन सकिन्छ जस्तो भइरहेको थियो। यताको वास्तविकता अर्कै थियो। उनले बयान गरेको सुन्दर दृश्य म कल्पना गरिरहेको थिएँ। त्यो दृश्य यही बाटोमा देखिन्छ होला र? भनेजस्तो भइरहेको थियो। हामी हिँडेको बाटो त वारिपारि केही नदेखिने गरी कुहिरोले गमक्क बनाएको थियो।
भ्युटावरबाट उकालो लागेपछि सुरू भयो हिउँसँगको संघर्ष। हामी भिरको टुप्पैटुप्पो हिँडिरहेका थियौं, उकालैउकालो। यसमाथि हिउँ जहाँ टेक्यो, त्यहाँ भ्यासभ्यास गाडिने भइसकेको थियो। एक त भासिएर अड्किएला भन्ने डर, अर्कातिर छेउमा टेकिएला र चिप्लिएला भन्ने डर। डरैडरमा हामी हिँडिरह्यौं।
-1746000740.jpg)
बाटोमा हामीले एकजना दिदीलाई भेट्यौं, तल झर्दै गरेकी। ती शेर्पेनी दिदीले पनि गुनासो गरिन्, ‘साह्रो भास्सिराको रछ आज त, हिँड्नै नसक्ने भएछ।’
ती दिदीले यति भनेपछि मन एक हिसाबले ढुक्क भयो। अनुभव नभएर हिँड्न ढङ्ग नपुगेको होइन रहेछ, हिउँ नै उस्तो रहेछ। दोष अर्कामाथि खन्याउन पाएपछि हलुको हुन्छ, मानव मनको स्वभाव हो। यसबारे स्टेभेन पिंकर के भन्छन् कुन्नी?
निकिनले किताब ल्याइदिएको छ बैंग्लोरबाट- पिंकरको ‘हाउ माइन्ड वर्क्स’। यो किताब न्युरोसाइन्सले मनका बारेमा पत्ता लगाएका नवीन जानकारीका आधारमा मानव मनले कसरी काम गर्छ भन्ने बुझाउन खोजेका छन्। मानिसको सोच्ने शक्ति र चेतना आत्मामा निहित कुनै बाह्य प्रक्षेपण होइन बरू यही जैविक शरीरको उपज हो। सम्पूर्ण शरीरसँग कुनै न कुनै रूपमा जोडिएका तर मष्तिष्कलाई केन्द्र बनाएर काम गर्ने स्नायुहरूमा उत्पन्न हुने तरङ्गको समग्रता नै मन हो, जसले सोच्छ।
-1746000746.jpg)
भर्खरै हात परेको भएर धेरै पेज पढिसकेको छैन तर सुरूवातमा जति पढेँ, त्यहाँ बुद्धको प्रतिछाया पाउँछु। यी मनोवैज्ञानिक र लेखकलाई बुद्धको शिक्षाबारे सम्भवत थाहा छैन होला। उनी न्युरोसाइन्सको भाषा लिएर मनबारे बताइरहेका छन्। उनी भन्छन्- हाम्रो मनले यसरी काम गर्नुमा उद्विकासको चरणमा हामीले दैनिक भोग्ने साना-ठूला संकटहरूका कारणले हो।
मूलत मनलाई इन्द्रीयहरूले प्रभावित पार्छन्– पाँच इन्द्रीयले। पिंकरको भनाइमा मष्तिष्क एउटा अंग नभएर विभिन्न अंगको समूह हो, जसमा इन्द्रीयहरू पनि जोडिएका हुन्छन्। यी इन्द्रीयबाहेक छैटौं इन्द्रीय पनि हुन्छ, जसले मलाई धेरै प्रभाव पार्छ- मन स्वयम्।
यता बुद्ध भन्छन्:
मनो पुब्बङ्गमा धम्मा, मनो सेट्ठा मनोमया।
मनसा चे पसन्नेन, भासति वा करोति वा।
ततो नं सुखमन्वेति, छाया'व अनपायिनी।
मन नै सबै कुराको अगुवा हो, मन नै श्रेष्ठ हो, मन नै सबै कुराको कारण हो। जो शुद्ध मनले बोल्छ वा कर्म गर्छ, सुख उसको पछिपछि आउँछ, जसरी छाया वस्तुको पछिपछि आउँछ।
बुछले छ इन्द्रीय हुन्छ भनेका थिए। छैटौं इन्द्रीय मन आफैं थियो। अहिले पिंकर यही कुरा गरिरहेका छन्- विज्ञानको भाषाबाट।
सायद, यही जालिम मन नै हुनुपर्छ, जो बारबार यी उराठलाग्दा हिम पहाडको फेदतिर जान चाहन्छ र मलाई हिँडाइरहन्छ। निकिन बाटोमा कतै भन्दै थियो- ‘आइ ह्याभ सम कनेक्सन विथ दी माउन्टेन्स! मे बी इट केम फ्रम माइ पास्ट लाइफ, हु क्नोज!’ उसलाई मौसमका हिसाबले आनन्ददायी दक्षिण भारतको सुन्दर सहर बैंग्लोरबाट उडाएर संसारको पाँचौ अग्लो हिमाल सामुन्नेको यो दुरूह उकालो हिँडाउने पनि त्यही मन नै त हुनुपर्छ। हामी मन पछ्याउँदै मकालु आइरहेका छौं।
हामी उकालो हिँडिरहेका छौं। एक अर्कासँग बोल्नसक्ने हिम्मत छैन। ढुंगे उकालोमा अघिअघि हिँड्ने निकिन हिउँको उकालोमा पछिपछि छ। कम्तीमा निकिनलाई भेट्नुपर्ने दबाब मसँग छैन।
हिँड्दा-हिँड्दै आकाश अँध्यारो हुँदै गयाे, पानी छिट्याउन पनि थाल्यो। हिजो राति हामी खोङ्मा आइसकेपछि पनि बेस्सरी पानी परेको थियो।
अब पानी पनि पर्याे भने बिजोकै हुन्छ। यो लेकमा फेरि पानी एक्लै आउँदैन, बतास पनि साथमै लिएर आउँछ। सम्झिँदै मन जिरिङ्ग भयो, हिउँले ढाकेको भिरको बाटो, उकालै उकालो, त्यसैमाथि जोडजोडले हावासँगै पानी परिरहेको। यो भन्दा बिजोग दृश्य अर्को के होला र।
अझ यो थोत्रो पदायात्री जुत्ताले धान्छ कि धान्दैन भन्ने चिन्ता पनि छ।
जति माथि उक्लियो बाटो त्यति ठाडो हुँदै जान्छ। मनमा छिटै बासबस्ने ठाउँ पुग्न पाए हुन्थ्यो भन्ने थियो। तर, शरीरमा तागत होइन, थकान मात्रै थियो। जसोतसो उक्लिँदै थियौं- साँच्चिकै हिउँ पर्न सुरू भइहाल्यो।
-1746000715.jpg)
संयोग पनि कस्तो भने अरू दुई तीन मिनेट हिँड्ने बित्तिकै अगाडि एउटा घर देखियो। हामी हत्तपत्त घर भित्र पस्यौं। हामी ठूलोडाँडाँ आइपुगेका थियौं। दोभानमा बास बस्ने योजना भए पनि हामी यहाँ भन्दा अघि बढ्न सकेनौं। चार घण्टामा आइपुग्ने ठूलोडाँडा आउन नै हामीलाई ६ घण्टा लाग्यो।
यो पराजुली दिदीको होटल रहेछ। यसकै माथि शेर्पाकै अर्को होटल पनि रहेछ। हामीले पराजुली दिदीको होटलमा नै रात बितायौं।
हिजोमात्रै पहिलोपल्ट हिउँ छोएको निकिनले आज हिउँ परेकै देख्न पायो।
यात्रा कठिन थियो र रोमाञ्चक पनि। यहाँ आएपछि अर्को समस्या थपियो।
भोलिपल्ट हिँड्नुअघि साहुनीले हिसाब निकालिन्। दुई छाक खाना, बिहानको नास्ता र कोठाको गरेर ३८ सय भएछ। यहाँ ३८ सय तिरेपछि लाग्यो- हामीसँग भएको पैसाले पुग्दैन।
फोनको नेटवर्क त नचल्ने ठाउँमा अनलाइन चल्ने कुरै भएन। खासमा गल्ती मेरै थियो। मैले नगद निकालेको थिइनँ। अनलाइन पेमेन्ट हुनेजति ठाउँमा अनलाइन गरेर निकिनसँग भएको नगद जोगाइरहेका थियौं।
-1746000716.jpg)
मेरो बैंक खाता रित्तिन खोजिरहेको थियो। एकजना मित्रले पैसा हाल्दिन्छु जाँदै गर्नु भनेका थिए। लामो समयकै संगत भएकाले उनलाई अविश्वास गर्नुपर्ने केही देखिको थिइनँ। मैले पाउनु पर्ने पैसा नै हो, यति भनेपछि पक्कै हाल्दिन्छन् भन्ने विश्वास भएर काठमाडौंबाट निस्किएको थिएँ। तर, भोलिपल्टबाट उनले फोन उठाउनै छोडे। रेस्पोन्स पनि गर्न छोडे।
सेदुवा पुगेपछि भाउजूलाई भनेर बैंकमा भएको लगभग पाँच हजार जति पैसा क्यास निकाल्ने सोचिरहेकै थिएँ। तर, फ्याट्ट निर्णय गर्न सकिनँ। अहिले हामीलाई लगभग यही पाँच हजार जति नपुग्ने भइरहेको थियो। समयमा निर्णय नगर्ने बानीले पछुताउनु पर्यो। यसले यात्रामा तनाव पनि थप्यो।
मैले निकिनलाई यसबारे केही भनिहालेको थिइनँ। ठूलोडाँडाबाट निस्किँदा बिहान ७ बजेको थियो। बिहान बाहिर निस्किएपछि पो थाहा भयो, हामी त एकदमै अग्लो ठाउँमा रहेको भञ्ज्याङमा आइपुगेका रहेछौं- ४२१० मिटर उचाइको सिप्तोङ ला।
यहाँको हिउँ प्रायजसो ठाउँमा एकमान्छे भन्दा अग्लो जमेको थियो होला। कतैकतै गुरासँका एकदुई पात बाहिर निस्किएका थिए, नत्र यहाँका लेकाली गुराँस पुरै हिउँले ढाकिएका रहेछन्। हिउँ बाक्लो भए पनि बिहानै हिँड्न सजिलो हुनेरहेछ। न चिप्लिने, न भासिने।
अलि अगाडि गएपछि जोर पोखरी आउने रहेछ- ठूलो पोखरी वा कालो पोखरी र सानो पोखरी। अहिले पोखरी र डाँडामा कुनै भिन्नता थिएन। नाम कालो पोखरी भए पनि हिउँजमेर सेतै भएको थियो। आसपासका भित्ता पनि हिउँले सेतै थिए।
पोखरी भए ठाउँसम्म जान अलिकति ठाडो ओरालो झर्नुपर्ने रहेछ। हिउँमा ओरालो हिँड्न झन् कठिन्। मैले मान्छे चिप्लेटी खेल्दा बनेको डोब देखेँ। डोल्पा जाँदा भिजेरका साथीहरूले हामीलाई हिउँमा कसरी चिप्लिने भनेर सिकाएका थिए। त्यही सम्झिएर म चिप्लेटी खेलेर तल झर्न थालेँ। म चिप्लेटी खेलेर तल झरेपछि निकिन पनि म सँगसँगै चिप्लेटी खेल्न थाल्यो।
चिप्लिँदा चिप्लिँदै निकिनको हातबाट लौरो छुट्यो। छुटेको लौरो आफ्नै लयमा चिप्लिन थाल्यो। बिचमा अडिने ठाउँ नै थिएन। सिधै पोखरीसम्मै पुग्यो। निकिनलाई अरू १० मिनेट थप हिँड्नु पर्ने बाध्यता आइलाग्यो। लठ्ठी छोडेर त हिँड्नसक्ने कुरै थिएन।
म पनि चिप्लिँदै चिप्लिँदै पोखरीसम्म पुगेँ। पोखरीबाट फेरि हामी माथि उक्लिन थाल्यौं र भञ्जयाङको अर्को पाटोमा पुग्यौं। यहाँबाट अलि तल ओर्लिएपछि दोबाटेमा रहेको होटल देखियो। हामी ९ बज्दा दोबाटे आइपुगेका थियौं।
बाटोमा धेरैले भनिरहेका थिए, दोबाटेभन्दा अगाडि हिउँ छैन।
-1746000730.jpg)
यहाँबाट बाटो सिधै ओरालो रहेछ। यहाँबाट निकै तलसम्म हिउँ थियो। हिउँ सकिएपछि उही ढुंगा छापेको ओरालो। ओरालो झर्दै गर्दा नोर्बु शेर्पा र उनका सहयात्री हिमाल चढ्ने मान्छेको भारी लिएर जाँदै थिए। अलि तलसम्म हामी उनीहरूसँगसँगै हिँड्यौ।
ओरालो झरेपछि वरूण नदीमा पुगिने रहेछ, अब हामी यही नदी पछ्याउँदै जाने हो- बेसक्याम्प सम्मै। यहाँ एकदमै ठूलो पहिरो छ। यो पहिरो पार गर्न हामीलाई लगभग डेढ घण्टा लागेको थियो होला। पहिरो तरिसकेपछि आउँछ भेमाथाङको एक्लो होटल। हामी यहीँ खाना खाने इरादाले आएका थियौं। यहाँ आइपुग्दा लगभग २ बजेको थियो होला।
पैसा सकिन्छ कि भन्ने चिन्ता पनि छ। भोक पनि लागिरहेको छ। याङले खर्क पुग्न अझै कति बाँकी छ भन्ने पनि छ। चिन्ता र थकान दुवै समस्या लिएर खाना खायौं।
यो होटल आङदावा शेर्पाको हो। उनीसँग केहीबेर रमाइलो कुराकानी भयो। कुराकानीकै क्रममा थाहा भयो, उनी वडाध्यक्ष छोपेल शेर्पाका दाजु रहेछन्। चौंरीगोठमा हामीलाई खाना बनाएर दिने उनकी श्रीमती रहिछन्। यहाँको होटल आङदावाले चलाउने रहेछन्।
यहाँ खाना खाएर लगभग ३ बजेतिर हामी बाटो लाग्यौं- वरूण नदी पछ्याउँदै पछ्याउँदै। यहाँबाट याङलेसम्म तेर्सो र एकदमै सजिलो बाटो रहेछ। लगभग साढे चार बजेतिरै हामी याङले खर्क पुग्यौं। आजको हाम्रो बासस्थल यही थियो। भोलि यहाँबाट सिधै बेसक्याम्प पुग्नु पर्ने छ।