काठमाडौँ । जेन–जी आन्दोलनका कारण पर्यटक आगमनमा आएको गिरावटले पर्यटन क्षेत्रमा चुनौती थपिएपछि सरकार र निजी क्षेत्र द्रुत पुनरुत्थानका लागि सक्रिय भएका छन् । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश प्रवाह गर्दै बुकिङ रद्द रोक्ने तथा नयाँ पर्यटक आकर्षित गर्ने रणनीतिमा उनीहरू जुटेका हुन् ।
आन्दोलनका क्रममा केही होटल, रेस्टुराँ, केबलकारमा क्षति पुगे पनि पर्यटकलाई भने कुनै शारीरिक आक्रमण भएको थिएन । तर, त्यसपछि होटल बुकिङ रद्द र पर्यटक आगमन घट्दै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनका अनुसार आन्दोलनअघि दैनिक ३,३०० को हाराहारीमा रहेको आगमन आन्दोलनपछि घटेर करिब १,४०० मा सीमित भएको छ ।
‘एयरपोर्ट दुई दिन बन्द रहँदा थप असर परेको हो,’ जोशीले भने, ‘तर अब केही दिनमै अवस्था सुधार हुँदै जाने विश्वास गर्न सकिन्छ ।’ उनले डिजिटल प्रवर्द्धन, कूटनीतिक नियोगमार्फत प्रचार–प्रसार र प्रत्यक्ष छलफलमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने काम भइरहेको जानकारी दिए ।
होटेल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार अहिले पर्यटकहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । उनले भने, ‘नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सरकार र निजी क्षेत्र मिलेर लागेका छौँ । क्यान्सिलेसन रोक्ने, हालका पर्यटकलाई सघाउने र नयाँलाई आकर्षित गर्ने रणनीतिमा हामी काम गर्दैछौँ ।’
जोशीका अनुसार आन्दोलनमा पर्यटकमाथि कुनै आक्रमण नभएको तथा आन्दोलनकारीले उनीहरूको आवागमन सुरक्षित बनाइदिनु नेपालका लागि ‘पोजिटिभ प्वाइन्ट’ हो । शाहले पनि विगतका जनआन्दोलन वा संघर्षकालमा समेत पर्यटकलाई लक्षित आक्रमण नभएको उल्लेख गर्दै यसलाई विश्वबजारमा सकारात्मक सन्देशका रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।
निजी क्षेत्रले सरकारले अझ प्रभावकारी पहलकदमी लिनुपर्ने सुझाव दिएको छ । विश्व पर्यटन दिवस (११ असोज) अघि प्रधानमन्त्रीको स्तरबाट नेपाल सुरक्षित रहेको औपचारिक सन्देश जारी गर्नुपर्ने हान अध्यक्ष शाहको धारणा छ । हालै अमेरिका, क्यानडा लगायतका मुलुकले जारी गरेका ट्राभल एडभाइजरी खुकुलो बनाउन कूटनीतिक पहल अपरिहार्य हुने उनको भनाइ छ ।
गत सोमबार नेपाल पर्यटन बोर्डले ‘जेन–जी आन्दोलनपश्चात् पर्यटन क्षेत्रमा भएको क्षति र पुनरुत्थान’ विषयक छलफल आयोजना गरेको थियो । सो अवसरमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटन व्यवसायीले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा सम्बोधन गर्दै एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।