काठमाडाैं। हङकङमा ‘गोल्डेन वीक’को अवसरमा ११ लाख पर्यटक आगमन भएको छ।
हङकङका प्रमुख कार्यकारी जोन ली मंगलबार सार्वजनिक गरेको तथ्यांकमा ‘गोल्डेन वीक’मा ११ लाख पर्यटकको आगमन भएको उल्लेख छ। जुन गत वर्षको तुलनामा २२ प्रतिश बढी हो।
चीन, जापान, कोरिया, थाइल्याण्ड, हङकङ, मकाउलगायत देशहरुमा मे १ देखि ‘लेबर डे’को रुपमा सार्वजनिक बिदाको घोषणा गर्छन्। यतिबेला लामो बिदा हुने भएकोले ती देशका मानिसहरु घुमघाम र किनमेलको लागि यात्रामा निस्कने गर्छन्। यस अवसरमा हङकङमा पर्यटक लक्षित गरी ‘गोल्डेन वीक’को घोषणा गरिन्छ। यो हङकङको कुनै पर्व भने होइन। त्यसो त जापानलगायत देशहरुले पनि ‘लेबर डे’को अवसमार ‘गोल्डेन वीक’ मनाउने गर्छन्। यसरी ‘गोल्डेन वीक’ मनाउँदै गर्दा पर्यटनको चहलपहल हुने गर्छ।

यस वर्ष गत बिहीबारदेखि पाँच दिनसम्म गोल्डन वी मनाइएको थियो। सो अवधिमा ८ लाख पर्यटक आउने पूर्वानुमान गरिएको थियो। तर, हङकङमा अनुमान र अपेक्षाभन्दा बढी ११ लाख पर्यटक भित्रिए। यो आगमनले कोरोना महामारी अगाडिको दृश्यलाई झल्काएको र पर्यटनमा हङकङ अब्बल छ भन्ने पुष्टि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
तर, यो कीर्तिमानी आगमनसँगै नयाँ चुनाैती पनि थपिएको छ। ठुलो संख्यामा पर्यटक आगमन हुँदा व्यवस्थापन फितलो बनेको छ। पर्यटकहरुको भीडको कारण यातायात र बासको असुविधा भएका विषयहरु सामाजिक सञ्जालमा चर्चामा छन्। यसमा एउटा तस्बिर मुख्य रुपमा चर्चामा छ।
टेबलमा सुतिरहेका पर्यटकहरु (रचेली९१२/थ्रेड्स)
यो तस्बिर गोल्डेन वीकको समयमा थ्रेड्स प्रयोगकर्ताले म्याकडोनाल्ड रेस्टुरेन्टमा सुतिरहेका मानिस भनेर पोष्ट गरेका थिए। पर्यटकहरु टेबलमा टाउको अट्याएर सुतिरहेको यो तस्बिर मङककमा रहेको फास्टफुड फ्रान्चाइज हो। यो तस्बिरलाई लिएर पर्यटकहरु यसरी फास्टफुड फ्रान्चाइजमा रात कटाउन बाध्य भएको भनेर भनिएको छ।
यसरी भिड व्यवस्थापन र पूर्वाधारमा देखिएको चापका कारण लीले संस्कृति, खेलकुद तथा पर्यटन ब्यूरो (सिएसटिबी) लगायत सम्बन्धित निकायलाई उद्योगसँग सहकार्य गरी समग्र समीक्षा गर्न निर्देशन दिएका छन्। समीक्षाको प्रतिवेदन प्रमुख सचिवको नेतृत्वमा गठित अन्तरविभागीय कार्यसमूहलाई पेश गरिनेछ।
उनले भने, ‘यदि हामीले हङकङले विशेष प्रकारका आगन्तुकहरू मात्रलाई स्वागत गर्छ भन्ने सन्देश दियौं भने हाम्रो छविमा नकारात्मक असर पर्न सक्छ।’ यो भनाइ त्यस सन्दर्भमा आएको हो, जहाँ केही बजेट सीमित पर्यटक, विशेषतः मुख्य भूमि चीनका नागरिक, आर्थिक अभावका कारण म्याक्डोनाल्ड्सजस्ता फास्ट-फूड रेस्टुरेन्टमा रात कटाउन थालेको समाचार सार्वजनिक भएका थिए।
Photo Via thestandard
‘उनीहरू धनी हुन् वा सामान्य, सबै आगन्तुकलाई खुलेर स्वागत गर्नुपर्छ,’ लीले भने, ‘आजको खर्च कम भएपनि, भोलिका दिनमा उनीहरू फेरि फर्किएर धेरै योगदान दिन सक्छन्।’
स्थानीय सञ्चार माध्यमहरुमा प्रकाशित समाचार अनुसार लीले उच्च भीड क्षेत्रहरूमा दूरसञ्चार नेटवर्क सुदृढ बनाउने, वास्तविक समयमा भिडको स्थिति अपडेट गर्ने र लाइन समयबारे अनलाइन सूचना दिने प्रणालीहरू विकास गर्नुपर्ने बताए। यसले पर्यटक, व्यवसाय, र बासिन्दालाई पनि सुविधा पुर्याउनेछ।
तस्बिरहरू: साउथ चाइना मर्निङ पाेष्ट।