काठमाडौं। सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय गन्तव्य अपी हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘अपी काव्ययात्रा– २०८२’ सम्पन्न भएको छ।
अपिहिमाल गाउँपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा जेठ १२ गतेदेखि सुरु भएको काव्ययात्रा सम्पन्न गरेर कवि–लेखकको टोली जेठ १९ गते काठमाडौं फर्किएको छ।

काव्ययात्राका लागि काठमाडौंबाट १२ जना कवि, लेखक र पत्रकारको टोली अपिहिमाल गाउँपालिका पुगेको थियो। गाउँपालिकाको व्यवस्थापनमा उनीहरुलाई अपी हिमाल बेस क्याम्प (४००० मिटर)को यात्रा गराइएको थियो। यात्रालाई थप प्रभावकारी बनाउन अपिहिमाल गाउँपालिकाले ‘योग, ध्यान तथा ऊर्जा महासभा’को पनि आयोजना गरेको थियो।
यात्राको क्रममा टोलीलाई गाउँपालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम र पर्यटकीयस्थल तथा ‘होमस्टे’हरुमा न्यानो स्वागत गरेको थियो। भने, बेस क्याम्पमा पुगेपछि टोलीमा सहभागीहरूले साहित्य सिर्जना प्रस्तुत गर्दै अपी हिमाल क्षेत्रको अवलोकन गरेका थिए। त्यस्तै, अपी हिमाल बेस क्याम्प क्षेत्र र समग्र सुदूरपश्चिमको पर्यटन विकासका बारेमा पनि विमर्श गरिएको थियो।

आठ दिनसम्मको यो यात्रा एकदम प्रभावकारी भएको यात्रामा सहभागीहरुले काठमाडौं फर्किएपछि बताएका छन्। अपी हिमाल बेस क्याम्पको प्राकृतिक सौन्दर्यता आफैंमा अदभूत रहेको सहभागीहरुको भनाइ छ। स्वागत, सत्कार, उत्साह र सरल शैली अपी हिमाल गाउँपालिकाका स्थानीयहरुको सबैभन्दा सुन्दर पक्ष रहेको उनीहरुले बताए।
यात्रामा प्रभा बराल (निबन्धकार एवम् उपन्यासकार), कुमारी लामा (समीक्षक एवम् आख्यानकार), लक्ष्मी रुम्बा (कवि एवम् पत्रकार), शान्ति तामाङ (पत्रकार), अनुपम रोशी (कवि एवम् उपन्यासकार), अभय श्रेष्ठ (कवि, कथाकार एवम् पत्रकार), सागर उदास (कवि, गीतकार र मुक्तककार), घनश्याम खड्का (कवि, पत्रकार एवम् उपन्यासकार), दीपेन्द्रसिंह थापा (कवि, निबन्धकार एवम् पत्रकार), घनश्याम पौडेल (पत्रकार एवम् भ्लगर), राजकुमार गजुरेल (पत्रकार एवम् निवन्धकार) र पृथ्वी पुन (पत्रकार, फोटोग्राफर एवम् पर्यटन अभियन्ता) सहभागी थिए।

काव्ययात्रापछि अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोरासँग एमरेस्ट पेडियाकर्मी कमल प्रभातले गरेको छोटो कुराकानी:
अपी काव्य यात्रा कस्तो रह्यो?
अपी काव्ययात्रा सफल भएको छ, खासगरी अपी हिमालको बेस क्याम्पमा पहिलोचोटी राष्ट्रियस्तरका लेखक साहित्यकारको जमघट गरेर हामीले काव्ययात्रा सम्पन्न गरेका छौं। यसले अपिहिमाल गाउँपालिकाको पर्यटनमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। साहित्य पर्यटनलाई पनि यसले उजार गरेको छ। आगामी दिनहरुमा देश विदेशमा रहेका लेखक साहित्यकारहरुले अपी हिमालको काखमा साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने सम्भावनाको ढोका खुलेको छ। यस हिसाबले यो काव्ययात्रा अत्यन्तै सफल र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।
यात्राको अवधि कस्तो रह्यो?
काठमाडौंदेखि अपी हिमाल बेस क्याम्पसम्मको लामो यात्रा भएपनि सुमधुर नै भयो यात्रा। हामीले यात्रा काठमाडौं–धनगढी–अपिहिमाल गाउँपालिका र यहाँबाट विभिन्न होमस्टे हुँदै बेस क्याम्पको यात्रा तय गर्याैं। यात्रामा सबै साथीहरु उत्साहपूर्णरुपमा सहभागी हुनु भयो। दु:ख सुख जे भएपनि फर्किएर आउँदा सबै साहित्यकारहरुको अनुभूति सकारात्मक पाइयो।
भक्तसिंह ठेकरे बोहोरा (अपिहिमाल गाउँपालिकाका अध्यक्ष)
स्थानीयहरुको भनाइ के छ?
स्थानीयहरु ज्यादै उत्साहित भएका छन्, खासगरी राष्ट्रियस्तरमा चर्चित साहित्यकारहरुलई पहिलोचोटी आफ्नै घर आँगनमा देख्न र सँगै यात्रा गरी अनुभूतिहरु आदानप्रदान गर्न पाउँदा स्थानीयहरु पनि उत्साहित भएका छन्। खासगरी यो भ्रमणले स्थानीयहरुको पर्यटनमा टेवा पुग्ने र फेरि यो क्षेत्रमा पर्यटक आगमन बढ्ने र पर्यटन क्षेत्रको विकास हुने अपेक्षा स्थानीयहरुको छ।
यात्रापछि ‘अब के गर्नुपर्ने रहेछ’ भन्ने महसुस भयो तपाईंलाई?
अपी हिमालको पर्यटन विकास भर्खर मात्रै सुरु भएको छ। यो सुरुवाती चरणको पर्यटन विकास भएको हुँदा हामी पूर्वाधार विकास र प्रवर्द्धनकाे कार्यक्रम दुवैलाई सँगै अगाडि बढाएका छौं। अब पूर्वाधार विकास मात्रै नभएर गुणस्तरीय पर्यटन सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रोतर्फबाट केही कदमहरु चाल्नुपर्ने आवश्यकता महसुस भएको छ।
आगामी दिनका लागि के–के योजना छन्?
प्रवर्द्धन कार्यक्रम निरन्तर रुपमा रहनेछन्। आगामी दिनमा नेपाल पर्यटन बोर्ड र केही संघ संस्थाहरुसँग सहकार्य गरेर अपी हिमालको समग्र पर्यटन विकासका लागि हामी लागि पर्ने छौं। केही पूर्वाधार निर्माण, ट्रेकिङ ट्रेलहरु, बस्नका लागि बासहरुको व्यवस्थापन गर्ने र स्थानीयहरुलाई उद्यमशीलताको तालिमहरु प्रदान गर्ने हाम्रो प्रयास रहनेछ।
थप तस्बिरहरू:




















तस्बिरहरू: बाल्कुराम पुन