आफ्नै घरको माथिबाट पोखरा-जोमसोम उड्ने जहाज हेरेर हुर्केको म। त्यस्तै जहाजमा कहिले चढुँला भन्ने लागिरहन्थ्यो।
‘आकाशमा जहाज कसरी उडेका होलान्?’, बालापनमा दौंतरीसँग हामी कुराकानी गर्थ्याैं। यो चिल (गिद्ध) र चिलगाडी (जहाज)मा फरक के होला? कसले र कहिले कहाँ बनाएका होलान? कसले पहिला उडाए होलान?
हाम्रा मनमा अनेकौं प्रश्न थिए, त्यतिबेला।
कक्षा १० मा पढ्दा मात्र सन् १९०३मा अमेरिकाका साइकल व्यापारी राइट दाजु-भाइले पहिलोपटक जहाज बनाएर उडाएपछि जहाजको विकास र विस्तार भएको भन्ने पढ्न पाइयो।
-1750251828.jpg)
कलेजमा जहाजको आविष्कारकै कारण अमेरिका शक्तिशाली बनेको र पहिलो एवम् दोस्रो विश्वयुद्धमा जहाज प्रयोगले जितको निश्चितता गरेको इतिहास पढियो।
पछि मैले पोखरा–काठमाडौं र पोखरा–जोमसोममा धेरैपटक हवाई यात्रा गर्ने अवसर पाएँ। अझ जीवनको मध्य उमेरमा नेपालबाट अमेरिकासम्म हवाई यात्रा गर्ने अवसर मिल्यो।
अमेरिकामा पनि विभिन्न राज्यमा उडान भरियो। मेरो दशकभन्दा लामो अमेरिका बसाइँमध्ये केही भुल्नै नसकिने स्थान तथा समय छन्। त्यसमध्ये प्रथम हवाई उडान बारेका मेरा प्रश्नहरूको उत्तर भेटेको र आफ्नै आँखाले देखेको त्यो दिन जीवनकै आनन्ददायी क्षण थियो।
घमाइलो दिन भएपनि उत्तरी एटलान्टिक महासागरको समुन्द्र छेउको त्यो सानो सहर नग्सहेडमा बिहान ९ बजेसम्म पनि निकै चिसो हावा थियो।
यस्तै हावा चलिरहने स्थान भएर नै होला सन् १९०३ डिसेम्बर १७मा राइटस् दाजुभाइले नग्सहेड र किट्टी हक्स बिचको किल डेबिल हिलमा संसारकै पहिलो मोटर जडित यन्त्रमा बसेर उडाएका।
-1750251855.jpg)
त्यसलाई आज हामी विश्वको पहिलो विमान उडान परीक्षण भनेर चिन्दछौ। विलभर राइट र ओलिभ राइट दाजु-भाइ ओहायो राज्यका थिए। उनीहरू पत्रिका निकाल्ने काम गर्थे। पछि साइकल मर्मत तथा व्यापार गर्न थाले। उनीहरू ठान्थे, मानिस पनि आकाशमा चराझैं उडन सक्ने भए कति राम्रो रमाइलो र सजिलो हुन्थ्यो होला?
यही सोचले उनीहरूले धेरैपटक इन्जिनरहीत सानो ग्लाइडर उडाए। यसपटक भने इन्जिनसहित आफ्नै नियन्त्रणमा चल्ने एभियसनको सफल परीक्षण भएको थियो। उक्त डिसेम्बर १७को बिहान १० बजेर ४५ मिनेटमा ओरभिल राइट त्यो विमानमा बसे। उडाए जहाज।
फेरि विलभर राइट बसेर दोस्राे फ्लाइट गरे। यसरी त्यो दिन चार पटक विमान उडाइयो।
यस अभ्यासका तस्बिर जोन टि डेनियलले खिचेका थिए भने एभियसन उडानको तयारीमा स्थानीय युवाले साथ दिएका थिए।
क्रमशः हवाई उडानमा तीव्र अभ्यास, प्रयोग र विकास गर्दै लगियो। सन् १९२८मा पहिलो विमान परीक्षणस्थल किल डेबिड हिलमा हवाई उडानको २५औं वर्षको अवसर पारेर भव्य समारोहका बिचमा मेमोरियल पार्क उद्घाटन गरियो।
-1750251830.jpg)
आज संसारभरका मानिसलाई कसरी पहिलो जहाज उडान भएको थियो भन्ने बुझ्न त्यहाँ पुग्छन्। उडान कहाँबाट भयो? कसरी र कति समय भयो? भन्ने ऐतिहासिक जानकारीसहित पहिलो एभिएसनको मोडल जहाज पनि राखिएको छ।
पार्कमा राखिएको मोडल जहाजमा साना बच्चा खेल्ने र वयस्कले जानकारी लिने गरेको देखिन्छ।
विश्वमा पहिलोपटक अमेरिकाले प्रथम विश्वयुद्ध (सन् १९१४ देखि १९१९) मा नै विमान प्रयोग गरेको थियो।
सन् १९४५ मा हिरोसिमा र नागासाकी सहर तहसनहस पारी जापानलाई घुँडा टेकाउने यिनै जहाजले बोकेका एटमबम हुन्। अमेरिकाको वासिङटन राज्यको सियाटलमा सन् १९१६ जुन १५ मा विलियम बोइङले विमान बनाउने कम्पनी खोलेर जहाज बनाउन लागेपछि हवाई उडान क्षेत्रमा निकै विकास भयो।
आज पनि ८५ बिलियन डलर बराबर सम्पत्ति रहेको उक्त बोइङ कम्पनीमा ५० हजारभन्दा धेरै कामदार अत्याधुनिक विमान बनाउने काम गरिरहेका छन्।
विश्वमा जहाज बनाउने धेरै कम्पनी खडा भइसकेका छन्। सुरक्षित, भरपर्दो र सहज यातायातको साधनका रुपमा हवाई जहाजलाई लिइन्छ। पहिला ६ महिना वा वर्ष दिन लगाएर पानी जहाजबाट पुगिने अमेरिका महादेशमा पनि केही घण्टामै पुग्न सकिने भएको छ। २० दिन लगाएर पैदल जाने पोखरा-जोमसोम मार्गलाई १६ मिनेटको हवाई यात्राले छोट्टयाइदिएको छ।
म किन त्यहाँ गएँ?
-1750251844.jpg)
त्यो दिन म अमेरिका पुगेको पाँच वर्ष भइसकेको थियो। बिदामा घुम्ने, घरमै रमाइलो गर्ने वा २ दिने बिदा भएमा समुन्द्र छेउ अथवा टाढाका गन्तव्य पुग्ने कार्यतालिका नै बनेको थियो।
जुन महिना भएकाले म बसेको नर्थक्यारोलिनाको द्रुरम सहरको गर्मी छल्न पूर्वी समुन्द्री छेउको आउटर बैंक जाने विचार गरें। सुनेको थिएँ, त्यही आउटर बैंक समुन्द्रको छेउ किट्टी हस्समा राइट दाजु-भाइले पहिलो हवाई उडान परीक्षण गरेका थिए। द्रुरमदेखि सिधा आउटर बैङ्क पुग्न २ सय २२ माइल अर्थात् करिब साढे तीन घण्टा लाग्थ्यो।
त्यो बाटोभन्दा तल ज्याक्सनभिलबाट ओक्राकोक आइलैन्ड हुँदै फेरीमा आउटरबैङ्क पुग्ने बाटो निकै रोचक थियो। तीन सय ३६ माइल लामो मार्ग तय २ पटकसम्म फेरि अर्थात् सानो पानीजहाजमा आफ्नो कार समेत राखेर विभिन्न आइलैन्ड हुँदै झण्डै १० घण्टाको यात्रा जमिन तथा जलमार्ग भएर आउटरबैंकको नग्सहेड, किट्टी हस्स पुगिन्थ्यो।
म जाँदा समुन्द्र तरेर जाने र फर्किंदा छोटोबाटो यात्रा गर्ने योजना बनाएँ।
-1750251842.jpg)
समुन्द्रको पल्लो छेउबाट सूर्योदय भइरहेको समय म फेरी (पानीमाथीको सानो जहाज)मा बसेर कफी पिउँदै रमाइरहेको थिएँ। कारसहित निकै बेरको जलयात्रापछि अर्को समुन्द्री टापु ओक्राकोक पुगियो। त्यहाँको लाइट हाउस र समुन्द्रीतटका केही दृष्य हेरेर आफ्नो गाडीमा धागो तानेझैं सिधा बाटोमा गाडी टापुको अर्को छेउतिर हुइँक्याएँ।
पल्लो छेउ पुग्दा अर्को फेरी मेरो कारको प्रतीक्षामा थियो। मैले कारलाई फेरीमा चढाएँ र माथि जहाजको सिटमा बसें। केही घण्टापछि फेरीले ह्याटर्स टापुमा पुर्यायो। यहाँ पनि निकै पर्यटकीय गतिविधि देखियो।
त्यहाँबाट लामो पुल तरेर बक्सटोन, एभन हुँदै आउटरबैङकको तल्लो भागमा पुगें। त्यसपछि दुवैतर्फ समुन्द्र रहेको सानो जमिनको मोटरबाटो हुँदै माथि नग्सहेडतिर कार हुइँक्याएँ।
-1750251818.jpg)
म नग्सहेडको पहिल्यै अनलाइन बुकिङ गरेको होटल पुग्दा साँझ परेको थियो। बिहान मात्र राइट दाजु-भाइले पहिलो उडान भरेको एभिएसन पार्क हेर्ने मनभित्र अनेकन कौतुहलता संगालेर होटलमा झोला बिसाई साँझपख एटलान्टिक समुन्द्र तटतिर निस्कें।
आखिर भोलि हवाई उडानबारे मेरा बालापनका धेरै जिज्ञासाको उत्तर आफ्नै आँखाले देख्ने र अनुभव गर्ने दिन थियो। रात ढल्यो। बिहान त्यो सपना पुरा भयो।
यही रोमाञ्चक अनुभूति संगालेर साँझ नग्सहेडको नाइट क्लबमा पसें।
थप तस्बिरहरू:
-1750251925.jpg)
-1750251852.jpg)
-1750251821.jpg)
-1750251813.jpg)
-1750251810.jpg)
-1750251798.jpg)
