काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमा तिथिका दिन (सेप्टेम्बर ७–८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट हुनेछ।
यो ग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म देख्न सकिनेछ।
ग्रहणको केही घण्टा अघिदेखि नै सुतक लाग्ने धार्मिक मान्यता छ। चन्द्रग्रहण स्पर्श हुनुभन्दा ९ घण्टा अगाडि अर्थात दिउँसो १ः११ बजेदेखि सुतक सुरु भइसकेको छ। यस अवधिमा बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ।
राशीअनुसार फल
ज्योतिष शास्त्रअनुसार आजको ग्रहणले फरक-फरक राशिका मानिसलाई विभिन्न असर गर्नेछ। ज्योतिष शास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष, वृष, कन्या र धनु राशिका लागि यो ग्रहण लाभदायी रहनेछ भने मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि प्रतिकूल हुने बताइन्छ। विशेष गरी कुम्भ राशि तथा शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका व्यक्तिहरूलाई बढी कष्ट हुने उल्लेख छ।
ग्रहणमा के गर्न हुन्छ के हुन्न ?
ग्रहण अवधिमा हवन, मन्त्रजप, दानलगायत धार्मिक कार्य शुभ मानिन्छ। तर सुत्ने, दिसा–पिसाब गर्ने, मैथुन गर्ने, तेल लगाउने, भोजन गर्ने, कसैलाई बाँध्ने वा मार्ने कार्य निषेध गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
खगोलविद्हरूका अनुसार चन्द्रग्रहणले कुनै हानिकारक किरण नछाड्ने भएकाले यसलाई खुला आँखाले हेर्दा शरीर वा आँखामा कुनै असर पर्दैन। बरु खगोलप्रेमी र विद्यार्थीका लागि अध्ययन, अवलोकन तथा तस्बिर खिच्न अवसर मिल्नेछ।