काठमाडौँ । जेनजी आन्दोलनका कारण देशको पर्यटन क्षेत्र ठूलो संकटमा परेको छ। आन्दोलनका क्रममा पूर्वाधारमा तोडफोड र आगजनी हुँदा होटलदेखि रेस्टुरेन्टसम्म प्रभावित भएका छन्। नेपाल आएका धेरै विदेशी पर्यटक आन्दोलनको त्रासले बसाइ छोट्याएर फर्किएका छन् भने आउने तयारीमा रहेका पर्यटकले समेत बुकिङ रद्द गरेका छन्।
पर्यटन व्यवसायीले अबको प्राथमिकता शान्ति–सुरक्षामा दिनुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइमा नेपाल सुरक्षित रहेको स्पष्ट सन्देश विश्व बजारमा पुग्न सके मात्र पर्यटक भित्रिने वातावरण बन्छ। त्यसपछि मात्र प्रवर्द्धन अभियान प्रभावकारी हुन्छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार आन्दोलनका कारण चेन होटलमा समेत आक्रमण हुँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको छ। उनले भने, “९९ प्रतिशत व्यावसायी अझै पर्यटकलाई सेवा दिइरहेका छन्। तर सरकारले शान्ति–सुरक्षा बलियो छ भन्ने विश्वासिलो सन्देश प्रवाह गर्न सके मात्र पर्यटन पुनः ब्यूँतिन्छ।”
उनले भारत, बंगलादेश र चीनलाई प्राथमिकतामा राखेर प्रवर्द्धन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। “टाढाका मुलुकमा दूतावास र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्नुपर्छ,” पराजुलीले भने।
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पनि प्रवर्द्धन अभियानलाई तत्काल सुरु गर्नुपर्ने बताए। उनका अनुसार हाल नेपाल भित्रिने विदेशीमध्ये भारतीय र बंगलादेशी पर्यटकको संख्या धेरै भएकाले यी देशमा विशेष प्रवर्द्धन अभियान चलाउनुपर्ने व्यावसायीले सुझाव दिएका छन्।
हाल बोर्डको पोखरा कार्यालयको १२ करोड रुपैयाँ बजेटमध्ये आधा रकम पूर्वाधारमा र आधा प्रवर्द्धनमा खर्च गर्ने योजना बनाइएको भए पनि, अब पूर्वाधारभन्दा प्रवर्द्धनमै बढी जोड दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए।
नेपालमा पर्यटक सुरक्षित छन् भन्ने सन्देश प्रवाह नगरेसम्म प्रवर्द्धन अभियान मात्र पर्याप्त हुँदैन। शान्ति–सुरक्षा बलियो भएपछि मात्रै पर्यटन ब्यूँतिन्छ भन्नेमा व्यावसायीहरू एकमत छन् ।