भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा मध्यपुरथिमिमा आज साँझ प्रख्यात ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ अर्थात् जिब्रो छेड्ने जात्रा धुमधामसहित हुँदैछ । परम्परागत यो जात्रा मध्यपुरथिमि–५ स्थित दिगुभैरव डबलीबाट बेलुकी ७ बजे सुरु हुने तय भएको छ ।
यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनेछन् । बोडेमा वैशाख २ गते बिस्काः जात्राको अवसरमा हुने जिब्रो छेड्ने प्रथा र थिमिमा इन्द्रजात्रापछिको पूर्णिमामा मनाइने यो जात्रा—दुवैको आफ्नै ऐतिहासिक तथा सांस्कृतिक विशेषता रहेको छ ।
थिमिको जात्रामा जिब्रो छेड्ने संख्यामा कुनै सीमा छैन, इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्छन् । साथै परिक्रमा मार्ग पनि स्थिर हुँदैन, सहभागीको इच्छाअनुसार नगरभित्र घुमाइन्छ । यसपटक वीरेन्द्रभक्तले भक्तपुरको दत्तात्रय र नवदुर्गा दर्शन गर्दै नगर परिक्रमा गर्ने योजना बनाएका छन् ।
साँस्कृतिक परम्पराअनुसार दिगुभैरव मन्दिरमा जिब्रो छेडेपछि परम्परागत विधिअनुसार नगर परिक्रमा गरिन्छ । हजारौं भक्तजनको उपस्थितिमा बाँस–काठले बनेको विशाल महादीप बोकेर सहभागीले विभिन्न मन्दिर र चोक–चौतारो परिक्रमा गर्ने प्रचलन छ ।
वीरेन्द्रभक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडेका थिए । करिब लोपोन्मुख यो परम्परालाई जीवन्त राख्ने उद्देश्यले उनले अहिलेसम्म तीन पटक जिब्रो छेडेर जात्रामा निरन्तरता दिइसकेका छन् ।
यसपटकको जात्रामा उपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका मन्त्रीहरू तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थितिसमेत रहने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।