एकाबिहानै एकजना पत्रकार भाइको फोन आयो, ‘दाइ! यसपालि अपी काव्ययात्राको योजना छ। अपी हिमाल बेस क्याम्प जानुपर्छ है!’
म त डुलुवा मान्छे, एकै सासमा भनिदिएँ, ‘हुन्छ। तर कहाँ छ यो हिमाल? मैले त नामै सुनेको रहेनछु।’
‘सुदूरपश्चिमको दार्चुलामा पर्दछ दाइ’, भाइले भने, ‘ज्यादै रमाइलो ठाउँ छ।’
तिनै भाइको संयोजनमा ‘खप्तड काव्ययात्रा- २०७५’ मैले पहिलोपटक सुदूरपश्चिमलाई चुम्न पाएको थिएँ। खप्तड जाँदा डोटीको शैलेश्वरीबाट हामीले केही हिमालसँग आँखा जुधाएका थियौं। तिनै हिमालको लहरमा कतै उभिएको थियो कि अपी!
मनमा खुल्दुली मच्चियो। कस्तो होला अपी हिमाल? कस्तो होला त्यहाँको वातावरण? कति सुन्दर होलान् गाउँघर? अनायासै अपीको एउटा विम्ब आँखामा नाच्न थाल्यो। मनमा मुक्तक फुरिहाल्यो:
सपनीमा देखें मुसुक्क हाँस्ने अपी
नदखे पनि मायाप्रिति गाँस्ने अपी
मत आँउदैछु तिम्रो घरआँगनमा
टलक्क टल्किँदै नजरमा नाच्ने अपी
भावनाका छालहरू तरङ्गित भइरहे। हिमालको जरामा पुग्ने कल्पनामा रमाउँदै गएँ। शारिरीक रुपमा म कमजोर थिएँ तर हिमाल चुम्ने उत्साहले एकाएक ऊर्जा बढाइदियो।
औंला भाँच्दाभाँच्दै काव्ययात्रामा निस्कने दिन पनि आयो। वि.सं. २०८२ जेठ १२ गते काठमाडौंबाट धनगढी उड्ने कार्यतालिका पाएँ। त्यसैले जेठ १० गते नै दमौलीबाट काठमाडौं पुगें। यात्रामा आफूलाई चाहिने केही बन्दोबस्तीका सामान किनें।
-1751526629.jpg)
भोलिपल्ट पत्रकार मित्र घनश्याम पौडेल, पृथ्वी पुन र म एयरपोर्ट अगाडि एउटै होटलमा बास बस्यौं। बिहान ७ बजे विमानस्थलमा थप साथीहरू अभय श्रेष्ठ, दिपेन्द्रसिंह थापा, घनश्याम खड्का, कुमारी लामा, प्रभा बराल, राजकुमार गुजरेल, लक्ष्मी रुम्बा, शान्ति तामाङ र अनुपम रोशीसँग भेटघाट भयो। यसरी १२ जनाको टोली पूर्ण बन्यो। शान्ति, पृथ्वी र लक्ष्मी नयाँ साथी बन्न पुगे।
कुनै चाडपर्व आउँदा बालबालिका रमाएझैं हामी सबै फुरुङ्ग थियौं। हवाईजहाजबाट एक घण्टामा धनगढी उत्रिँदा त्यहाँ हाम्रो स्वागतमा उभिएका थिए, सुदूरपश्चिमका संस्कृतिविद् प्रिय कवि हेमन्त विवश। अस्वस्थताले गर्दा यात्रामा उनी सहभागि हुन नपाउने कुरा थाहा पाउँदा नरमाइलो लाग्यो। स्वास्थ्य लाभको कामना गर्दै हामी दुइटा जिपमा चढ्यौं।
हाम्रो जिपका पाइलट हरिसिंह धामी रमाइला थिए। उनले अत्तरिया पुगेर जिप रोके। त्यहाँ हामीले किनमेल गर्यौं। स्वादिलो खाना पनि खायौं। दालभात, तरकारी र मासु त छँदैथियो, होटलवालाले घ्यू पनि थपिथपि दिए।
खानापछि केहीबेर समथलीमा गुडेपछि पहाडी बाटोमा उकालियौं हामी। डडेलधुरा जाने नागबेली बाटोमा। नयाँ गाउँ, नयाँ ठाउँ, नयाँ भूगोल, नयाँ संस्कृति र बोलिचाली सबै नौला लागे हामीलाई।
साँच्चै भूस्वर्ग रहेछ, अपि आधारशिविर। हरियो घाँसे मैदानको पृष्ठभूमिमा टलक्क टल्किएका अपी, नम्पा, कायाकोर, बबै, जेठीबहुरानी, के-के नाउँका हिमचुलीहरू! हेर्दाहेदै एकछिन आँखा चिम्म गरें। खोलेर फेरि हेरें। अनायासै आँखाका डिलबाट आँसुका थोपा खसे।
सडकमा नानीहरू काफल बेच्न बसेका रहेछन्। जिप रोकेर जब हामीले काफल किन्यौ तब उनीहरूका अनुहारमा गुराँस फूल्यो। ती रसिला नानीहरूको तस्बिर खिच्यौं। टिकटक बनायौं। सबैभन्दा ठुलो कुरा तिनको निश्चल आत्मीयता पायौं।
नानीहरू ! राम्रोसँग पढेर यो देशको असल नागरिक बन्नु है!
गुड्दैगुड्दै हामी डडेलधुरा बजारमा पुग्यौं। त्यहाँको बागबजारमा रहेछ, सहिद भिमदत्त पन्तको सालिक। त्यहाँ लेखिएको छ:
कित जोत्नु हलो कित छोड्नु थलो
येति हैन भन्या हुन्या छैन भलो
पत्रकार घनश्यामले यी शब्द वाचन गर्दा आङ जिरिङ भयो। मैले किसान आन्दोलनका सहिद भिमदत्तलाई मनफूल चढाएँ।
बागबजारमा हामीले पोलेको मकै पनि खायौं। मकै खाएपछि हामी उग्रतारा मन्दिरमा पुग्यौं। प्रसिद्ध शक्ति पिठको दर्शनले मन बलियो बन्यो।

हामी मनभरि उत्साहको फूल फुलाएर यात्रा गरिरह्यौं। गरिरह्यौं। साँझको बासस्थल गोकुलेश्वर पुग्दा रातिको १० बजिसकेको थियो। त्यहाँको अपिनाम्पा होटलमा आरामदायी बास बस्यौं।
भोलिपल्ट फेरि यात्रा सुरु भयो। चौलानी नदीको किनारै किनार। हामी चढेका दुइटा जिप हरेक मोड र घुम्तीलाई छोड्दै मकरीगाड पुग्दा बिहानको १० बजिसकेको थियो। अपिहिमाल गाउँपालिका वडा नं. २ का अध्यक्ष रामसिंह धामीको होटलमा खाना तयार थियो। खाना त मिठो थियो नै, उहाँहरूको मायाले झन् मिठो बनायो।
मकरीगाड (१,४६० मिटर)बाट हाम्रो पदयात्रा सुरु भयो। मकरीकोट(२,१९२ मिटर) हुँदै आठ हजार सिँढी चढेर नौपाटा पुग्नु थियो।
मध्यान्हमा हिँड्न सुरु गर्दा घामले ढाड र पुर्पुरो सेक्यो। जब मकरीकोट पुगियो, त्यहाँबाट देखियो, खण्डेश्वरी नौपाटा। हामी फतक्कै गलिसकेका थियौं। हिँडाइमा म निकै अब्बल थिएँ, त्यो दिन भने राजकुमार पहिला मकरीकोटमा पुगे।
सबैजना जम्मा भएसी हात खाली नजाने उपहार कार्यक्रम खोलें। अरुलाई के-के उपहार पर्यो, थाहा भएन। पत्रकार घनश्याम खड्कालाई भने लिपिस्टिक उपहार पर्यो!
मकरीकोटबाट एक घण्टामा पुगियो, खण्डेश्वरी। त्यहाँ हाम्रो स्वागतमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकेरे बोहोरा र गाउँले जम्मा भएका थिए। हामीलाई होमस्टेको घरघरमा बाँडेर राखियो। हाम्रो घरमा पृथ्वी, दीपेन्द्रसिंह र म बस्यौं।
टल्कि रहन्या, झल्की रहन्या अपि हिमाल

साँझ भव्य नाचगान भयो। हामी सबै मल्देशी संस्कृतिमा झुम्यौं। रैथाने बाजाको तालमा गाउँपालिका अध्यक्ष र गाउँले सबै नाचे। हामी पनि डेउडाको तालमा नाच्यौं।
हाम्रो होमस्टेमा आमा र बाबा मात्र थिए। हामी धेरै थाकेका थियौं, त्यसैले थकाइ मेटाउन जौको रक्सी चाखियो। अनि मकैको ढिँडो, दाल, साग, अचार र कुखुराको मासु, मस्तसँग खाइयो। बाआमाले पनि सँगै बसेर खाना खाँदा, मैले त दमौलीको घर छाडेर खण्डेश्वरीको नौपाटामा आइपुगेको बिर्सें। पारिवारिक माया पाइयो होमस्टेमा।
दीपेन्द्र काजी भुसुक्कै निदाए। सिरानी हालिदिएँ। सिरक ओढाइदिएँ।
उर्वर भूमि रहेछ नौपाटा। बिहान देखियो करेसाबारीमा सागपात र तरकारी।
बिहानको खाजापछि हामी ओरालो झर्यौं। चौलानी नदी पार गर्दै म अर्के बाटो लागेछु।
अचानक भेट हुनु भयो गगन कार्की। उहाँ अपिहिमाल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हुनुहुँदो रहेछ।
‘हामी काव्ययात्री’ भन्ने बित्तिकै उहाँले भन्नु भयो, ‘केही रचना सुनाउनुस् न।’
झरना छेउमा उभिएर दुइटा मुक्तक सुनाएँ।
साथीहरू खान खाने ठाउँ नाली पुगिसकेका थिए। हामीले घुसा स्वास्थ चौकीमा निकैबेर बसेर मोवाइल चार्ज गर्यौं।
नालीको खाना पनि उस्तै मिठो थियो। नालीबाट केही बाटो सजिलो रहेछ। गाउँलेसँग बोल्दै हाँस्दै साँझ सिती होस्टेमा पुग्यौं। सिती यहाँको अन्तिम गाउँ हो।
-1751526659.jpg)
सबैजना यार्सागुम्बा सङ्कलनमा गएकाले घरमा एउटी किशोरी मात्र थिइन्, उनले हाम्रो समूहलाई खाना बनाइन्। निकै फूर्तिली रैछिन्।
हामी सबै मिलेर गीत गाउने, जोक्स सुनाउनेक्रम साँझसम्म चलिरह्यो। साथमा जौको झोलको मात चढ्दै थियो।
बिहान उठ्दा घनश्याम खड्का रातोपिरो देखिनु भयो। भनभनी ज्वरो आएको थियो उहाँलाई। उहाँले हिँड्ने हिम्मत गरे पनि शरीरले साथ दिएन। सितीमै आराम गर्नुपर्ने भयो।
मन भारी पार्दै हामी उकालियौं। कतै ‘आई लभ यु अपी’। कतै ‘पेरिस डाँडा’ लेखिएको कतै ठुलो नेपाली झण्डा गाडिएको थियो। प्रकृतिको मनोरम छटा उस्तै रोमाञ्चक।
हामीले मोबाइल फोनका क्यामेराले सयौं तस्बिर खिच्यौ। तर, त्यहाँका गाउँले र प्रकृतिले हाम्रो मन खिचे।
हामी खरायोकोट, छिरछिरे, दमोल, कालीढुङ्गा ताल हुदै धौली ओढार पुग्यौं।
रमाइलो पक्ष त मकरीगाडदेखि नै केही कुकुर हाम्रो साथी बनेका थिए। दुइटाले त धौलिओढारसम्मै हाम्रो गाइड गरे। तिनलाई हामीले बिस्कुट खुवायौं।
धौलिओढारमा त मेलै लागेको रहेछ! वरपर यार्सागुम्बा टिप्नेहरूका पाल टाँगिएका थिए। यस क्षेत्रको आम्दानीको मुख्य स्रोत बनेको रहेछ, यार्सागुम्बा। ज्यानको बाजी थापेर यार्सा टिप्नुपर्ने भएपनि उनीहरूको अनुहारमा चमक थियो। आँखामा सपना थियो। ओठमा मुस्कान।
-1751526642.jpg)
होटल सञ्चालक भाइको जाँगरलाई माने मैले। उनले बेस्करी हँसाए, हाम्रो थकान मेटाइदिए।
भाइको जोक, च्याङ्ग्राको मासुसहित खाना र जौको रक्सी, अहा दमौलीमा बसेर यी शब्द लेखिरहँदा मुख रसाइसक्यो।
हाम्रो यात्राको आयोजना र व्यवस्थापन सबै अपिहिमाल गाउँपालिकाले मिलाएको हो। पृथ्वी भाइ र म त कतै पनि छुटेनौं। हामी स्वेच्छाले जौको झोल खान्थ्यौं, पैसा तिथ्र्यौं। नखानेलाई कर गर्नु हुँदैन, खानेले मिलेर खाइयो।
अल्ट्च्यिुडमा भएकाले राति निद्रा परेन। बिहान भने फूर्ति बढेको थियो। हाम्रो यात्राको क्लाइमेक्सविन्दु अपि बेस क्याम्प पुग्ने दिन।
साथीहरू उकालो लागिसकेका थिए। घनश्याम पौडेल अलि हिँडन सक्नु भएन। म त धौलिओढारबाट एक घण्टामै पुगें बेस क्याम्प।
साँच्चै भूस्वर्ग रहेछ, अपि आधारशिविर। हिमालको फेदीमा फराकिलो मैदान। हरियो घाँसे मैदानको पृष्ठभूमिमा टलक्क टल्किएका अपी, नम्पा, कायाकोर, बबै, जेठीबहुरानी, के-के नाउँका हिमचुलीहरू!
हेर्दाहेदै एकछिन आँखा चिम्म गरें। खोलेर फेरि हेरें। अनायासै आँखाका डिलबाट आँसुका थोपा खसे।
त्यो बिहान म ज्यादै भावुक बनें। मैले अपी हिमाललाई चुम्बन गरें। गरिरहें। अंगालोमा कसें। कसिरहे।
कति धनी छौं हामी नेपाली? हाम्रा हरेक गाउँघरलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ। यसका लागि मुलुक चलाउने विकासप्रेमी राजनेता चाहिएको छ हामीलाई। नेपालको सम्भावना बुझ्ने कुशल नेतृत्व चाहिएको छ।
-1751526645.jpg)
अपी र नम्पाको फेदबाट बगेको चौलानी नदी छताछुल्ल देखियो। तीन दिनको हिँडाइपछि अपीको जरामा पुग्दा म पनि छताछुल्ल भएर पोखिएँ।
साथीहरू हर्षविभोर थिए। आयोजक पनि उत्साही। यसरी जेठ १६ गते बिहान हामीले यात्राको क्लाइमेक्सविन्दु चुम्यौं।
खासमा त्यो दिन इतिहासमै पहिलोपटक अपी आधारशिविरमा अपी काव्ययात्रा र योग ध्यान कार्यक्रम राखिएको थियो। अपी क्षेत्रलाई आध्यात्मिक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले अनुकरणीय काम गर्यो।
हामीले अपीसँग पिरती गाँस्यौं। योगशिविरपछि काव्ययात्रीले रचना सुनाउने पालो आयो। हामीले रचना र अनुभूति सुनायौं। मैले मुक्तक सुनाएँ:
चरीजस्तै फुर्रफुर्र नाच्न मन लाग्यो
अपीनाम्पा जस्तै गरी हाँस्न मन लाग्यो
प्रकृतिको अनुपम यो स्वर्गीय भूमिमा
बाँकी जीवन यतै आई बाँच्न मन लाग्यो ।
...
टल्किने झल्किने ज्योति रैछ अपी
स्वर्गकै ठुक्राया मोती रहैछ अपी
बेस क्याम्पसम्म पाइला टेक्न पाए
ज्यान सञ्चो हुने ओखती रैछ अपी ।
आधारशिविरमै डेरा जमाएर बसौं जस्तो नलागेको होइन, तर फर्कनुपर्ने बाध्यता थियो। त्यसैले हामी सबै ओरालो झर्यौं। ओरालिँदै गर्दा मनमा लहर चल्यो। जीवनमा अपी काव्ययात्राले धेरै कुरा सिकायो। संस्कार, सभ्यता र संस्कृति त हामीले सुदूरपश्चिमेलीबाट सिक्नु पर्ने रहेछ!
-1751526666.jpg)
कवि, लेखक र पत्रकारलाई आफ्नो गाउँठाउँमा घुमाएर अपीगाउँपालिकाले ठुलो गुन लगाएको छ। सकारात्मक सन्देश दिएको छ। विशेषतः गाउँपालिकाका अध्यक्ष भक्तसिंहको प्रेमलाई म जीवनभर भुल्ने छैन। अपीलाई पर्यटकीय गन्तव्य बनाउने तपाईंको अभियानको सिको मुलुकका अन्य गाउँहरूले पनि गरून्।
काव्ययात्रीले मिडियामा आ-आफ्ना अनुभूतिहरू लेखिरहनु भएको छ। भोलिका दिनमा हाम्रा साहित्यिक सिर्जनामा पनि अपीका विम्बहरू चम्किनेछन्। सम्झनामा र सिर्जनाका फूलहरूमा हाँसिरहनेछ अपी हिमाल।
अन्त्यमा एउटा प्रश्न, ‘मलाई निम्तो दिने प्रियभाइ अमृत भादगाउँले तपाईं हामीसँगै काव्ययात्रामा किन नजानु भएको?’
दाजुभाइ फेरि एकपटक अपी जानुपर्छ है!
-(1)-1751526635.jpg)